२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बाघ बूढाको पासोमा चितुवा

उनले बनाएका र सिकाएर अरुले बनाएका खोरहरुमा चितुवा पर्न थालेपछि आतंक घटेको छ
सम्झना रसाइली

(तनहुँ) — शिरमा भादगाउँले टोपी । टिसर्टमाथि इस्टकोट, कम्मरमा कछाड । ७७ वर्षीय उनलाई चितुवाको प्रसंग आएपछि जिउमा जोस भरिन्छ । जिल्लामा चितुवाले आतंक मच्चाएका बेला उनी भने पाँच दशकअघिको घटना सम्झिरहेका छन् । जतिबेला उनले पहाडमा बाघ भनिने चितुवालाई थुनेका थिए ।

बाघ बूढाको पासोमा चितुवा

त्यतिबेला बनेको उनको परिचय अहिले पनि कायम छ । यतिबेला गाउँमा उनी हरिभक्त ढकालभन्दा ‘बाघ समात्ने बुढा’ का रूपमा परिचित छन् । गाउँमा चितुवाको आतंक रोक्ने प्रयासमा उनको त्यही पुरानो सीपले काम गर्‍यो । अनि उनी झन् चिनिए– बाघ समात्ने बुढा ।


भानु नगरपालिका–२ फुस्रेटारका ढकालको परिचय सहजै फेरिएको भने होइन । दुई वर्षयता भानु नगरका १, २, ३ र ४ नम्बर वडामा चितुवाले बालबालिकालाई आक्रमण गरी ज्यानै लिन थालेपछि स्थानीय आतंकित थिए ।


प्रशासन, सुरक्षा निकाय, वन कार्यालय, नगरपालिका र सामुदायिक वनलगायतले पहल गरे पनि नरभक्षी बनेको चितुवा नियन्त्रणमा लिन सकेका थिएनन् । खेल्दै गरेका बालबालिकालाई घरघरमै आई चितुवाले आक्रमण गरी ज्यानै लिन थालेपछि साँझ नपर्दै गाउँ सुनसान हुन थाले । विभिन्न सामुदायिक वनमा थापिएको परम्परागत खोर (पासो) मा ६ चितुवा परेपछि अहिले त्रास हट्दै गएको छ । चितुवा पसेपछि समातिएका केही खोर ढकाल आफैंले बनाएका हुन् भने र केही भने उनैले सिकाएका अन्य स्थानीयले ।


चितुवा आतंक नियन्त्रणका लागि अपनाइएको वन डिभिजनको विकल्पले सफलता नमिलेपछि अगाडि आएको थियो– परम्परात काठको खोरमा पासो थाप्ने काम । जोकोहीले सहजै यो काठको खोर बनाउने अवस्था पनि थिएन । बाघ समात्ने ढकालले खोर बनाउन सिकाए । ०२३ सालमा ढकाल साविक भानु–४ मा बस्थे । २४ वर्षको उमेरमा उनले पहिलो पटक काठको त्यस्तो खोर बनाएका थिए । त्यो बेला उनले बनाएको खोरमा चितुवा परेको थियो । ढकालका अनुसार त्यो बेला पनि चितुवाको आक्रमणबाट दुई बालबालिकाले ज्यान गुमाएका थिए । आफ्नोलगायत गाउँलेको घरगोठमा पालेको गाई, बाख्रा मारेर चितुवाले सताएपछि ढकालले खोर बनाएका थिए । खोरमा थापेको पासोमा परेको चितुवालाई मारेपछि गाउँमा आतंक कम भएको थियो ।


‘ठिटो एक्लै हँसिया र बन्चरो लिएर जंगलमा खोर बनाउँछु भनेर हिँडेको देखेर बूढापाका मद्दत गर्न आएका थिए,’ उनी भन्छन्, ‘माघमा बनाएको काठको खोर फागुनको १२ गते पोथी चितुवा परेको थियो । त्यसलाई मारेपछि चितुवाले दुःख दिन छाडेको थियो ।’ ०७४ साल फागुन १ देखि फेरि गाउँमा चितुवाले आतंक मच्चाएर बालबालिकाको ज्यानै लिन थालेपछि ०७५ माघमा फलामको खोर बनाएर पासो थापिएको थियो । तर, फलामको खोरमा चितुवा फसेन । त्यसपछि गाउँलेले जानेकै सीपमा आधारित काठको परम्परागत खोर बनाउने सल्लाह भयो । गाउँलेले ढकाललाई अघि सारेका थिए । ‘चितुवा चलाख हुन्छ खोरमा पार्नु सजिलो होइन,’ उनी भन्छन्, ‘आफूले जानेको तरिकाको खोर बनाइयो । भटाभट परे, आतंक घट्यो, यही आनन्द हो ।’ उनले बनाएका चार खोरमध्ये तीनमा दुईवटा पोथी र एउटा भाले चितुवा परे । उनले सिकाएर गाउँलेले बनाएका अरू तीन खोरमा पनि तीन चितुवा समातिए । परम्परागत खोर बनाएका ढकाललाई डिभिजन वन कार्यालयले ६० हजार रुपैयाँ ज्याला दिएको छ ।


मानिसलाई आक्रमण गरी आतंकित बनाएको चितुवा खोरमा पारेर नियन्त्रणमा लिएपछि जीवितै अन्यत्र स्थानान्तरण गरिएको डिभिजन प्रमुख केदार बरालले बताए । खोर बनाई चितुवा समात्न योगदान गर्ने ढकालसँगै भानु–३ का मनबहादुर राना, हिराबहादुर आले र भानु–२ का दसबहादुर कुमाललाई नगरपालिका र डिभिजन वन कार्यालयले दोसल्ला, प्रमाणपत्र र जनही २५ सय रुपैयाँ नगद पुरस्कार दिएर सम्मान गरेका हुन् । भानुमा ५ हजार ७ सय ७७ हेक्टर क्षेत्रफलमा ९६ सामुदायिक वन छन् । यी वनसँग जोडिएका पातला बस्ती छन् । चितुवा प्रभावित वडाका नौ सामुदायिक वनमा नौवटा परम्परागत काठको खोर बनाएर पासो थापिएको छ । नियन्त्रणमा आएकामध्ये एउटा पोथी चितुवाले नै मान्छेलाई आक्रमण गरेको आशंका गरिए पनि पुष्टि हुन सकेको छैन ।

प्रकाशित : पुस १९, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?