१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पहिले पानी बाराबार, अहिले अंकमाल

अजित तिवारी

जनकपुर — मधेस आन्दोलनका बेला प्रदेश २ मा मधेसकेन्द्रित राजनीतिक दलहरूको तारो तत्कालीन एमाले थियो । त्यही एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाको जनकपुरस्थित कार्यालयमा आइतबार अभूतपूर्व जमघट देखियो । नेकपा कार्यालयमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेता–कार्यकर्ता झन्डा बोकेर पुगे, आपसमा अंकमाल गरे । चुनावी गठबन्धन सफल बनाएर छाड्ने उद्‌घोष गरे । 

पहिले पानी बाराबार, अहिले अंकमाल

केन्द्रमा राष्ट्रिय सभा निर्वाचनका लागि तालमेल घोषणा हुनुअघिसम्म नेकपा र राजपाबीच यस्तो सौहार्द दृश्य देखिएला भन्ने यहाँ कल्पनासमेत गरिएको थिएन । यी दुई दल यसअघि सधैं प्रतिस्पर्धीका रूपमा थिए । प्रदेशमा पनि राजपा सत्तारूढ हो भने नेकपा प्रतिपक्ष ।


प्रदेश २ को सत्तारूढ राजपाका मन्त्रीहरू सरकारी गाडीमै नेकपा कार्यालय पुगेका थिए । नेकपाको कार्यालयबाट सूर्य र छाता चुनावचिह्न अंकित झन्डा बोकेर नारा लगाउँदै नेता–कार्यकर्ता उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय पुगेका थिए । नेकपाका नेता–कार्यकर्ताले ‘नेकपा–राजपा गठबन्धन जिन्दावाद’, ‘वीर सहिद अमर रहुन्’ र ‘संयुक्त उम्मेदवारलाई विजयी गराऔं’ भन्ने नारा लगाएका थिए । राजपाका कार्यकर्ताले ‘जय मधेस’ बाहेकका नारा लगाएनन् ।

प्रदेश २ को राजपा संसदीय दलका नेता एवं मन्त्री जितेन्द्र सोनलले केन्द्रमा भएको सहमतिलाई सफल बनाउन लागिपर्ने बताए । नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले नेकपा–राजपा गठबन्धनबाट राजनीतिमा दूरगामी प्रभाव पर्ने दाबी गरे । ‘राजनीतिमा जे पनि सम्भव हुन्छ,’ उनले भने ।

यस प्रदेशमा कांग्रेस र समाजवादी पार्टीले तालमेल गरे पनि दुवै पार्टी मनोनयन दर्ताका लागि फरकफरक समयमा निर्वाचन कार्यालय पुगेका थिए । कांग्रेसका नेता–कार्यकर्ता आफ्ना उम्मेदवारसँगै पार्टी कार्यालयबाट हिँडेर निर्वाचन कार्यालय पुगेका थिए । कांग्रेस–समाजवादी गठबन्धनको मनोनयनका बेला प्रदेश सरकारका मन्त्री विजय यादव र ज्ञानेन्द्र यादव पनि निर्वाचन कार्यालय पुगेका थिए ।

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले मधेसको मुद्दामा कांग्रेस लचिलो रहेकाले समाजवादीसँगको गठबन्धन सफल हुने दाबी गरे । उनले प्रदेश २ को राष्ट्रिय सभाको निर्वाचनमा राजपाको मत पनि आफूतिर आउने र कांग्रेस–समाजवादी गठबन्धनले जित्ने दाबी गरे । समाजवादी पार्टीका केन्द्रीय सदस्य उमेश साहले पनि मधेसमा नेकपा–राजपाको गठबन्धनले असन्तुष्ट रहेकाले त्यसको फाइदा कांग्रेस–समाजवादी गठबन्धनलाई हुन सक्ने बताए ।

नेकपा र राजपाको गठबन्धनबाट प्रदेश २ मा राधेश्याम पासवान, तुलसा दाहाल, मृगेन्द्रकुमार सिंह यादव र शेखर सिंहले उम्मेदवारी दिएका छन् । पासवान र दाहाल नेकपा तथा यादव र सिंह राजपाका हुन् । कांग्रेस–समाजवादी गठबन्धनबाट रामप्रित पासवान, भोला पञ्जियार, अनिरुद्र सिंह र नगिनादेवी यादवले उम्मेदवारी दर्ता गराएका छन् । पासवान र सिंह समाजवादी तथा पञ्जियार र यादव कांग्रेसका हुन् । प्रदेश २ मा नेकपा–राजपा गठबन्धनसँग स्पष्ट बहुमत छ ।

प्रकाशित : पुस २१, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?