२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नेकपाको सचिवालय अपूर्ण छ : माधव नेपाल

अर्जुन शाह

धनगढी — नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपाको सचिवालय नमिलेको टिप्पणी गरेका छन् । पुष्पलाल मित्रता केन्द्रद्वारा आइतबार धनगढीमा आयोजित कार्यक्रममा उनले सचिवालय अपूर्ण रहेको बताएका हुन् ।

नेकपाको सचिवालय अपूर्ण छ : माधव नेपाल

उनले नाम उल्लेख नगरिकन पूर्व एमालेका उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्य तथा उपमहासचिव घनश्याम भुषाललाई पनि सचिवालयमा ल्याउनु पर्ने आशय ब्यक्त गरे ।


‘सचिवालय अलिकति मिलेको छैन,’ उनले भने, ‘उपाध्यक्ष त माथिको पद हो, पूर्व एमालेको हकमा उपाध्यक्ष र उपमहासचिव रहेकाहरुलाई पनि अहिलेको सचिवालयमा ल्याउनु पर्छ ।’ उनीहरुलाई सचिवालयमा ल्याउँदा सुदूरपश्चिम प्रदेश र महिलाको पनि प्रतिनिधित्व हुने उनको भनाई थियो । ‘ब्यक्तिको क्षमता योग्यता पनि ख्याल गर्नु पर्‍यो,’ उनले भने ।


मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा टिप्पणी गर्दै नेता नेपालले राष्ट्र हितमा नहुने कुनै पनि सहयोग स्वीकार गर्न नसकिने बताए । ‘सहयोग लिने कुरामा कुनै आपत्ति हुन्न । तर एमसीसीलाई सैन्य रणनीतिको अंग भनिएकाले हामीलाई झस्काएको हो,’ उनले भने, ‘हामी कुनै पनि देशको सैन्य रणनीतिमा सामेल हुन्नौं । यसमा पहिला प्रष्ट होस् ।’ उनले एमसीसी सैन्य रणनीति अन्तर्गतकै परियोजना होइन भन्ने स्पष्ट हुनुपर्ने धारणा ब्यक्त गरे । भारत, चीन र अमेरिकासँग मित्रवत् ब्यवहार चाहिरहेको उनले भनाई छ । ‘कालापानीको विषय पनि छलफल र तथ्य प्रमाणको आधारमा टुंग्याउनु पर्छ,’ नेता नेपालले भने ।


पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताउँदै बरिष्ठ नेता नेपालले गुट र समूहले पार्टीलाई थप कमजोर बनाउने बताए । ‘सरकारको गति तीव्र हुनुपर्छ । सरकारले सबैका कुरा सुन्नुपर्छ,’ उनले आक्रोशित हुँदै भने, ‘माधव नेपालसँग नाम जोडिने बित्तिकै पेल्ने हो भने खबरदार भोली तिमीहरुको पनि पालो आउँछ ।’

प्रकाशित : पुस २०, २०७६ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?