१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लोकतन्त्रको आवरणमा लुटतन्त्र चल्यो : कमल थापा

चित्रांग थापा

महेन्द्रनगर — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र चलेको बताएका छन् । प्रमुख राजनीतिक दलका प्रमुख नेता, केही व्यापारी तथा कर्मचारीको त्रिकोणात्मक गठबन्धनमा मुलुकमा अर्बौ रकमको भ्रष्टाचार भइरहेको उनले आरोप लगाए ।

लोकतन्त्रको आवरणमा लुटतन्त्र चल्यो : कमल थापा

उनले सत्तारुढ नेकपासँंगै प्रमुख प्रतिपक्षी कांग्रेसको पनि कुनै न कुनै रुपमा भ्रष्टाचारमा संलग्नता रहेको देखिने बताए ।

‘एनसेलको कर छली, वाइड बडी जहाज खरिद, ३३ क्विण्टल सुन तस्करी संगठित भ्रष्टाचारका ज्वलन्त उदाहरण हुन्,’ आइतबार महेन्द्रनगरमा पत्रकार भेटघाटमा बोल्दै थापाले भने, ‘पछिल्लो घटनामा नेपाल ट्रस्टको सम्पति एक व्यापारिक घरानालाई सुम्पने कार्य र भूमाफियाले सार्वजनिक जग्गा कब्जा गर्ने कामले नेपालमा नीतिगत र संस्थागत रुपमा भ्रष्टाचारलाई प्रोत्साहित गर्ने काम भइरहेको प्रष्ट हुन्छ ।’


‘दुई तिहाई बहुमतको बलियो सरकार गठन भएको अढाइ बर्ष हुनलाग्दा समेत नेपाली जनताले सकारात्मक अनुभुति गर्न पाएका छैनन्,’ उनले भने । उनले पछिल्लो समयमा भएका धर्म परिवर्तनले सामाजिक संरचना नै खल्बल्याउन थालेको पनि दावी गरे ।


नेपालले ठूलो आर्थिक सहयोग पाउनेगरी अमेरिकासग हुन लागेको सम्झौता एमसीसीलाई राजनीतिक पूर्वाग्रहका कारण खतरामा पार्न खोजिएको पनि उनले बताए । ‘पूर्वाधार विकासका लागि आउन लागेको ठूलो सहयोगलाई धरापमा पार्न विवाद सिर्जना गर्न खोजिएको छ,’ उनले भने ‘जसरी अरुण तेस्रोलाई धरासयी पारियो एमसीसी पनि त्यस्तै हुने त होइन भन्ने शंका उत्पन्न भएको छ ।’


उनले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको अखण्ड भूमि भएकोले भारतद्वारा अतिक्रमित भूमि फिर्ता गराउने बिषयमा राष्ट्रिय सहमतिसमेत कायम भएको अवसरलाई सरकारले सदुपयोग गर्नु पर्ने बताए ।

प्रकाशित : पुस २०, २०७६ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?