१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अहिलेको कोसीपारि 

सडक पूर्वाधार निर्माणका योजना बामे सर्दै जाँदा कृषि उपजले बजार पाउने बाटो खुलेको भन्दै स्थानीयमा हर्ष छ । विकट भेगलाई बाह्रैमास सवारी सञ्चालन सहज बनाउन भने अझै केही वर्ष लाग्ने स्थिति छ । 
कुम्भराज राई

सोताङ, सोलुखुम्बु — दुई दिन हिँडेर सदरमुकाम सल्लेरी आइपुग्दा महाकुलुङ र सोताङतिरका बासिन्दालाई स्थानीयले हेप्थे । विकटका बासिन्दालाई सदरमुकामवासीको यस्तो व्यवहार बानी परिसकेको थियो ।

अहिलेको कोसीपारि 

पूर्वाधार अभावमा कष्टकर जीवन भोगिरहेका उनीहरूका लागि सहज दैनिकीको भोक थियो ।


‘यिनीहरू साह्रै दुर्गमका बासिन्दा हुन् भन्ने व्यवहार हामीले भोग्यौं,’ सोताङका भद्रगोल किराती भन्छन्, ‘गाउँको भूगोल नै विकट हो भनेर चित्त बुझाउँथ्यौं ।’ तीन वर्षअघि दूधकोसीपारि तरेर सोताङसम्म सडक जोडियो । दुई दिन पैदल हिँड्ने बाध्यता सकियो । कच्ची सडक भए पनि चार/पाँच घण्टामा सदरमुकाम पुग्न सकिने भयो ।

त्यसपछि मात्र स्थानीयले थाहा पाए, भूगोलका कारण आफूहरू विकटवासी भएको होइन रहेछ, विकास नपुगेर पो दुःख पाएका रहेछौं भनेर । गत वर्ष महाकुलुङ गाउँपालिकाको छेस्कामसम्म सडक ट्र्याक जोडियो । कुलुङ समुदायले पुस महिनाभरि मनाउने चाक्चाकुर पर्वको बेला सडक जोडिएपछि उत्सवमय भयो ।


सदरमुकामसँग सडक जोडिए पनि व्यवस्थित हुन भने बाँकी नै छ । वर्षायाममा गाडी चलाउन सडक सजिलो छैन । केही महिनाअघि छेस्कामस्थित प्रहरी चौकीमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले आक्रमण गरेको खबर फैलँदा सुरक्षा निकाय हेलिकप्टर लिएर पुग्नुपर्‍यो । संखुवासभा र भोजपुरसँग सीमा जोडिने महाकुलुङ भूगोलको दृष्टिले यति विकट छ कि १७ वर्षअघि हराएको चार्ली युनिफर्म नामको एमआई १७ हेलिकप्टर लामो समयसम्म फेलै परेन । पोहोरमात्रै स्थानीय चतुर कुलुङले मकालु वरुण राष्ट्रिय निकुञ्जसँगको सीमाक्षेत्रमा त्यस हेलिकप्टरको अवशेष भेटेका थिए ।


सोलुखुम्बु भन्नेबित्तिकै धेरैको मनमा सगरमाथा र खुम्बु क्षेत्रको झल्को आउने हुन्छ । पर्यटन व्यवसायका कारण समृद्ध होला भन्ने लाग्छ । तर तल्लो सोलुमा पर्नेमा दूधकोसीपारिका माप्य दूधकोसी, महाकुलुङ, सोताङ गाउँपालिकाहरू भर्खरै भौतिक विकासमा बामे सर्न थालेका छन् । कोसीवारिको थुलुङ दूधकोसी गाउँपालिका सदरमुकामसँग जोडिएकाले तुलनात्मक रूपमा केही अघि बढेको छ ।


