जनकपुरमा शंकास्पद सुटकेस फेला, सेनाले गर्‍यो डिस्पोज   

श्यामसुन्दर शशि

(जनकपुर) — जनकपुर रेल्वे स्टेसनभन्दा पश्चिम सीता चोकमा देखिएको शंकास्पद वस्तु नेपाल सेनाको बम डिस्पोज टोलीले नस्ट गरेको छ । मंगलबार बिहान भेटिएको शंकास्पद सुटकेस कारण झण्डै दुई घण्टासम्म जनजीवन ठप्प बनेको थियो । पछि सेनाले थाहा पाएपछि उक्त वस्तुलाई नष्ट गरिएको हो । 

जनकपुरमा शंकास्पद सुटकेस फेला, सेनाले गर्‍यो डिस्पोज   

मंगलबार बिहान सीताचोकमा मासु पसल चलाउँदै आएकी एक महिलाले आफ्नो काउण्टरमुनि नयाँ सुटकेस देखेकी थिइन् । उनले तत्कालै प्रहरीलाई सूचना दिइन् । प्रहरीको सूचनाको आधारमा नेपाली सेनाको बम डिस्पोजल टोलीले झण्डै डेढ घण्टा लगाएर उक्त शंकास्पद वस्तुलाई नष्ट गरेको थियो ।


नष्ट गरिएको ब्यागमा विस्फोटक पदार्थ नभेटिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।


गत मंसिर २७ गते राति धनुषाको क्षीरेश्वर नगरपालिका ५ कुसाई टोलमा रहेको औषधि व्यवसायीको घरमा भएको बम विस्फोट गरिएको थियो । उक्त घटनामा घरधनी ४५ वर्षका राजेश साह, उनका छोरा १५ वर्षका आनन्द साह र प्रहरी निरीक्षक अमिरकुमार दाहालको मृत्यु भएको थियो । अन्य तीन जना घाइते भएका थिए ।


महेन्द्रनगर घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले दुई महिला र तीन पुरुषसहित ५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको छ ।



मंगलबार बिहान सीता चोकमा भेटिएको शंकास्पद सुटकेस डिस्पोज गर्दै नेपाल सेना । तस्बिर : श्यामसुन्दर शशि/कान्तिपुर






प्रकाशित : पुस २२, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?