कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कर्मचारीलाई प्रदेश सांसदको धम्की- ‘लातको भूत बातले मान्दैन’

(जनकपुर) र (सर्लाही) — प्रदेश सांसद सञ्जयकुमार यादवले सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मोसो दलेर हातखुट्टा भाँचिदिने धम्की दिएका छन् । सांसद यादवको धम्कीपछि अधिकृत रामकुमार महतो असुरक्षित महसुस गर्दै १२ दिनदेखि कार्यालय गएका छैनन् । 

कर्मचारीलाई प्रदेश सांसदको धम्की- ‘लातको भूत बातले मान्दैन’

प्रदेश २ सरकारमा रहेको समाजवादी पार्टीका सांसद यादवले नगरपरिषद् रोक्न दबाब दिँदै प्रशासकीय अधिकृत महतोलाई धम्की दिएका हुन् । आफूले जिल्लाको सीडीओ, एलडीओलाई समेत नटेरेको बताउँदै नगरपालिकाको ‘सामान्य कर्मचारी’ भएर कुरा नटेर्ने भन्दै महतोलाई गत आइतबार भौतिक कारबाही गर्ने धम्की दिएको अडियो रेकर्डले पुष्टि गरेको छ । प्रशासकीय अधिकृत महतोलाई ‘जे पनि गरिदिने’ भन्दै धम्क्याएपछि मोबाइल वार्ताको रेकर्डसहित सर्लाही जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । ‘लातको भूत बातले मान्दैन’ भन्दै सांसद यादवले कर्मचारी महतोसित नगरपालिकाको काम र बजेट आफूसित सोधेर मात्र गर्नु भन्दै धम्क्याएका संवाद उक्त अडियो रेकर्डमा छ ।


मोबाइल वार्तामा सांसद यादवले प्रशासकीय अधिकृत महतोलाई ‘राजनीति नगर्न’ चेतावनी दिँदै हातखुट्टा भाँचिदिने धम्की दिएका छन् । नगरपालिकाको परिषद् नगर्न भन्दै प्रशासकीय अधिकृत महतोलाई सांसद यादवले फोनमा यसरी धम्क्याए, ‘कानुन तिम्रो घरमा बन्छ । बहुमत मेरो औंठाको मुनि छ । एक–एक पैसाको हिसाब चाहिन्छ । सारा हिसाबकिताब चाहिन्छ । परिषद् स्थगित गर । म सांसद हुँ, मलाई हिसाब नदिने ? सबै भ्रम–भूत म निकाल्दिन्छु । नगरपालिका छोडेर जाऊ । दुर्घटना हुन्छ तिमीसँग । प्रेमले कुरा गर्दा तिमीले बुझेनौं ।’


कविलासी नगरपालिकाका उपमेयर राधादेवी यादव सांसद यादवकी भाउजू हुन् । यादव पनि त्यही क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएका हुन् । उपमेयर राधादेवी समाजवादी र मेयर कौशलकिशोर यादव राष्ट्रिय जनता पार्टीबाट निर्वाचित हुन् । उपमेयरको निहुँमा सांसद यादवले कविलासी नगरपालिकाको प्रशासकीय, कानुनी र बजेटको काममा समेत हस्तक्षेप गरिरहेका छन् ।


सांसद यादवले प्रशासकीय अधिकृत महतोलाई आफ्नो काम गर्न धेरैपटक धम्क्याए । ज्यानै मार्नेसम्मको धम्की दिएपछि महतोले नगरप्रमुख कौशल किशोर यादवलाई लिएर सीडीओ र जिल्ला समन्वय समितिमा पुगेर सुरक्षाको माग गरेका छन् ।


सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले सांसद यादव र अधिकृत महतो दुवै पक्षको कुरा सुनेर विवाद मिलाउने प्रयास भइरहेको बताए । जिल्ला सुरक्षा समितिको बैठक बसेर अधिकृत महतोलाई भरपर्दो सुरक्षा बन्दोबस्त मिलाइएको पनि उनले खुलाए ।


‘यादव पुरानो गुन्डा हो । सांसद भएपछि झन् लाइसेन्सप्राप्त गुन्डा भए,’ कविलासीका नगरप्रमुख यादवले भने, ‘कर्मचारीलाई खुलेआम धम्क्याउँदा पनि प्रहरी प्रशासनले केही गर्न सकेको छैन ।’ सांसद यादवले यसअघि पनि कविलासी नगरपालिकाका प्रशासकीय अधिकृतलाई कुटपिट गरेका छन् ।


