१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कांग्रेस विवाद : कहाँ छन् युवा नेता ?

के भन्छन्- गुरु, गगन, प्रदीप र कल्याण ?
मधुसुधन भट्टराई

काठमाडौँ — कांग्रेसमा महाधिवेशनको मिति घोषणा, सदस्यतासम्बन्धि विधानको धारा निलम्बन र विभाग संख्या थप गर्ने विषयलाई लिएर विवाद भइरहेको छ । सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको यो विवाद बढ्दै गएको छ ।

कांग्रेस विवाद : कहाँ छन् युवा नेता ?

पौडेल पक्षले केन्द्रीय समिति र पदाधिकारी बैठक बहिष्कार गरिरहेको छ भने देउवा पक्षले आफ्ननै बहुमतका आधारमा निर्णय गरिरहेको छ । पौडेल निकट पार्टी सभापतिहरुको भेला पार्टी कार्यालयमा दुई दिनदेखि चलिरहेको छ । यो भेलाले सभापति देउवालाई बहुमतको निर्णय सच्याउन दबाब दिएको छ ।


दुवै पक्ष आफ्नो अडानमा टसको मस नहुँदा पार्टीभित्र विवाद र विभाजन बढिरहेको छ । दुवै पक्षले आ–आफ्ना समूहका बैठकहरु गरिररहेका छन् । मिडिया र सार्वजनिक फोरममा एक अर्कालाई दोषारोपण गरिररहेका छन् । यस्तोमा स्वभाविक प्रश्न उठ्छ- पार्टीका युवा नेताचाहिँ कहाँ छन् ? उनीहरु के गरिरहेका छन् ? के भनिरहेका छन् ?

यो प्रश्न किन पनि उठ्छ भने यसअघिका विवादहरुमा युवाहरु समाधानका सूत्र लिएर अगाडि सर्ने गरेका थिए । १३ ‍औं महाधिवेशनपछि पार्टीमा विवाद हुँदा सात भाइ युवा नेताहरु संयुक्त रुपमा निस्किएका थिए । विश्वप्रकाश शर्मा, गगन थापा, चन्द्र भण्डारी, बद्री पाण्डे, प्रदीप पौडेल, गुरु घिमिरे र धनराज गुरुङले आह्वान पत्रले जारी गरेका थिए । विश्वप्रकाश शर्मा पार्टी प्रवक्ता भएपछि उनी अहिले यो समूहमा छैनन् ।

यसपटक पनि युवा नेताहरु सक्रिय भने भएका छन् । आइतबार केन्द्रीय सदस्यहरु गगन थापा, धनराज गुरुङ, एनपी साउद, सुरेन्द्रराज पाण्डे, भिष्मराज आङदम्बे, चन्द्र भण्डारी, दिपक गिरी, सरिता प्रसाई, प्रदीप पौडेल, किशोरसिंह राठौर, बद्री पाण्डेले सभापति देउवा र बरिष्ठ नेता पौडैललाई भेटे । दुवै नेताहरुसँगको भेटमा विधानअनुसार चल्ने सुझाव आफूहरुले दिएको प्रदीप पौडैलले बताए । 'सभापतिले पनि सबैलाई विश्वासमा लिइ विधानअनुसार चल्नु पर्‍यो र अर्को पक्षले पनि सभापतिलाई विधानले दिएका अधिकार प्रयोग गर्न दिनुपर्‍यो,' पौडेलले भने, 'बटमलाइन भनेको पार्टी विधान हो ।'

पौडेलले विधानको धारा निलम्बन गर्ने निर्णय रद्द गर्ने, महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिवेशनको मिति फेरबदल गर्ने र विभाग तथा भातृसंस्थामा विधानमा भएको व्यवस्था अनुरुप अगाडि बढ्न सुझाव युवा नेताहरुले दिएको पनि बताए । ‘विधानका धारा निलम्बन गर्ने निर्णय सच्याउने र महाधिवेशनको मिति यथावत राखेर मातहतका अधिवेशनको मिति फेरबदल गर्ने तथा अन्य विषय विधानअनुरुप गरे समस्या समाधान हुन्छ,’ पौडेलले इकान्तिपुरसित भने, ‘भाग खोज्ने र भाग लिनेले आफ्नो स्वार्थअनुरुप विधानविपरित सहमति गर्दा समस्या उब्जिएको हो ।’

