साइबर अपराध रोक्न सहकार्य गरौं : चीन

लक्ष्मी लम्साल

(बेइजिङ) — चीनले अन्तर्देशीय साइबर अपराध नियन्त्रणका लागि मिलेर काम गर्न नेपालसँग आग्रह गरेको छ । गृहमन्त्री रामबहादुर थापासहितको आठ सदस्यीय टोलीसँग सोमबार बेइजिङमा भेटवार्ताका क्रममा चिनियाँ स्टेट काउन्सिलर एवं सार्वजनिक सुरक्षामन्त्री चाओ ख चले यस्तो आग्रह गरेका हुन् । गृहमन्त्री थापाको टोली ६ दिने चीन भ्रमणका लागि गत आइतबार साँझ बेइजिङ उत्रिएको थियो ।

साइबर अपराध रोक्न सहकार्य गरौं : चीन

गृहमन्त्री थापाले नेपालमा शंकास्पद गतिविधि गरिरहेका १२२ चिनियाँलाई चीनकै सहयोगमा पक्राउ गरिएको र उनीहरूलाई फर्काउन पहल भइरहेको जानकारी दिएका थिए । चिनियाँ मन्त्री चाओले उनीहरूलाई नेपालको कानुनअनुसार कारबाही गर्न आग्रह गरे । साइबर अपराध रोक्न नेपालले गरेको प्रयासमा चीनको समर्थन रहने उनले बताए । चीनमा पनि साइबर अपराध बढेकाले यो क्षेत्रमा सहकार्य गर्न सकिने र आवश्यक परेको खण्डमा नेपाललाई तालिम वा अन्य सहयोग उपलब्ध गराउने उनको भनाइ थियो । ‘साइबर अपराध रोक्न नेपालले जे–जस्तो प्रयास गरेको छ, त्यसमा चीनले साथ दिन्छ,’ उनले भने ।


बैठकमा सहभागी गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले पक्राउ परेकालाई नेपालको कानुनअनुसार कारबाही गर्न सुझाव दिएको बताए । उनले भने, ‘यसै विषयमा मात्रै भेटवार्ता फोकस भएन तर सन्दर्भ उठेको थियो ।’ पक्राउ परेका चिनियाँका हकमा नेपालको अध्यागमन विभागको कानुन आकर्षित हुने बताउँदै शर्माले भेटवार्तामा सीमापार अपराध नियन्त्रणका कुराहरू भएको बताए ।


भेटवार्तामा मन्त्री थापाले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्‍याएका थिए । यसको चिनियाँ मन्त्रीले खुलेर प्रशंसा गरे । उनले भने, ‘नेपालको भूमि चीनविरोधी गतिविधिमा प्रयोग नहोस् भन्ने हाम्रो चाहना हो, त्यसमा नेपालले सक्दो प्रयास गरिरहेको पाएका छौं ।’


प्रकाशित : पुस २२, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?