गत वर्षको जेठमा कविलासीका प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवलाई सांसद यादवले कार्यालयमै पुगेर कुटपिट गरे । त्यतिबेला कार्यादेशमा जबर्जस्ती सही गराउँदै सांसद यादवले श्रीवास्तवलाई कुटपिट गरेका थिए । सांसदको कुटाइबाट श्रीवास्तवको हात नै भाँच्चियो । घटनापछि कर्मचारी आन्दोलित भएका थिए । सर्लाही प्रशासनमा छलफल गरेर त्यो मामिला सुल्झेको घोषणा गरिएको थियो । घटनापछि श्रीवास्तव सरुवा गराएर अन्तै गए, उनको ठाउँमा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोपालसिंह घले पुगे । घलेसित पनि सांसद यादव रुखो प्रस्तुत भए । आफ्नो कुरा नमाने हातखुट्टा भाँचिदिने भनेर सांसद यादवले घलेलाई पनि धम्क्याए ।


‘असुरक्षा’ भन्दै घले पनि सरुवा गराएर हिँडे । त्यसपछि रामप्रसाद सापकोटा प्रशासकीय अधिकृत भएर पुगे । सापकोटालाई पनि सांसद यादवले रवाफ देखाए । काम गर्न त्रास रहेको भन्दै सापकोटा हाजिर भएको दुई दिनमै सरुवा गराएर अन्तै गए । महतो गत माघ २३ मा प्रमुख प्रशासकीय अधिकृत भएर आएका हुन् । सांसद यादवले ज्यान मार्ने धम्की दिएपछि उनी कार्यालय जान सकेका छैन् । परिषद् रोकिएको छ । नगरपालिकाका काम सबै ठप्प छ ।


‘मेरो कुरा नमान्ने अधिकृतको हात–नाकको हड्डी भाँचेको छु । सीडीओ–एलडीओ, एसपीलाई त टेर्दिनँ,’ सांसद यादवले महतोलाई धम्क्याउँदै भनेका छन्, ‘परिषद् रोकेनौं भने इतिहास बदल्ने दुर्घटना हुन्छ । सबै भूत उतारिदिन्छु । थाहा छैन, म सांसद हुँ । यो सर्लाही जिल्ला हो । यहाँका सीडीओ, एलडीओ, एसपीको बाउसम्मले केही गर्न सक्दैन ।’


कविलासी नगरपालिका आउने कर्मचारी र अधिकृतलाई सांसद यादवले निरन्तर धम्की दिइरहेको नगरप्रमुख यादवले बताए । ‘सबै प्रशासकीय अधिकृतसित सांसद यादव गुन्डागर्दी शैलीमै प्रस्तुत हुन्छन्,’ नगरप्रमुख यादवले भने । प्रशासकीय अधिकृतलाई स्थानीय तह सञ्चालन ऐनअनुसार नगरको निर्वाचित जनप्रतिनिधिको मातहतमा रहेर काम गर्न भनिए पनि सांसद यादवले मेयरभन्दा आफू ठूलो रहेको भन्दै हिसाबकिताब आफूलाई बुझाउन दबाब र धम्की दिने गरेका छन् ।


प्रदेश सांसद यादवले भने कविलासी नगरपालिका अनियमिततामा डुबेको र विकास निर्माण प्रभावित बनेकाले निर्वाचित सांसदको हैसियतले त्यसो नगर्न आग्रह मात्र गरेको दाबी गर्छन् । उनले प्रशासकिय अधिकृत र नगर प्रमुख मिलेर अनियमितता गरिरहेको आरोप पनि लगाए । ‘म यस क्षेत्रको निर्वाचित प्रदेश सांसद हुँ । मैले मेरो नगरपालिकाको हिसाब माग्नु गलत हैन । प्रमुखले हिसाब बुझाउनैपर्छ,’ उनले भने, ‘जनतालाई हिसाब दिइएन भने गलहत्याएर लिन्छु । हिसाब मागेपछि मलाई पैसा मागेको भनेर चरित्रहत्या गर्ने षड्यन्त्र गरियो ।’

प्रकाशित : पुस २०, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?