प्रधानमन्त्री बन्न नपाउने भन्दै बामदेवले गरे राष्ट्रियसभा उम्मेदवार बन्न अस्वीकार

बबिता शर्मा

काठमाडौँ — नेकपा नेता एवं सचिवालय सदस्य बामदेव गौतमले आफू प्रधानमन्त्री बन्न सक्नेगरी संविधान संशोधन गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तयार नभएपछि राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री बन्न नपाउने भन्दै बामदेवले गरे राष्ट्रियसभा उम्मेदवार बन्न अस्वीकार

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राष्ट्रियसभाको निर्वाचनमा गौतमलाई उम्मेदवार बन्न प्रस्ताव गर्दा उनले अस्वीकार गरेको सचिवालयका एक नेताले बताए ।

‘अध्यक्षद्वयले वामदेव कमरेडलाई उम्मेदवार बन्नुस् भनेर प्रस्ताव गर्नुभयो । तर उहाँले सर्त राख्नुभयो– संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने भएमात्रै जान्छु, नत्र जाँदिन,’ सचिवालयका ती नेताले भने, ‘त्यसपछि अध्यक्ष ओलीले यो सम्भव छैन भन्ने जवाफ दिनुभयो ।’

नेता गौतमको प्रस्तावमा अध्यक्ष दाहालले पनि पहिला नै सर्त राखेर जानु उपयुक्त नहुने जवाफ नेता गौतमलाई दिएको ती नेताले बताए ।

‘पहिला नै यसरी सर्त राखेर जानु ठिक हैन । त्यहाँ गएर सल्लाह गरौंला, प्रयत्न गरौंला । अहिले नै किन सर्त राख्नु हुन्छ ?’ दाहालले गौतमलाई भनेका थिए ।

दाहाल बोलेपछि गौतमले अर्को सर्त राखेका थिए । ‘राष्ट्रियसभामा जान्न । बरु प्रधानमन्त्री बनाउने ग्यारेन्टी नगरेर पनि जाने भए प्रतिनिधिसभामा लैजानुस, चुनाव लडाएर,’ नेता गौतमको भनाई उद्धृत गर्दै ती नेताले भने । तर, गौतमको त्यो सर्तमा अध्यक्षद्वयले कुनै प्रतिक्रिया जनाएनन् ।

याे पनि :


नेता गौतमलाई राष्ट्रियसभामा लैजान अध्यक्षद्वय ओली र दाहालले पहिला पनि प्रयत्न गरेका थिए । त्यतिबेला पनि गौतमले यहि सर्त राखेका थिए । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गौतमलाई यसअघि कास्की–२ को उपनिर्वाचनमा चुनाव लड्न प्रस्ताव गरेका थिए । तर, त्यहाँबाट पनि अन्तरघातको खतरा छ भन्दै गौतमले चुनाव नलड्ने निर्णय गरेका थिए ।

प्रकाशित : पुस १८, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?