१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अमेरिकी बेस क्याम्पमा क्षेप्यास्त्र आक्रमण : नेपाली रातभर बंकरमै

इराकमा रहेका दुई अमेरिकी बेस क्याम्प लक्षित गरी बुधबार इरानले २२ वटा मिसाइल प्रहार गर्दा त्यहाँ कार्यरत नेपालीहरुले रातभर कस्तो त्रासदीपूर्ण परिस्थितिको सामना गर्नुपर्‍यो ? 
होम कार्की

काठमाडौँ — इराकको अलअन्वर क्षेत्रमा रहेको अमेरिकी अल असाद एयरबेस क्याम्पमा मंगलबार राति १० बजेदेखि नै इरानले मिसाइल हान्दै छ भन्ने हल्ला फैलिइसकेको थियो । सेनाले तुरुन्तै आपत्कालीन घण्टी बजाएपछि झापाका राकेश क्षत्रीसहित ९ जनाको टोली जमिनमुनिको बंकरमा गएर बसे । आपत्कालीन घण्टी बजेपछि उनीहरूलाई तोकिएको बंकरमा गएर बस्नुपर्छ भनेर बेस क्याम्पमा पहिले नै सिकाइएको थियो । 

अमेरिकी बेस क्याम्पमा क्षेप्यास्त्र आक्रमण : नेपाली रातभर बंकरमै

बेस क्याम्पमा फैलिएको हल्ला बुधबार बिहान स्थानीय समयअनुसार १:४५ मा सही निस्क्यो । इरानबाट लगातार आएको मिसाइल बेस क्याम्पभित्रै ठूलो आवाजले झर्न थाल्यो । २:४५ मा बल्ल रोकियो । ‘मिसाइलको धक्का निकै ठूलो थियो, यस्तो आवाज मैले यसअघि इराकमा कहिल्यै सुनेको थिइनँ,’ क्षत्रीले कान्तिपुरसँग फोनमा भने, ‘द्वन्द्वग्रस्त क्षेत्रमा यस्तो हुन्छ भन्ने मैले पहिला नै भोगेको थिएँ, नयाँ साथीहरू भने निकै डराए ।’


क्षत्री पछिल्लो पटक १९ महिनाअघि मात्र इराक गएका थिए । त्यसअघि सन् २००७ देखि ११ सम्म बग्दादमा अमेरिकी सेनाकै क्याम्पमा कार्यरत थिए । ‘त्यतिखेर दैनिक १० वटा मोटर क्याम्पमा झर्थ्यो । बम आउँथ्यो । त्यसले मलाई बानी पारेको थियो । बुधबार बिहानको आवाज भने साँच्चिकै डरलाग्दो थियो,’ उनले भने, ‘१० पटकसम्म झरेको त गनियो, त्यसपछि कतिवटा झर्‍यो याद गर्न सकिनँ ।’


इराकी सेनाका अनुसार इरानले प्रहार गरेको २२ मध्ये १७ वटा मिसाइल अल असाद एयरबेसमा झरे । दुईवटा विस्फोट भएन । पाँचवटा मिसाइल अर्विल एयरबेसमा खसे । अल असाद क्याम्प बग्दादबाट झन्डै एक सय ६० किमि टाढा पर्छ । ‘बंकर निकै सुरक्षित ढंगले बनाइएको छ । यो कडा हुन्छ । फलामे रडमा सिमेन्ट लगाइएको हुन्छ । त्यसको माथि बालुवा र माटोको बोरा राखिएको हुन्छ । यति बलियो भएपछि केही हुँदैन भनेर ढुक्क थियौं । सोचेको जस्तै भयो । हामीलाई केही भएन । साथीहरूको मनबाट डर हट्न भने निकै समय लाग्यो,’ उनले भने, ‘बिहान ७ बजेसम्म हामीलाई बंकरमा राखियो ।’


उनीहरू रातभर सुत्न सकेका थिएनन् । ‘सेनालाई सहयोग गर्नका लागि विभिन्न कम्पनीले झन्डै ५ सय जनालाई काममा लगाएको छ । हाम्रो समूहमा ९ जना छन् । यही क्याम्पको अन्य ठाउँमा नेपाली छन् कि छैनन् थाहा छैन,’ उनले भने, ‘मानवीय क्षतिबारे जानकारी भएन ।’ इरानी सरकारी टेलिभिजनले भने ८० जना अमेरिकी मारिएको दाबी गरेको छ । जसलाई अमेरिकाले खण्डन गरेको छ ।


बंकरबाट उनीहरूलाई क्याम्पमा लगेर राखिएको छ । क्याम्पभित्र क्षति पुगेको छैन । मिसाइल खसेको ठाउँमा जान दिइएको छैन । ‘बेस क्याम्पलाई लक गरिएको छ । जो जहाँ छ, त्यहीं बस्ने हो । यताउति जान दिइएको छैन । काम बन्द छ,’ उनले भने, ‘हामी कम्पनीको सूचनालाई पर्खेर बसेका छौं । यहीं राख्छ कि बाहिर लगेर राख्छ यकिन भएको छैन ।’ त्यस क्याम्पमा नेपालीहरूले इन्टरनेटको सेवा दिने, कपाल काट्ने र कफी बनाइदिने

काम गर्छन् ।


इरानले मिसाइल प्रहार गरेको अर्को क्षेत्र कुर्दिस्तानको अर्विल बेस क्याम्पमा हो । जहाँ पाँचवटा मिसाइल प्रहार भएको थियो । त्यो क्याम्पमा झन्डै सय नेपाली कार्यरत छन्, जसमा नेपाली महिला पनि छन् । क्याम्पभित्र भने सात जना मात्र बस्छन् । ‘सबै जनालाई क्याम्पभित्र राखिएको छैन, हामी सात जना मात्र भित्र बस्ने हो,’ अर्विल क्याम्पमा कार्यरत झापाकै विराट तामाङले भने, ‘अरू साथीहरू बिहान काम गर्न आउँछन्, बेलुका क्याम्पबाट बाहिर जान्छन् ।’

