२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

गुटका आधारमा नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेद्वार

अघिल्लो निर्वाचनमा पराजित पनि उम्मेद्वार
बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाले राष्ट्रियसभा निर्वाचनका लागि पूर्व समूहका आधारमा उम्मेद्वारहरुको टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले नेकपाका १६ उम्मेद्वारको टुंगो लगाएको हो । जसमा पूर्व एमालेबाट ९ र पूर्व माओवादीबाट ७ जना छन् । त्यसमा पनि नेतापिच्छे गुटका आधारमा भागबन्डा गरिएको छ । 

गुटका आधारमा नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेद्वार

१८ सिटका लागि हुन लागेको निर्वाचनमा १६ सिटमा जित सुनिश्चितजस्तै भएपछि नेकपामा सयभन्दा बढी आकांक्षी देखिएका थिए । तिनै आकांक्षीबाट नेकपाले बिहीबार र शुक्रबारको लामो छलफलपछि उम्मेद्वारहरु टुंग्याएको हो ।

प्रदेश १

नेकपाले पूर्व एमालेबाट इन्दु गौतम र देवेन्द्र दाहाललाई उमेद्वार बनाएको छ । पूर्व एमालेबाट उमेद्वार बनेका दाहाल अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । उनी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा सचिवालयमा जनसम्पर्क सल्लाहकार थिए । झापाबाट दुई पटक निर्वाचनमा पराजय व्यहोरेका दाहाल हाल नेकपाको केन्द्रीय सदस्य समेत हुन् ।

यस्तै पूर्व एमालेसमुहबाट उम्मेद्वार बनेकी सुनसरीकी गौतम महिला संगठनमा सक्रिय थिइन् । हाल प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई गौतमका ज्वाईं हुन् ।

पूर्वमाओवादी समूहले यो प्रदेशबाट गोपी अछामी राष्ट्रियसभा उम्मेद्वार बनाएको छ । अछामी पहिलो संविधानसभामा निर्वाचित भएका थिए भने उनी पूर्व राज्यमन्त्री समेत हुन् । अहिले उनी नेकपाको केन्द्रीय समिति सदस्य पनि छन् । उनी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् ।

प्रदेश २

नेकपाले यो प्रदेशमा पूर्व एमाले समूहबाट तुलसा दाहाल र पूर्व माओवादी समूहबाट राधेश्याम पासवानलाई उम्मेद्वार बनाएको छ । यो प्रदेशमा नेकपाले राष्ट्रिय जनता पार्टी(राजपा)सँग तालमेल गरेको छ । जसमा नेकपालाई महिला र दलित कोटा परेको थियो । सोही अनुसार दाहाल र पासवानलाई उमेद्वार बनाएको छ । दाहाल अनेमसंघमा सक्रिय थिइन् । पासवानलाई उम्मेद्वार बनाउन दाहाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सिफारिस गरेको सचिवालयका एक नेताले जानकारी दिए ।

प्रदेश ३

पूर्व एमाले नेता बेदुराम भुसाल र पूर्व माओवादीबाट गंगा बेल्बासेलाई यो प्रदेशमा नेकपाले उम्मेद्वार बनाएको छ । भुसाल नेकपाको स्थायी समिति सदस्य हुन् । उनी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता हुन् ।

भुसाल यसअघि पनि राष्ट्रियसभा निर्वाचनका लागि उमेद्वार सिफारिस भएका थिए । तर अन्तिम समयमा आएर उनलाई उमेद्वार फिर्ता लिएका थिए । पूर्वमाओवादीबाट उमेद्वार सिफारिस भएकी बेल्बासे गत वर्ष निधन भएका नेकपा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डीआर पौडेल पत्नी हुन् । चितवनकी बेल्बासे श्रेष्ठ निकट मानिन्छन् ।

गण्डकी प्रदेश

नेकपाले गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेलाई उम्मेद्वार बनाएको छ । श्रेष्ठ नेकपाको सचिवालय सदस्य एवं पार्टी प्रवक्ता हुन् । उनी पूर्व माओवादी केन्द्रको उपाध्यक्ष थिए भने २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पराजित भएका थिए । श्रेष्ठ पूर्वमन्त्री समेत हुन् ।

यस्तै पूर्व एमाले समूहबाट उम्मेद्वार सिफारिस भएकी न्यौपाने पछिल्लो समय ओली निकट मानिन्छन् । उनी तत्कालिन एमालेको तनहुँ जिल्ला कमिटी सचिव थिइन् । उनी स्थानीय तहको निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।

प्रदेश ५

नेकपाले यो प्रदेशमा पूर्व एमालेबाट विमला घिमिरे र गोपाल भट्टराईलाई उम्मेद्वार बनाएको छ । यस्तै पूर्व माओवादी समूहबाट जगप्रसाद शर्मालाई उम्मेद्वार बनाएको छ । पूर्व एमाले समूहबाट उम्मेद्वार सिफारिस भएकी घिमिरे हाल नेकपाको केन्द्रीय सदस्य हुन् । उनी यसअघि स्थानीय तहको निर्वाचनमा कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । घिमिरे तत्कालिन एमालेको अञ्चल कार्यलय सचिव पनि थिए । उनी ओली निकट नै मानिन्छिन् ।

