भारतीयलाई नागरिकता दिलाउन साक्षी बस्ने मेयरलाई २५ हजार जरिवाना - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीयलाई नागरिकता दिलाउन साक्षी बस्ने मेयरलाई २५ हजार जरिवाना 

शिव पुरी

रौतहट — भारतीय नागरिकलाई जन्मसिद्ध नागरिकता दिलाउन साक्षी बस्ने कटहरिया नगरपालिकाका प्रमुख(मेयर) सियाराम कुशवाहलाई रौतहट जिल्ला अदालतले २५ हजार जरिवाना गर्ने फैसला सुनाएको छ । न्यायधीश उमानाथ गौतमको एकल इजलासले कुशवाहसहित २१ जनालाई जरिवानाको फैसला सुनाएको अदालतका उपसचिव गुणराज पराजुलीले जानकारी दिए । 

भारतको विहार राज्य पूर्वी चम्पारण जिल्ला बनकटवा प्रखण्ड ग्राम सेमरी चम्पारण घर भई हाल रौतहटको साबिक हथियाही गाविस–७ बस्ने मीरहसन देवान फकीरका छोरा हाफिज देवान र ओली महमद देवानले झूठो बिवरण पेश गरी जन्मसिद्धको आधारमा नागरिकता बनाएका थिए ।


उनीहरुको नागरिकता बनाउने कागजमा साक्षी बसेका प्रमुख कुशवाहासहित २१ जनालाई अदालतले जनही २५ हजारका दरले जरिवानाको फैसला अदालतले गरेको हो ।

अदालतले झूटो विवरण पेश गरेर नागकिरता बनाउने देवानद्वयको नागरिकता रद्द गर्ने र ५०/५० हजारका दरले जरिवाना गर्ने फैसला सुनाएको उपसचिव पराजुलीले बताए ।


२०६३ फाल्गुन २७ गते टोलीवाट देवानद्वयले नागरिकता लिएका थिए । हाफिजले ३२३०६५/२१ र ओलीले ३२३०६५/२८ नम्बरको नागरिकता लिएका थिए ।


भारतीयलाई झुठो विवरण तयार पार्न लगाएर नागरिकता दिलाउन सहयोग गरेकाले नागरिकता ऐन २०६३ को दफा २१ (१) र (२) बमोजिम सजाय माग गर्दै काठमाण्डौ महानगरपालिका १३ का सन्त बहादुर श्रेष्ठले २०७२ भदौ २९ गते जिल्ला अदालत रौटहटमा अभियोग पत्र दायर गरेका थिए । अभियोग पत्र दायर भएको ४ बर्ष पछि अदालतले फैसला सुनाएको हो ।


नागरिकता दिलाउँदा कुशवाहा माओबादी प्रतिनिधिको रुपमा साक्षी बसेका थिए । नागरिकता दिलाउन एमाले प्रतिनिधि विनोद कर्ण, जनमोर्चा प्रतिनिधि जफरुल देवान, तत्कालीन गाविस सचिव मनोज झा, हथियाहीका बसरुल देवान, चन्द्रकिशोर ठाकुर, अलीअकबर देवान, शेख वजीललगायत २१ जनालाई जनही २५ हजारको दरले जरिवाना भएको अदालतका उपसचिव पराजुलीले बताए ।


कुशवाह यसअघि बिरगञ्जका काशि तिवारी हत्याको अभियोगमा जेल बसेर छुटेका व्यक्ति हुन ।


प्रमुख कुशवाहले अदालतले आफुलाई जरिवानाको फैसला सुनाएको स्विकारे । ‘सम्मानित अदालतबाट नागरिकता सम्बन्धी मुद्दामा जरिवानाको फैसला भएको थाहा पाए,’ उनले भने, ‘नागरिकता लिने दुवै भारतीय होइनन् । उनीहरु नेपाली हुन् ।’ कुशवाहले जिल्ला अदालतको फैसला बिरुद्ध उच्च अदालतमा अपिल गर्ने बताए ।


प्रकाशित : पुस १८, २०७६ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्

प्राविधिक एआईजीमा गरिएको बढुवा सिफारिसविरुद्ध डिआईजी पाठकले दिए लोकसेवामा उजुरी

मातृका दाहाल

काठमाडौँ — नेपाल प्रहरी अस्पतालको प्राविधिक एआईजीमा डा. आशा सिंहलाई बढुवा सिफारिस गर्ने निर्णय विरुद्ध अस्पतालका वरिष्ठ डिआईजी डा. मिनराज पाठकले उजुरी दिएका छन् ।

शुक्रबार ३ बजे पाठकले लोकसेवाको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरी दिँदै आफूभन्दा कनिष्ठ डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय बदरको माग पनि गरेका छन् । पाठक बाल रोग विशेषज्ञ पनि हुन् ।

२०५२ सालमा प्राविधिक प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पाठक डिएसपी, एसपी, एसएसपी र डिआईजी बढुवासम्म सधैं पहिलो नम्बरमा थिए । तर आफूलाई पछिल्लो ३ आवको कार्यसम्पादन मूल्यंकनमै अन्याय गरिएको भन्दै त्यसको पनि छानबिन गर्न माग गरेका छन् । उनले आफ्नो प्रतिस्पर्धीलाई अस्वभाविक रुपमा नम्बर दिएको भन्दै त्यसको पनि छानबिन गर्न माग गरेका छन् ।

पुस १४ गते गृहसचिव प्रेमकुमार राई अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको बढुवा सिफारिस समितिले प्रहरी अस्पतालको एआईजीमा वरियताक्रममा दोस्रो नमबरमा रहेकी सिंहलाई सिफारिस गरेको थियो ।

‘प्रहरी नायव उपरीक्षक (डएसपी) देखि नायव महानिरीक्षक (डिआईजीसम्मका हरेक दर्जामा म आफ्नो सहकर्मीमाझ वरिष्ठतम भई आएकोमा डिआईजीबाट एआईजीमा बढुवा नदिन षड्यन्त्रपूर्वक कार्यसम्पादन मूल्यांकनमा मलाई अस्वभाविक रुपले कम नम्बर दिएको शंका लागेको हुँदा कम नम्बर दिनुकाे कुनै जायज कारण नभएको र कुनै विभागीय कारबाही नभएको तथा आफ्नो पदीय दायित्व अनुरुप काम गर्दागर्दै पनि मेरो नाम बढुवाका लागि सिफारिस नभएकोले यो निवेदन न्यायका लागि पेश गरेको छु,’ डिआईजी पाठकले लोकसेवामा दिएको निवेदनमा भनिएको छ, ‘इमान्दारिता र निष्ठापूर्वक कार्यगर्दागर्दै आएको फलस्वरुप आफ्नो व्याचबाट हरेक दर्जामा वरिष्ठ हुँदै आएको व्यक्तिले आफू मुकाम नजिक पुग्नै लाग्दा अकर्मण्यता हुनसक्ने प्रश्नै उठ्दैन, अझ बढी लगनशील, निष्ठावान र अनुशासिक भई कार्य गर्दागर्दै पनि एआइजीमा मलाई कुनैपनि हालतमा बढुवा हुन नदिन कार्यसम्पादन मूल्यांकनमा कम नम्बर दिएको कारण नै पदोन्नतकिा लागि सिफारिस नभएको छर्लङग आउँछ ।’



प्रकाशित : पुस १८, २०७६ १६:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×