मंगलबार इकान्तिपुरसँगको कुराकानीमा केन्द्रीय सदस्य एवं सांसद गगन थापाले विवाद समाधानका लागि तीनवटा काम दुवै पक्षले गर्नुपर्ने बताए । 'सबभन्दा पहिला त सभापतिले आग्रहमुक्त भएर संवादको थालनी गर्नुपर्‍यो । दोस्रो काम भनेकाे महाधिवेशनको सुनिश्चितताका निम्ती विधानको धारा निलम्बन फिर्ता लिने र महाधिवेशन गर्न आवस्यक पर्ने संरचना बनाउनुपर्‍यो,' थापाले भने, 'तेस्रो काम सभापतिले जुनसुकै निर्णय गर्दा विधानभन्दा तलमाथि जानु भएन र अर्को पक्षलाई पनि न्याय र सन्तुलन मिलाउँछु भने आश्वस्त पार्नुपर्‍यो ।'


थापाले असन्तुष्ट पौडेल, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिटौलाले पनि तीन काम गर्नु पर्ने बताए । ‘सभापतिले सम्वादको अग्रसरता लिए नसिन्देह वार्तामा सकारात्मक रुपमा जोडिनुपर्छ । महाधिवेशनको मिति घोषणा भएकाले घोषित मितिमा महाधिवेशन हुने सुनश्चितता गर्न धारा नलिम्बन गर्ने निर्णय सच्च्याउन दबाब दिनुपर्छ,’ थापाले भने, ‘पार्टीका अन्य निर्णय गर्दा सभापतिलाई विधानले दिएको अधिकार प्रयोग गर्न दिनुपर्छ ।’

गत पुस ११ गते केन्द्रीय कार्यसमितिको बहुमतले कार्यतालिकासहित पार्टीको १४ महाधिवेशनको मिति तय गरेपछि कांग्रेसमा विवाद बढेको छ । सभापति शेरबहादुर देउवाले बहुमतले महाधिवेशनको मिति कार्यतालिकासहित तय गर्ने, महाधिवेशन प्रयोजनार्थ विधानका धारा निलम्बन गर्ने, विभागको संख्या बढाउने र तरुण दलको म्याद ६ महिना थप्ने निर्णय गरेपछि नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह असन्तुष्ट छ ।

देउवाको बहुमतको निर्णय विरुद्ध पौडेल र सिटौला समूह एकै स्थानमा देखिएका छन् । दुवै समूहको एउटै माग छ, बुहमतले गरेको महत्वपुर्ण निर्णय सच्च्याउनु पर्छ ।

अर्का, केन्द्रीय सदस्य कल्याण गुरुङले भागबण्डा मिलाउन हिजो विधानभन्दा बाहिर गएर सहमति गर्दा समस्या भएको बताउँछन् । ‘भागबण्डा मिलाउन विधान बाहिर गएर सहमति गर्ने परिपाटीले समस्या बल्झिँदै आएको हो,’ गुरुङले इकान्तिपुरसित भने, ‘अहिलेको मतभिन्नता विधानभित्र रहेर सहमति खोजे समाधान हुन सक्छ । हामीले नै निम्त्याएको मतभिन्नता हो । इच्छा र चाहना भए समाधान नहुने खालका मतभिन्नता छैनन्, भइहाल्छन् ।’ सभापतिले समस्या समाधानका लागि वार्ताको पहल गरे समाधान निस्कन गाह्रो नरहेको उनले बताए ।


अर्का युवा नेता गुरुराज घिमिरे समस्या समाधानको लागि दुवै पक्षको लचकता आवस्यक रहेको बताउँछन् । ‘सभापतिले महाधिवेशनजस्तो विषयमा सर्वसम्मतिको बाटो अख्तियार गर्नुपर्छ । एकता र सहमतिको बाटोबाट अगाडि बढ्ने पहलकदमी लिनुपर्छ,’ सदस्य घिमिरेले भने, ‘असन्तुष्ट पक्षले नेतृत्वलाई विधानको व्यवस्था र त्यसको मर्म अनुसार चल्न सुझाव र दबाब दिनुपर्छ ।’

बहुमतको निर्णय सच्च्याउने दबाब दिनका लागि पौडैल समूहले मंसिर २६ गतेबाट सुरु केन्द्रीय कार्यसमिति बैठक निरन्तर बहिष्कार गर्दै आएका छन् भने आफ्नो समूह निकट पार्टीका जिल्ला सभापतिहरुलाई काठमाडौं बोलाएको छ । सोमबारबाट सुरु भेलामा कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीका अनुसार भेलामा ४५ सभापति सहभागी थिए । भेला मंगलबार पनि चलेको छ ।

प्रकाशित : पुस २२, २०७६ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?