‘यसरी तल्लो सोलुमा पर्ने कोसीपारिका यी क्षेत्र लामो समय ओझेलमा पर्नुको मुख्य कारण तत्कालीन शासकहरू हुन्,’ सोताङका शाहीमान राई भन्छन्, ‘त्यस बेलाका जनप्रतिनिधिले प्रयास गरेको भए १० वर्षअघि नै सडक बनिसकेको हुन्थ्यो ।’

पुलले जोडिँदै

सोलुखुम्बुमा गाडी चल्न सक्ने पुल एउटा मात्रै छ । त्यो सदरमुकाम सल्लेरी नजिकै रहेको सोलुखोलाको साल्मे पुल हो । सोलुखुम्बुभित्र लिखु, दूधकोसी, सोलुखोला र हुंगाखोला जस्ता ठूला नदी र दर्जनौं खोला छन् । कतै पनि पक्की पुल छैन । यसबाट जनजीवनको कठिनाइ बयान गरिसाध्य छैन ।


यसै साता थुलुङ दूधकोसी गाउँपालिका र सोताङ गाउँपालिका जोड्ने दिप्लीघाटमा दूधकोसी नदीमाथि ‘मोटरेबल’ पुल शिलान्यास भयो । तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित १० करोड लागतमा महादेव खिम्ती हीराचन ज्वाइन्ट भेन्चरले ठेक्का लिएको हो । यहाँ पुल बनेपछि कोसीपारिको मुहार फेरिने स्थानीयको आस छ ।

दिप्लिघाटमा पुल नहुँदा वर्षायामको ६ महिना भरियालाई भारी बोकाएर दैनिक उपभोग्य सामग्री वारपार गराइन्छ । जसका कारण प्रतिकिलो ५ रुपैयाँले मूल्य वृद्धि हुन्छ । दैनिक २० टन उपभोग्य तथा निर्माण सामग्री पारि तार्ने गरेको तथ्यांक स्थानीय व्यापारीसँग छ । ६ महिनामा पुल नभएकै कारण १ करोड ८० लाख बराबरको अतिरिक्त महँगी मूल्य कोसीपारिका सर्वसाधारण तिर्न बाध्य छन् ।


एक महिनाअघि माप्य दूधकोसी र खुम्बु पासाङ ल्हामु गाउँपालिका जोड्ने ओर्लाङघाटमा पक्की पुलको शिलान्यास भइसकेको छ । यो सगरमाथासँग जोड्ने महत्त्वपूर्ण पुल हो । केही किलोमिटर नजिक रहेको छिर्दिघाटमा पुल निर्माणको पहल भइरहेको छ । यसै वर्ष थुलुङ दूधकोसी गाउँपालिकाको जुभु र काँगेल जोड्ने स्थानमा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । जुभु र मुक्ली जोड्ने स्थानमा पक्की पुलको ठेक्का तयारी भइरहेको छ ।


कायाघाट, हुंगाखोला, सोलुखोला, लिखु नदीमा गरी जिल्लाभरि डेढ दर्जन बढी मोटरेबल पुल निर्माणको तयारी भएको सोलुबाट संघीय सांसद हेमकुमार राईले बताए । ‘अबको तीन वर्षमा सबै स्थानीय तह र गाउँलाई जोड्ने मोटरेबल पुल निर्माण भइसक्नेछ,’ उनले भने, ‘यो हाम्रो चुनावी प्रतिबद्धता पनि हो । हाम्रै कार्यकालमा यसलाई सम्पन्न गर्ने लक्ष्य छ ।’


सोताङका स्थानीय तथा जिल्ला समन्वय समितिका सभापति वीरबहादुर राईले दिप्लिघाट हुँदै सल्लेरी जोडिने सडकलाई संखुवासभा र भोजपुरको माथिल्लो भेगसँग जोडेर राष्ट्रिय राजमार्गका रूपमा विकास गर्न सकिने बताए ।


