२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कांग्रेस जिल्ला सभापतिहरूको बेग्लै भेला : संस्थापनइतरमा एकल नेतृत्व चुन्न दबाब

काठमाडौँ — कांग्रेस जिल्ला सभापतिहरूले गुट–उपगुटका शिविरले संस्थापनइतर पक्ष कमजोर बनेको भन्दै नेताहरूलाई एक जुट हुन दबाब दिएका छन् । सानेपास्थित पार्टी मुख्यालयमा जारी जिल्ला सभापतिहरूको बैठकमा उनीहरूले आगामी महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने नेतासमेत अहिल्यै चुन्न माग गरे । 

कांग्रेस जिल्ला सभापतिहरूको बेग्लै भेला : संस्थापनइतरमा एकल नेतृत्व चुन्न दबाब

मंगलबार १४ जिल्लाका सभापतिले धारणा राखेका थिए । इलामका हिमालय कर्माचार्य, गुल्मीका भुवन श्रेष्ठ, पाँचथरका नरेन्द्र केरुङ, अर्घाखाँचीका विष्णु मुक्तान खनाललगायतले उपगुट अन्त्य गर्नुपर्नेमा जोड दिए । एकल नेतृत्व चयन गरे संस्थापन पक्ष स्वत: कमजोर हुने उनीहरूको तर्क थियो । उनीहरूले एकल नेतृत्व यही भेलाबाट नभए एक महिनाभित्र तोक्न जोड दिएका थिए ।


बैठकको सभापतित्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए भने महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेता शेखर कोइरालालगायत नेता उपस्थित थिए । सोमबार राजधानीबाहिर रहेका सिटौला मंगलबार बैठकमा सहभागी भएका थिए । संस्थापनइतरमा पौडेल, सिटौला, शशांक, शेखर, सिंहका आ–आफ्नै गुट छन् ।


पार्टी सभापति शेरबहादुर देउवाले बहुमतबाट महाधिवेशनको कार्यतालिका, केन्द्रीय कार्यसमितिको म्याद थप, क्रियाशील सदस्य खुला गर्न विधानको दफा निलम्बनलगायतका निर्णय गरेका थिए । त्यसलाई लिएर पार्टी केन्द्रीय कार्यालयबाटै समान्तर गतिविधि चल्न थालेका छन् । पार्टी सभापति देउवालाई एकपक्षीय रूपमा अघि बढ्न नदिनका लागि दबाब खडा गर्न संस्थापनइतर जिल्ला सभापतिहरूको भेला सोमबारबाट पार्टी केन्द्रीय कार्यालयमै भएको हो ।


पार्टी मुख्यालयको दोस्रो तलाको हलबाटै जिल्ला सभापतिहरूले केन्द्रका सभापति देउवालाई बहुमतको आडबाट महाधिवेशनको प्रक्रिया अघि नबढाउन चेतावनी दिएका छन् । बहुमतबाट अघि बढ्दा महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठ्ने भन्दै उनीहरूले अहिले देखिएको विवाद समाधान नगरे सामूहिक राजीनामा गर्ने चेतावनीसमेत दिए । काभ्रे जिल्लाका सभापति मधु आचार्यका अनुसार बैठक बुधबार सक्ने योजना भए पनि सभापति देउवाले पुस ११ गतेको निर्णय नसच्याएसम्म जारी राखिने बताए । ‘मिलाउन अनौपचारिक संवाद भइरहेको छ, पुस ११ गतेको निर्णय सच्याउन सभापति तयार नभएसम्म हामी राजधानीमा बसेर दबाबका कार्यक्रम चलाइरहन्छौं,’ उनले भने ।


मंगलबार पूर्वमहामन्त्री सिटौला र केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी र शेखर कोइरालाले धारणा राखेका थिए । सिटौलाले संस्थापनइतर पक्ष एक हुन जिल्ला सभापतिहरूले गरेको जोडबलमा अमूर्त ढंगले आफ्नो धारणा राखेका छन् । ‘हामीले एकै ठाउँमा बसेर धारणा राखिरहेका छौं, यसैलाई साथीहरूले बुझ्दा हुन्छ,’ सिटौलाको भनाइ थियो, ‘बाँकी कुरा भोलि समय र परिस्थितिले सल्टाउँदै लैजान्छ । अहिल्यै आजै भन्ने कुरा नगर्नुहोस् ।’ जिल्ला सभापतिहरूको मुख्य जोडसमेत सिटौलालाई एक ठाउँमा आउन आग्रह थियो । मुद्दामा वरिष्ठ नेता पौडेलसँगै रहे पनि १३ औं महाधिवेशनदेखि स्थापित आफ्नो समूह उनले अहिल्यै मेट्न चाहेका छैनन् । महाधिवेशनसँग जोडिएका निर्णयहरू सच्याउनुपर्ने बटमलाइन आफूहरूको पनि भएको सिटौलाको भनाइ थियो । ‘पार्टीका १३ वटा महाधिवेशन भइसकेका छन् । यी सबै महाधिवेशनका तालिका र कार्यविधि एकपक्षीय भएनन्, सहमतिबाट निर्माण भएका थिए,’ सिटौलाले भने, ‘शेरबहादुरजी एकलौटी रूपमा महाधिवेशनको तालिका र कार्यविधिको निर्णय गर्ने पहिलो सभापति बन्नुभएको छ । यसलाई नसच्याएसम्म निष्पक्ष महाधिवेशन हुन सक्दैन ।’


बैठकमा जिल्ला सभापतिहरू नुवाकोटका जगदीशनरसिंह केसी, बाँकेकी किरण कोइराला, मुगुका खड्कबहादुर शाही, ताप्लेजुङकी लीला बोखिम, कपिलवस्तुका सुरेन्द्रराज आचार्य, काठमाडौंका सबुज बानियाँ, सिन्धुपालञ्चोकका विकास लामा, सिन्धुलीका उज्ज्वल बराल, सोलुखुम्बुका विनोद बस्नेत र कालिकोटका हस्तबहादुर बमले पनि धारणा राखेका थिए । जिल्ला सभापतिहरूले बुधबार परामर्श बैठकको घोषणापत्रसमेत जारी गर्ने तयारी गरेका छन् । मंगलबार ४७ जना जिल्ला सभापति सहभागी थिए ।

प्रकाशित : पुस २३, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?