कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी छानिए राष्ट्रिय सभामा कांग्रेसका १६ उम्मेद्वार

मधुसुधन भट्टराई

काठमाडौँ — प्रतिपक्षी नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि राष्ट्रिय सभा निर्वाचनका लागि १६ उम्मेद्वार चयन गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बिहान बसेको पदाधिकारी बैठकले ९ माघमा हुने निर्वाचनका लागि ७ प्रदेशबाट गरी १६ उम्मेद्वार छानेको हो । 

यसरी छानिए राष्ट्रिय सभामा कांग्रेसका १६ उम्मेद्वार

बैठकले प्रदेश–१ बाट ३, प्रदेश–२ बाट २, प्रदेश–३ बाट २, गण्डकी प्रदेशबाट २, प्रदेश–५ बाट ३, कर्णाली प्रदेशबाट २ र सुदूरपश्चिम प्रदेशबाट २ गरी १६ उम्मेदवार चयन गरेको हो ।


प्रदेश–२ मा ४ सदस्यका लागि हुने निर्वाचनमा कांग्रेसले समाजवादी पार्टीसँग २/२ सिट लिनेगरी शुक्रबार मात्रै तालमेल गर्ने सहमति गरेको थियो । ९ माघमा १८ सदस्य निर्वाचित ७ प्रदेशमा राष्ट्रियसभा निर्वाचन हुँदैछ ।


बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवार छान्ने जिम्मेवारी पदाधिकारीलाई दिएको थियो । त्यसपछि सभापति देउवाले उम्मेदवार सिफारिस गर्न ७ प्रदेशमा ८ नेतालाई जिम्मेवारी दिएका थिए ।


देउवाले प्रदेश–१ मा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश–२ मा केन्द्रीय सदस्य आनन्द ढुंगाना, प्रेदश–३ मा सहमहामन्त्री प्रकाशसरण महत, गण्डकी प्रेदशमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रदेश–५ मा केन्द्रीय सदस्य बालकृष्ण खाण, कर्णाली प्रदेशमा केन्द्रीय सदस्य जीवनबहादुर शाही र सुदूरपश्चिममा केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखकलाई जिम्मेवारी दिएका थिए ।


उनीहरुले प्रदेश अर्न्तगतका जिल्लाबाट केन्द्रीय सदस्य बनेका र जिल्ला सभापतिहरुसँगको समन्वयमा उम्मेद्वारको नाम सिफारिस गरेका केन्द्रीय कार्यालयले स्रोतले जानकारी दियो । नेताहरुको सिफारिस बमोजिम बिहान पदाधिकारी बैठकले नामावली टुंग्याएको हो ।


नेता रामचन्द्र पौडेल समूहले उम्मेदवार छान्ने केन्द्रीय कार्यसमिति बैठक र पदाधिकारी बैठक बहिष्कार गरेकाले संस्थापनले मात्रै उम्मेद्वार टुंग्याएको हो ।


सस्थापनका नेता एनपी साउदले पौडेल समूहले बहिष्कार गरेपनि सबैसँग सल्लाह गरेर उम्मेद्वार तय गरिएको जानकारी दिए । ‘उहाँहरु(पौडेल समूह) बैठकमा सहभागि नभएपनि हामीले सबैसँगको सहमतिमा उम्मेद्वार चयन गरेका हौ,’ साउदले इकान्तिपुरसित भने, ‘पुराना र पार्टीमा दुःख पाएका मानिसलाई उम्मेद्वार बनाएका छौं ।’


तर, पौडेल समूहका केन्द्रीय सदस्य हृदयराम थानीले भने संस्थापनले आफूखुसी उम्मेद्वार चयन गरेको बताए । ‘हामीसँग उम्मेद्वार चयनका विषयमा कुनै सहमति गरिएन । संस्थापनले आफूखुसी उम्मेद्वारी चयन गरेको छ,’ थानीले इकान्तिपुरसित भने, ‘सबै पुराना पुराना मानिसलाई टिकट दिइएको छ, कुन मानिस कसको निकट हो भन्न पनि गाह्रो छ ।’


स्रोतका अनुसार जित्ने सम्भावना नभएकाले पनि पौडेल समूहले उम्मेद्वार चयनमा त्यति चासो नदिएको हो ।


राष्ट्रियसभामा उम्मेद्वार बनाउनका लागि कांग्रेसले दुई जनाको प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक सूचीमा रहेको नाम हटाएको छ । बिहीबर बसको केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरी निर्वाचन आयोगलाई पत्र लेखेर सूचीबट हटाउन आग्रह गरेको थियो । आयोगले हटाएपछि उनीहरुलाई उम्मेद्वार बनाइएको हो ।

प्रदेश–२ मा महिलाबाट उम्मेद्वार बनेकी नागिना यादवको प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्द सूचीमा नाम थियो । उनी अधिवक्ता हुन् भने गण्डकी प्रदेशबाट महिलामा उम्मेद्वार बनेकी विमला गौचनको नाम प्रदेशसभाको समानुपातिकतर्फ बन्द सूचीमा नाम थियो ।

स्रोतका अनुसार प्रदेश–२ बाट टिकट पाएका दुवैजना उपसभापति विमलेन्द्र निधि निकटका नेताहरु हुन् । भाेला पञ्जियार पार्टीका पूर्व केन्द्रीय सदस्यसमेत हुन् ।

प्रदेश–३ बाट अन्यमा टिकट पाएका हरिशरण श्रेष्ठ बर्तमान सभापति विकास लामासँग सभापतिमा पराजित हुन । उनी व्यापारी पनि हुन् ।

प्रदेश–५ बाट अन्यमा टिकट पाएका बालकृष्ण पाण्डे जनसम्पर्क समिति भारतका सभापति र पार्टीका आमन्त्रीत केन्द्रीय सदस्य हुन् । महिलाबाट टिकट पाएकी गिरिजा न्यौपाने महिला संघकी केन्द्रीय सदस्य हुन् ।


यी हुन उम्मेदवार :


प्रदेश नं. १

१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित

२. मिना पुलामी मगर (सुनसरी) महिला

३. राजेन्द्र घिमिरे (झापा) अन्य

प्रदेश नं. २

१. नगिना यादव (महोत्तरी) महिला

२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक/अपाङ्गता

प्रदेश नं. ३

१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य

२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला

गण्डकी प्रदेश

१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य

२. विमला गौचन (म्याग्दी) महिला

प्रदेश नं. ५

१. बालकृष्ण पाण्डे (अर्घाखााची) अन्य

२. गिरिजा न्यौपाने (दाङ) महिला

३. मेराज हलवाई (बााके) अल्पसंख्यक/अपाङ्गता

कर्णाली प्रदेश

१. डिल्लीराम पाठक (सुर्खेत) अन्य

२. सावित्री पौडेल (सुर्खेत) महिला

सदुरपश्चिम प्रदेश

१. प्रताप ठगुन्ना (बैतडी) अन्य

२. तुलसी देवकोटा (कैलाली)महिला

याे पनि :

कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका लागि १४ उम्मेदवार (नामावलीसहित)

प्रकाशित : पुस १९, २०७६ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?