कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

काउन्सिलले दर्ता नगरेपछि इन्जिनियरहरुद्वारा पूर्वाञ्चल क्याम्पसमा तालाबन्दी

सुनसरी — धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । नेपाल इन्जिनियरिङ काउन्सिलले आफ्नो स्वीकृतिबिना इन्जिनियरिङका विभिन्न विषयमा पठन पाठन गराएको भन्दै दर्ता गर्न नमानेपछि विरोधस्वरुप विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

काउन्सिलले दर्ता नगरेपछि इन्जिनियरहरुद्वारा पूर्वाञ्चल क्याम्पसमा तालाबन्दी

विद्यार्थीहरुले क्याम्पसको मुख्य प्रवेशद्धारमै तालाबन्दी गरेकाले शिक्षक र कर्मचारी सवै बाहिर छन् । क्याम्पसको पठन पाठन ठप्प छ ।


त्रिभुवन विश्वविद्यालयले नै इन्जिनियरिङ विषयहरु पठन पाठनका लागि स्वीकृत दिएको सरकारी आंगिक क्याम्पसबाट पास आउट भएका विद्यार्थीले काउन्सिलबाट लाइसेन्स वा जागिरका लागि दर्ता नम्बर नपाउने अवस्था आएपछि विद्यार्थीले तालाबन्दी गरेका हुन् ।


चार बर्ष लगाएर इन्जिनियरिङ पढेर पास आउट भएपनि काउन्सिलमा दर्ता नहुँदा सरकारी वा कुनै पनि निजी कम्पनीमा जागिर नपाउने अवस्था आएको विद्यार्थीहरुको गुनासो छ । यस्तो अवस्थामा इन्जिनियरिङ क्याम्पसले दिएको प्रमाणपत्र कागजको खोस्टा सावित भएकाले आफुहरु आन्दोलित भएको इलेक्ट्रिकल इन्जिनियरिङ समाजका अध्यक्ष नेत्रप्रकाश अर्यालले बताए ।

विद्यार्थीहरुले क्याम्पस प्रशासन र क्याम्पस प्रमुख ओमप्रकाश ढकाललाई १० दिनको समय दिएपनि कुनै समाधान नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको अर्यालले बताए ।


पुर्वाञ्चल क्याम्पसमा हाल इन्जिनियरिङका विभिन्न विषय अध्ययरत करीव १८ सय विद्यार्थीहरु छन् । क्याम्पसमा ०७१ सालदेखि ‘विइ इलेक्ट्रिकल’ इञ्जिनियरीङको ४ बर्षे कोर्षमा पढाई भइरहेको छ । अहिलेसम्म २ वटा ब्याच निस्किसकेको छ । तर काउन्सिलले आफ्नो स्वीकृतिबिना पठनपाठन गर्ने त्रिविको आंगिक क्याम्पसले दिएको प्रमाणपत्रलाई मान्यता नदिदा लोकसेवा आयोग र सरकारी जागिर वा निजि कम्पनीमा काम पाउन नसकेर वेरोजगार बनेको अर्यालले बताए ।


अर्यालले भने, ‘इलेक्ट्रीकल इन्जनियर हुने सपना देखेर चार बर्षे कोर्ष पढियो । तर क्याम्पसले काउन्सीलसंग समन्वय नै गरेको छैन रहेछ । हामीभन्दा अगाडिका सिनियरहरुको हालत पनि यस्तै छ । पैसा, समय उमेर र मेहेनत खेर जाने देखेर क्याम्पसलाई कसरी हुन्छ काउन्सिलसंग समन्वय गर्नका लागि दवाव दिन तालाबन्दी गरेका हौं ।’

क्याम्पसमा ०७१ सालदेखि ५ बर्षे आर्किटेक्चर इन्जिनियरिङ पनि पठन पाठन हुदै आएको छ । उक्त संकायको पनि हालत उस्तै छ ।


क्याम्पस प्रमुख ढकालले आफुभन्दा अगाडिका क्याम्पस प्रमुखले समन्वय नगर्दा समस्या देखिएको बताए । ढकाल यही पुस १७ गतेदेखिमात्र चार बर्षकालागि क्याम्पस प्रमुख भएर आएका हुन् ।

उनले भने, ‘विद्यार्थीको समस्या समाधान गर्न मैले पहल र प्रयास जारी राखेको छु । यो त्रिविको नाफारहित सरकारी आंगिक क्याम्पस हो । प्राइभेट होइन । तर काउन्सिलले त्रिविको डिनबाट अनुमति पाएर संचालन भएको इलेक्ट्रिकल र आर्किटेक्टर इन्जिनियरिङबाट पास आउट भएका विद्यार्थी चिन्दैनौ भन्छ । प्राइभेट इन्जिनियरिङ क्याम्पसलाई कडाइ गर्नु पर्नेमा सरकारले स्वीकृत गरेको क्याम्पसका विद्यार्थीको भविष्य अन्यौलमा पार्न खोजेको देखियो ।’ उनले विद्यार्थीको समस्या समाधान गर्न मंगलबार नै इन्जिनियरिङ अध्ययन संस्थानको डिनको कार्यालय, शिक्षा मन्त्रालय र काउन्सिलमा जाने बताए ।

प्रकाशित : पुस २२, २०७६ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?