यस्तै बुटवलका भट्टराई तत्कालिन एमालेका पुराना नेता हुन् । उनी ओली निकट मान्छिन् । पूर्व माओवादीबाट सिफारिस भएका शर्मालाई अपांगता कोटाबाट नेकपाले उम्मेद्वार बनाएको छ । उनी हाल प्रदेश कमिटीका सचिवसमेत हुन् । उनी नेकपामा अध्यक्ष दाहाल निकट मानिन्छन् ।

कणाली प्रदेश

नेकपाले यो प्रदेशमा पूर्व माओवादीबाट मायाप्रसाद शर्मा र पूर्व एमालेबाट सुमित्रा बिसीलाई उम्मेद्वार बनाएको छ । शर्मा हाल नेकपाको प्रदेश कमिटीको सचिव हुन् । वरियता नमिलेको असन्तुष्टि जनाउँदै उनले सचिव पदबाट राजिनामा दिएका थिए ।

तर, उनको राजिनामा नेकपाको सचिवालय बैठकले अस्वीकार गर्दै काममा फर्कन निर्देशन दिएको थियो । उनी सचिवालय सदस्य रामबहादुर थापा निकट मानिन्छन् । तर उनको नाम सिफारिस गर्दा अध्यक्ष दाहाल र श्रेष्ठले गरेको स्रोतको दाबी छ । यस्तै पूर्व एमालेबाट उमेद्वार सिफारिस भएकी बिसी ओली निकट मानिन्छन् । उनी यसअघि अनेमसंघमा पनि काम गरेकी थिइन् ।

सुदुरपश्चिम प्रदेश

पूर्व एमाले समुहबाट शारदा भट्ट र पूर्व माओवादी समूहबाट तारामान स्वारलाई नेकपाले उम्मेद्वार बनाएको छ । भट्ट पूर्व एमालेका पुरानो नेतृ हुन । उनी नेकपाको प्रदेश कमिटी सदस्य पनि छन् । उनी नेपाल निकट मानिन्छन् । त्यसैगरी अछामका तारामान स्वाँर पुराना नेता हुन् । उनी अध्यक्ष दाहाल निकट मानिन्छन् ।

कसरी हुँदै निर्वाचन ?

माघ ९ गते राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन सम्पन्न हुँदैछ । त्यसका लागि पुस २० गते उम्मेद्वारी दर्ता हुँदैछ ।

राष्ट्रियसभाका १८ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिन थालेपछि आयोगले ती स्थानका लागि निर्वाचन गर्न लागेको हो । नेकपाले यसअघि स्थायी समिति बैठकबाट पार्टीले तय गरेका उम्मेद्वारहरुलाई अत्यधिक बहुमतका साथ विजयी बनाउन सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिइसकेको छ ।

पार्टीको उम्मेद्वारको पक्षमा मतदान गर्न र निर्वाचन परिणाम प्रकाशित नहुँदासम्म पार्टीको योजना र निर्देशनअनुरुप परिचालित हुनसमेत नेकपाले प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा नेकपा, कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाली जनता दल र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी दर्ता भएका छन् । आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई चुनाव चिन्हसमेत प्रदान गरिसकेको छ ।

राष्ट्रियसभाका १८ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिन थालेपछि आयोगले ती स्थानका लागि निर्वाचन गर्न लागेको हो । ५९ सदस्य निवार्चित भएकोमा चिठ्ठा प्रणाली लागु गर्दा १८ सदस्यको २ वर्षे कार्यकाल परेको थियो । अरू केहीको ४ वर्ष र बाँकीको ६ वर्ष कार्यकाल परेको थियो ।

राष्ट्रिय सभामा रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसको १३ मध्ये ७, राजपाका २ मध्ये २ जनै र समाजवादीका २ मध्ये १ जनाको दुई वर्षे पदावधि फागुन २० गते सकिन लागेपछि ती पदपूर्तिका लागि माघ ९ गते चुनाव हुन लागेको हो ।

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा नेकपा, कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाली जनता दल र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी दर्ता भएका छन् । आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई चुनाव चिहृनसमेत प्रदान गरिसकेको छ ।

राष्ट्रिय सभाका लागि प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ जनासमेत कूल मतदाताको संख्या २ हजार ५६ छ । प्रदेशगत रूपमा रिक्त स्थानका लागि त्यही प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् । प्रदेशगत रूपमै निर्वाचन आयोगले सञ्चालनमा ल्याउने निर्वाचन कार्यालयमा मतदान हुनेछ ।

प्रकाशित : पुस १८, २०७६ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?