कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा निर्वाचन : नेकपा प्रवक्ता श्रेष्ठले गरे उम्मेदवारी दर्ता

पोखरा — राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । गण्डकी प्रदेशको निर्वाचनका कार्यालय पोखरामा पुगेर प्रवक्ता श्रेष्ठले आइतबार मध्याह्न उम्मेदवारी दर्ता गरेका हुन् । उनले अन्यबाट उम्मेदवारी दर्ता गरेका हुन् ।

राष्ट्रिय सभा निर्वाचन : नेकपा प्रवक्ता श्रेष्ठले गरे उम्मेदवारी दर्ता

उनीसँगै महिला समूहबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

श्रेष्ठकाे प्रस्तावकमा नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भाैतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत छन् भने समर्थकमा प्रदेशसभा सदस्य दिलमाया राेका छिन् । त्यस्तै न्याैपानेकाे प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समर्थकमा पाेखरा उपमहानगरपािलकाकी उपमेयर मञ्जु गुरुङ छिन् ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा श्रेष्ठ गोरखा–२ मा पूर्वप्रधानमन्त्री एवं तत्कालीन नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईसँग ६ हजार ८ सय ८४ मतले पराजित भएका थिए । ६० हजार १ सय १७ मत खसेकोमा भट्टराईले ३१ हजार८ सय सात र श्रेष्ठले २४ हजार ९ सय ३३ मत प्राप्त गरेका थिए । २ हजार छ सय ३८ मत बदर भएको थियो । नेता श्रेष्ठ २०७० को चुनावमा मकवानपुर २ बाट पनि पराजित भएका थिए ।

यस्तै पूर्वएमाले समूहबाट उम्मेदवार सिफारिस भएकी न्यौपाने पछिल्लो समय ओली निकट मानिन्छन् । उनी तत्कालीन एमालेको तनहुँ जिल्ला कमिटी सचिव थिइन् । उनी स्थानीय तहको निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।

नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले श्रेष्ठ र न्यौपानेलाई राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको थियो ।

राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । दुईवर्षे कार्यकाल पूरा गरेर रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ पद निर्वाचनबाट र एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएर पदपूर्ति हुनेछ । १८ जनाको चयनका लागि माघ ९ मा निर्वाचन हुन लागेको हो ।


निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन सम्बन्धित प्रदेशमा खोलिएका निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । राष्ट्रिय सभाका उम्मेदवार तथा मतदान प्रदेशगत रूपमा हुने कानुनी व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।


राष्ट्रिय सभामा त्यसरी निर्वाचित ५६ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्य रहन्छन् । पदावधि भने गोलाप्रथाबाट टुंगो लगाइएको थियो । एक तिहाइ सदस्यको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि रहने संविधानमा उल्लेख छ । त्यही व्यवस्थाअनुसार एक तिहाइ सभा सदस्यको दुईवर्षे पदावधि आगामी फागुन २० मा सकिँदै छ । ती पदमा नयाँ आउने व्यक्तिको पदावधि ६ वर्ष हुनेछ ।


कानुनअनुसार म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । नयाँ निर्वाचित हुनेले फागुन २१ बाट पदबहाली गर्नेछन् । नेकपाका ३९ मध्ये ८, कांग्रेसका १३ मध्ये ७, राजपाका २ मध्ये २ र समाजवादीका २ मध्ये १ जना सदस्यको पदावधि सकिन लागेको छ ।


प्रकाशित : पुस २०, २०७६ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?