पर्यटनमा उत्तिकै सम्भावना

कोसीपारि अर्थात् तल्लो सोलुक्षेत्र पर्यटनका लागि ‘भर्जिन एरिया’ मानिन्छ । माथिल्लो सोलुको नामले परिचित सगरमाथा क्षेत्रको कारण तल्लो सोलु ओझेलमा परेको हो । सरकारले पर्यटन वर्ष २०२० को सय गन्तव्यको सूचीमा महाकुलुङ गाउँपालिकामा पर्ने पाँचपोखरीलाई समावेश गरेको छ । महाकुलुङ गाउँपालिका–१ मा पर्ने पाँचपोखरी ४ हजार ३ सय ३६ मिटरको उचाइमा अवस्थित छ । कतिपय ट्रेकिङ कम्पनीहरूले मेरापिक पदयात्राको क्रममा पाँचपोखरीसम्म पर्यटकलाई लाने गर्छन् । यी क्षेत्रमा पूर्वाधारसँगै सुविधायुक्त होटलहरू निर्माण गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना छ । मेरापिक, मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्र यहीँबाट प्रवेश गर्न सकिन्छ ।


संखुवासभा, भोजपुर र सोलुखुम्बुको सीमा क्षेत्रमा पर्ने साल्पा सिलिचुङ र क्याम्पाडाँडा जस्ता आकर्षक गन्तव्यहरू छन् । महाकुलुङबाट भोजपुरको साल्पापोखरी पुग्न सकिन्छ । किराती मिथकसँग जोडिएका अनेक धार्मिकस्थलहरू यो भेगमा छन् । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि महाकुलुङ ताल निर्माण गर्ने योजना बनाएको छ ।


सोताङ–१ स्थित पाँचकन्या कालिका मन्दिर हिन्दुका लागि महत्त्वको गन्तव्य हो । यहाँ मंसिर र वैशाख पूर्णिमामा ठूलो संख्यामा भक्तजन आउँछन् । पाठी र कुखुरा, परेवा बलि दिने चलन छ । गढीमाईपछि पशुबलि दिने सबैभन्दा ठूलो देवीको मन्दिर यही हुन सक्ने स्थानीय हर्कबहादुर राईले बताए । घले गुरुङहरूसँग जोडिएको पाँचकन्या कालिका देवी मन्दिरको किंवदन्ती उत्तिकै रोचक छ ।


सोताङ–५ फुस्तेल बजारभन्दा केही माथि सानो हलेसी छ । खोटाङस्थित हलेसीजस्तै देखिने तर सानो हलेसीमा तीन जिल्लादेखिका भक्तजन आउने गर्छन् । तर यो मन्दिरको व्यवस्थापनका लागि पूर्वाधार निर्माण र उचित प्रवर्द्धन गर्न नसकिएको स्थानीय मानवीर राईले बताए । सोताङ–४ स्थित धार्मे डाँडामा रहेको गुफा पनि पर्यटन प्रवर्द्धनका लागि योग्य छ ।


अल्लो र अलैंची

महाकुलुङ क्षेत्रका कुलुङ समुदायले उत्पादन गर्ने अल्लोको कपडा चर्चित छ । मिसावटरहित अल्लोबाट बनेका कपडाहरू अहिले स्थानीय बजारदेखि थोरै परिमाणमा विदेशतिर निर्यात हुने गरेको छ । छेस्काम र गुदेललगायतका गाउँमा घरघरै अल्लो बुन्ने गरिन्छ । यहाँ उत्पादन गरिएको अल्लो अन्तको भन्दा बलियो र राम्रो हुने गरेको उपभोक्ता बताउँछन् ।


ओखलढुंगा, सोलुखुम्बु सल्लेरीदेखि काठमाडौंसम्म महाकुलुङको अल्लो बिक्रीका लागि पुग्छ । अलि धेरै परिमाणमा उत्पादनको व्यवस्था मिलाए रोजगारी र आम्दानी दुवै बढ्ने स्थानीय चतुर कुलुङले बताए ।


