कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्कुल जानै डराए देवान

कुट्‌ने शिक्षकलाई कारबाही भएन
सन्जु पौडेल

रूपन्देही — गृहकार्य नगरेको भन्दै शिक्षकबाट कुटिएका किशोर विद्यालय जान छाडेका छन् । कुट्‌ने शिक्षकलाई कारबाही भएको छैन । किशोरका परिवारले शिक्षकविरुद्ध दिएको उजुरी पनि प्रहरीले दर्ता गरेको छैन ।

स्कुल जानै डराए देवान

सम्मरीमाई–६ पोखरहवास्थित ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने १३ वर्षीय मोहम्मद तौफिक देवानलाई कम्प्युटर विषय शिक्षक ३५ वर्षीय शैलेन्द्र बरईले कुटेका थिए । कम्प्युटरको गृहकार्य नगरेर कक्षामा आएको भन्दै उनलाई विषय शिक्षकले कुटेको विद्यालयले जनाएको छ ।

सम्मरीमाई–६ का १३ वर्षीय देवानले दुखाइ कम भए पनि घाउ निको नभएको बताए । घाउ निको भएपछि मात्रै विद्यालय जाने र पढ्ने उनले बताए । ‘सरले बेस्सरी पिट्नुभयो,’ सम्मरीमाई–६ का १३ वर्षीय देवानले घटनाको पाँच दिनपछि आइतबार भने, ‘लौरोले बायाँ खुट्टा, हात र आँखामा हिर्काउनुभो ।’ जथाभावी हिर्काएकाले धेरै ठाउँमा चोटैचोट भएको उनले बताए । गत बिहीबारदेखि उनी विद्यालय गएका छैनन् । अन्य ठाउँको दुखाइ कम भए पनि आँखामा पीडा भइरहेको उनले सुनाए ।


विद्यार्थी कुट्‌ने शिक्षकलाई कारबाही चलाउनुपर्नेमा प्रहरीले उल्टै मेलमिलाप गराउन खोजेको आफन्तले आरोप लगाएका छन् । आइतबार देवानले घटनाबारे यहाँका सञ्चारकर्मी र प्रहरीलाई बताइरहेका थिए । उनको आँखामा लागेको चोटसहितको कुटाइमा परेका बालक यतिबेला घरमै आराम गरिरहेका छन् । अभिभावकले साथ छाडेका छैनन् । देवानका बाबु वैदेशिक रोजगारीका लागि कतारमा छन् । त्यसैले हजुरबुबा मोहम्मद हुसेनले नातिको ख्याल गरिरहेको बताए ।

कुटाइबाट गहिरै चोट लाग्यो । बुधबार बिहान विद्यालय गएका देवान राति ९ बजेसम्म घर फर्केका थिएनन् । घटनाबारे विद्यालयले परिवारलाई जानकारी गराएको थिएन । त्यसैले अभिभावकले बालकका साथीसँग जानकारी लिए । त्यसपछि मात्र देवानलाई अस्पताल पुर्‍याइएको थाहा भयो ।


प्रधानाध्यापक सुरेन्द्र बरईलाई पटक–पटक फोन गरेपछि सम्पर्कमा आएका उनले बाबुलाई हल्का चोट लागेकाले उपचार गराएर घर ल्याएको जानकारी दिए । घर आएपछि देवानले विद्यालयमा भएको घटनाबारे परिवारलाई बताएका थिए ।


देवान र बरई एकै गाउँका बासिन्दा हुन् । विद्यालयले पनि घटना सार्वजनिक नहुँदै मिलापत्र गर्न खोजेको इलाका प्रहरी मर्चवारका प्रहरी निरीक्षक पोषणराज ढकालले कान्तिपुरसित बताए । ‘मेलमिलापमा जानेसम्म कुरा भए पनि हाम्रै पहलमा घटना सार्वजनिक भएको हो,’ उनले भने, ‘घटनालगत्तै फरार भनिएका शिक्षक शैलेन्द्रलाई आइतबार पक्राउ गरेका छौं ।’ उनका अनुसार बालकको आँखा र हातमा कुटपिटबाट गहिरो चोट लागेको प्रस्ट देखिएको छ । आइतबार बल्ल परिवारका सदस्य जाहेरी दिन प्रहरी कार्यालयमा आएको उनले बताए । मुद्दा दर्ता गरेपछि घटनाको छानबिन अगाडि बढाइने उनले बताए ।


यस विषयमा जानकारी लिन विद्यालयका प्रधानाध्यापक बरईलाई पटक–पटक फोन गर्दा प्रतिक्रिया दिन मानेनन् । देवानका हजुरबुबा हुसेनले सोमबार पुनः भैरहवास्थित मेडिकल कलेज पुर्‍याएर नातिको स्वास्थ्य जाँच गरिएको बताए । ‘नाति घर नआएपछि धेरैबेर खोजी गर्‍यौं,’ उनले भने, ‘छिमेकीका बच्चाले सरले पिटेर चोट लागेको छ भनेपछि घटना थाहा भयो ।’ त्यसपछि कक्षाका अन्य विद्यार्थीलाई हल्का कुटेका शिक्षक बरईले देवानलाई नराम्ररी कुटेको नातिले बताएको उनको भनाइ छ । उनका अनुसार नाति घर आउँदा आँखा सुन्निएको थियो । हात फुलेको थियो ।

बालबालिकालाई यसरी पिट्नु जघन्य अपराध भएको अधिकारकर्मी रिमा बीसीले बताइन् । ‘बालबालिकालाई खेलाएर पढाउने र अभ्यास गराउनुपर्नेमा गम्भीर हुने गरी कुटपिटमा संलग्नलाई सजाय हुनुपर्छ,’ उनले भनिन्, ‘प्रहरीले उजुरी लिएन भनेर घटना लुकाउन खोजिएको थियो ।’ पीडित बालकले उपचार र क्षतिपूर्ति पाउनुपर्ने उनले बताइन् । ‘बालकलाई सामाजिक मनोपरामर्शको समेत आवश्यकता पर्न सक्छ,’ उनले भनिन्, ‘यस्ता घटना भइरहँदा स्थानीय सरकार, न्यायिक निकाय, अभिभावक संघ, जिल्ला शिक्षा एकाइलगायत संघसंस्थाले चासो देखाउनुपर्ने हो ।’

अधिवक्ता शिव गौडेलका अनुसार बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ २ को घ (ङ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने र शारीरिक असर वा चोट पुर्‍याउनेलाई ऐनको दफा ७२ को ३ ले त्यस्तो कार्य गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्ष कैद सजाय तोकेको छ । त्यस्तै अपराध संहिताअनुसार पनि कुटपिट गर्नेलाई दण्डनीय कसुर मानेर अर्को सजायको व्यवस्था गरेको छ ।

प्रकाशित : पुस २१, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?