कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सम्बन्धनका लागि घुस मागेको प्रसाईंको आरोप

‘प्रसाईंले भनेको ठाउँमा म गएकै छैन, आरोप झुटो : गिरी’
सुदीप कैनी

काठमाडौँ — झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले सम्बन्धन दिलाउन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रकम मागेको आरोप लगाएका छन् । 

सम्बन्धनका लागि घुस मागेको प्रसाईंको आरोप

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले उपाध्यक्ष गिरीले गत मंसिर १५ गते काठमाडौंको द्वारिकाज होटलमा भेटेर २० करोड मागेको दावी गरे । ‘सम्बन्धनका लागि निवदेन लिएर आयोगको कार्यालयमा गएको थिएँ, उहाँले (उपाध्यक्ष गिरी) ले त्यही दिन बेलुका भेटुम भन्नुभयो,’ प्रसाईले पत्रकार सम्मेलनमा भने, ‘बेलुका उहाँले पैसा माग्नु भयो, म त्यत्रो पैसा दिन सक्दिनँ भनेर उठेर हिडें ।’

गिरीले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समेत पैसा बुझाउनु पर्ने भन्दै रकम मागेको आरोप प्रसाईंले लगाए । पत्रकार सम्मेलनमा प्रसाईंले बाँडेको प्रेस विज्ञप्तिमा भने घुस बारे केही उल्लेख गरिएको छैन । नगद रकम दिन नसके मेडिकल कलेजको १० प्रतिशत शेयर आफ्नो नाममा गरिदिन आग्रह गरेको समेत उनले सुनाए ।

पत्रकार सम्मेलनमा बोल्दै जाँदा प्रसाईंले २० करोड मागेको बताएका हुन् । रकम माग गरेको कुनै प्रमाण छ ? भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, ‘म कसैसँग कुरा गर्दा रेर्कड गर्दिनँ, म पढेको मान्छे पनि होइन, मलाई रेकर्ड गर्न पनि आउँदैन, म्यासेज हेर्न र लेख्न पनि आउँदैन ।’ उनले सम्बन्धनका लागि ‘१/२ करोड’ सम्म खर्च गर्न सक्ने पनि पत्रकार सम्मेलनमा बताए । यसअघि सञ्चारकर्मीहरूसँग प्रसाईले आफुसँग घुस मागेको अडियो रेकर्ड नै रहेको दावी गरेका थिए ।

गिरीले रकम मागेको विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जानकारी गराएको उनले बताए ।

चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार बीएण्डसीले सम्बन्धन पाउनु पर्ने उनको तर्क छ । सम्बन्धन दिन नमिल्ने भने सरकारले आफ्नो मेडिकल कलेज किन्नु पर्ने उनले बताए । प्रसाई यसअघि पनि बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको विषयमा तथ्य बिनै बोल्दा विवादित बनेका थिए ।

प्रसाईंको आरोपको भने उपाध्यक्ष गिरीले कपोकल्पित भन्दै खण्डन गरे । ‘आयोगको कार्यालयमा उहाँ निवेदन लिएर आउँदाबाहेक मेरो भेट भएको छैन । मैले कागजजात पुगेको छैन, आयोगका कर्मचारीसँग कुराकानी गरेर थप कागजात ल्याउनु भनेको हुँ,’ गिरीले कान्तिपुरसँग भने, ‘मेरो उहाँको द्वारिकाज होटलमा भेट भएको पनि छैन, फोनमा कुरा भएको पनि छैन । रकम मागेको कुरा सतप्रतिशत झुट हो ।’

प्रकाशित : पुस २३, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?