सोताङ गाउँपालिका अलैंची र सुन्तला उत्पादनका लागि प्रसिद्ध छ । दर्जनौं किसानले व्यावसायिक रूपमा अलैंची उत्पादन गर्दै आएका छन् । अलैंची फलाए पनि बजारका लागि भने समस्या छ । सडक सञ्जाल जोडिएपछि सहज हुने आशा स्थानीयको छ । कतिपयले भर्खरै किबी खेती सुरु गरेका छन् । सोताङ गाउँपालिकाले पशुपालनलाई प्रवर्द्धन गरी युवाहरूलाई रोजगार दिने उद्देश्यले बाख्रा संस्थान स्थापना गरी २ र ५ नम्बर वडामा बाख्रा पालेको छ । संस्थानबाट बाख्रापालनका लागि कृषकहरूलाई सहुलियत दरमा दिइने र मासु बिक्रीका लागि बाहिरी जिल्लामा बेचिने गाउँपालिका अध्यक्ष वीरबहादुर राईले बताए ।


महाकुलुङ–३ छेस्काम क्षेत्रमा मार्सी धानको खेती हुँदै आएको छ । तर यसको बजार अभावले गर्दा खेती घट्न थालेको छ । छेस्काम, पिचिरिम, धिरित्ती, नम्सुर्बे, पञ्चाइदिखी, गेइमाई, हल्ला र लोक्चेस्को लगायतका गाउँमा मार्सी धान खेती हुने गर्छ । स्थानीय भाषामा यसलाई ‘तोकमारु’ भनिन्छ ।


मार्सी धान रोपिने खेत एक सय रोपनी हाराहारीमा छ । हाल ६० देखि ६५ रोपनीमा मात्र रोपिने गरेको स्थानीय चतुर कुलुङले बताए । चिसो ठाउँ भएकाले धान ढिलो पाक्छ । लगानी र श्रमको अनुपातमा प्रतिफल कम दिने भएपछि स्थानीयले मार्सी लगाउन छाडेका छन् । ‘धेरैले मार्सी धान फल्ने खेत मासेर अलैंची लगाएका छन्,’ चतुर कुलुङले भने ।


सञ्चारमा फड्को

कोसीपारिका क्षेत्रहरूमा सञ्चार विकासले छोटो समयमा फड्को मारेको छ । नेपाल टेलिकमले विस्तार गरेको टावरले गाउँगाउँमा सम्पर्क गर्न सकिन्छ । कतिपय स्थानमा व्यवस्थित हुन नसक्दा अझै टावरको क्षमता विस्तार गर्नुपर्ने जरुरी देखिन्छ । फुस्तेल बजारमा काम चलाउ भए पनि ल्यान्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेटको सुविधा छ ।


हाल टेलिकमले फोर जी सेवा विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने काम गरिरहेको छ । सर्वसाधारणले यो सेवा नाम मात्रको नभएर भरपर्दो बनाउन दबाब दिइरहेका छन् । सोताङमा सम्भवतः पूर्वी पहाडकै सबैभन्दा बढी क्षमताको अनुमतिपत्र लिएको २ हजार वाटको सामुदायिक रेडियो साल्पा एक वर्षदेखि प्रसारणमा छ । तर लाइसेन्सअनुसारको क्षमतामा प्रसारण गर्न नसकिएको रेडियो सञ्चालक समितिका कोषाध्यक्ष प्रकाश कार्कीले बताए । विद्युतीकरण स्थानीय उत्पादनमा निर्भर छ । सोताङ गाउँपालिकाको रोकखोलाबाट ६५ र ७५ किलोवाटका दुईवटा लघु जलविद्युत् सञ्चालनमा छन् । महाकुलुङमा बुदुमखोला र भुवाखोलाबाट लघु जलविद्युत् उत्पादन गरी बत्ती बालिएको छ ।

प्रकाशित : पुस १९, २०७६ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?