विराटसहितको टोलीले पनि रातभर बंकरमै बितायो । ‘कुर्दिस्तान निकै सुरक्षित क्षेत्र मानिएको थियो । मैले यस्तो कहिले अनुभव गरेको थिइनँ । मान्छे हो, डर त लागिहाल्छ । बिहान भएपछि सबै सामान्य भयो । दिउँसो एकछिन आराम गरेपछि ड्युटीमा फर्कें । अहिले सामान्य हिसाबले ड्युटी गरिरहेका छौं,’ उनले फोनमा भने, ‘नेपालबाट सोचेजस्तो डरलाग्दो स्थिति भने हुँदै होइन ।’ अर्विलमा पानी ट्यांकर चलाउने ड्राइभर, क्लिनर, कफी बनाउने र खाना बनाउने नेपालीहरू छन् ।


इरानको निसानामा इराकमा रहेका अमेरिकी बेस क्याम्प छन् । इराकको ६ वटै प्रान्तमा अमेरिकी बेस क्याम्प छन् । सबै क्याम्पमा नेपालीको प्रवेश छ । सबैभन्दा बढी बग्दादस्थित क्याम्प ताजी र भिक्टरीमा नेपाली छन् । क्याम्प ताजी, भिक्टरी र ग्रीन जोनमा गरी झन्डै दुई सय नेपाली कार्यरत छन् । ‘बग्दादको ग्रीन जोनभित्रको अमेरिकी दूतावाससहित अमेरिकी बेस क्याम्पमा कार्यरत नेपालीको विवरण संकलन गरेका छौं । सम्पर्कमा आएका मात्र गर्दा पनि एक सय ९९ जनाको सूची तयार भयो,’ ग्रीन जोनमा कार्यरत सुरज तामाङले भने, ‘योभन्दा बढी नेपाली छन् जस्तो लाग्छ ।’ ग्रीन जोनमा रहेका अधिकांश विदेशी दूतावासको सुरक्षा नेपालीले नै दिइरहेका छन् । अमेरिकी बेस क्याम्पका लागि सयौं कम्पनीले काम गरिरहेको हुँदा एउटा कम्पनीमा कार्यरत नेपालीको अर्को कम्पनीमा कार्यरत नेपालीसँग सम्पर्क छैन । ‘हामीलाई सिधै एयरपोर्टबाट काम गर्ने ठाउँमा ल्याएर राख्छ । त्यही बस्छौं,’ उनले भने, ‘त्यहींबाट बाहिर निस्कने चान्स छैन । जाने बेला फेरि सुरक्षागार्डकै स्कर्टिङमा विमानस्थलमा लैजान्छ ।’


कम्पनीहरूले सुरक्षाको अवस्था हेरी कामदारलाई इराकबाट फर्काउन थालेका छन् । ‘हाम्रो कम्पनीले पनि दिनहुँजसो कामदार पठाइरहेको छ, त्यसमा नेपाली पनि छन् । तर कति गए भन्ने यकिन छैन,’ उनले भने, ‘हाम्रो पालो जतिखेर पनि आउन सक्छ, तयारी अवस्थामै छौं ।’ अमेरिकी दूतावासका लागि खाना बनाउने कार्यमा ९ नेपाली महिलासमेत छन् । ‘तीन दिनसम्म खाना पुर्‍याइएको थिएन, बुधबारबाट फेरि खाना लैजाने काम सुरु भयो,’ उमेश श्रेष्ठले भने, ‘ग्रिन जोन भएकाले खाना पुर्‍याउन डर लागेको छैन ।’ इराककै सलादिन क्षेत्रस्थित अमेरिकी बेस क्याम्प रहेको बलदाबाट भने झन्डै १२ सय कामदारलाई अर्विलमा ल्याएर राखिएको छ । जसमा २५ जना नेपाली एकआपसमा सम्पर्कमा छन् । ‘२५ जना भने हामी एउटै समूहमा छौं, हामीलाई मंगलबार साँझबाटै बेस क्याम्पबाट हटाउन सुरु गरेको थियो । अहिले अर्विलको एउटा होटलमा सुरक्षाफौजसहित राखेको छ,’ सिन्धुपाल्चोकका हेमन्त थापाले भने, ‘टिकट तयार भइसकेको छैन । एक/दुई दिनभित्र उडाइदिन्छौं भनेको छ ।’


इराक मामिला हेर्ने कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारीले स्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन् । उनले इराकबाट ‘आफूहरू समस्यामा परेको’ भन्दै कोही पनि सम्पर्कमा नआएको बताए । ‘हामीले निरन्तर नेपालीसँग समन्वय बढाइरहेका छौं, कसैले पनि आफूहरू असुरक्षित छौं र कम्पनीले जान नदिएको भनेर भनेका छैनन्,’ उनले भने, ‘कम्पनीहरू आफैं स्थिति कसरी अगाडि बढ्छ भनेर हेरिरहेका छन् । स्थिति बिग्रिएमा आफैंले पठाउने तयारी गरेका छन् ।’ उनले सुरक्षित भएर बस्न नेपालीलाई सतर्क बनाइरहेको बताए ।


फिलिपिन्सले पनि इराकबाट आफ्ना नागरिक फर्काउन सुरु गरिसकेको छ । भारत र पाकिस्तानले इराकमा यात्रा नगर्न आफ्ना नागरिकलाई सचेत गराएका छन् ।

प्रकाशित : पुस २४, २०७६ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?