विद्यार्थी कुट्ने शिक्षकलाई मुद्दा

रूपन्देही — गृहकार्य पूरा नगरेको आरोपमा विद्यार्थी कुट्ने सम्मरीमाई गाउँपालिका–६ का शिक्षक शैलेन्द्र बरईविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीका अनुसार परिवारले आइतबार दिएको जाहेरीका आधारमा पक्राउ गरेर मुद्दा चलाइएको हो ।

विद्यार्थी कुट्ने शिक्षकलाई मुद्दा

उनीविरुद्ध बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ २ को घ (ङ) अनुसार मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी मर्चवारका प्रहरी निरीक्षक पोषणराज ढकालले बताए । अनुसन्धान पूरा गरेर अदालत पेस गरिने उनले बताए । शिक्षकको कुटाइबाट गत बुधबार स्थानीय ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने १३ वर्षीय मोहम्मद तौफिक देवान घाइते भएका थिए ।

विद्यालयले उनको उपचार गरेर घटना लुकाउने प्रयास गरेको थियो । पाँच दिनपछि गत आइतबार घटना सार्वजनिक भएपछि प्रहरीले शिक्षकलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको हो । ‘शून्य सहनशीलताका आधारमा अनुसन्धान गरेर अघि बढ्ने हो,’ प्रहरी निरीक्षक ढकालले भने, ‘बच्चालाई किन, के कारण र कुन वस्तुले कुटेको भन्ने विषयमा अनुसन्धान गर्ने हो ।’

गत बुधबार कुटपिटपछि शिक्षकले नै देवानलाई भैरहवास्थित शिक्षण अस्पताल पुर्‍याएर उपचार गरेका थिए । अभिभावकले पुनः बिहीबार अस्पताल लगेका थिए । त्यसपछि आफन्तले हुलाकमार्फत ठाडो जाहेरी दिन देवान परिवारलाई सम्झाएका थिए । आइतबार प्रहरीले पीडितलाई चौकीमै बोलाएर प्रक्रियागत रूपमा जाहेरी दर्ता गराएको ढकालले बताए ।


विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बरईले नसोचेको घटना भएको र यसले आफूलगायत विद्यालय परिवारलाई असर पुर्‍याएको बताए । ‘शिक्षकले गरेको गल्तीले विद्यालय प्रभावित भएको छ,’ उनले भने । प्रहरीले मागेको पीडित विद्यार्थीको स्वास्थ्य परीक्षण प्रतिवेदन उनका हजुरबुबा मोहमद हुसेनले सोमबार अस्पतालबाट ल्याएर बुझाएका छन् ।

प्रकाशित : पुस २१, २०७६ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?