कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

चिनियाँ राजदूत होउको दिदीले खिचिदिएको त्यो फोटो 

अमेरिकी राजदूत बेरी मेरो सबैभन्दा मिल्ने साथी हुन् : राजदूत होउ 
जगदीश्वर पाण्डे

काठमाडौँ — मंगलबार नेपालका लागि चीनकी राजदूत होउ यान्छीले आफ्नो ट्वीटर ह्यान्डलमा अंग्रेजी नयाँ वर्ष २०२० अवसरमा नेपाल भ्रमण वर्ष सफल होस् भन्दै आफैंले ‘मोडलिङ’ गरेका चारवटा फोटो पोस्ट गरिन् । लगत्तै उक्त पोस्ट नेपाली संचारमाध्यमको समाचार बन्यो । एक प्रकारले भाइरल जस्तै भयो ।

चिनियाँ राजदूत होउको दिदीले खिचिदिएको त्यो फोटो 

रातो ‘वानपीस’ मा सजिएकी राजदूत होउले उक्त फोटोसुट ललितपुरस्थित पाटन दरबार स्क्वारमा गरेकी थिइन् । र, उक्त फोटो खिच्ने काम गरेकी थिइन्, नेपाल भ्रमणमा आएकी उनकी दिदी होउ यान्लिनले ।

शुक्रबार काठमाडौंस्थित चिनियाँ दूतावासमा भएको पत्रकार सम्मेलनपछि पत्रकारसँग भलाकुसारी गर्दै राजदूत होउले भनिन्, ‘मेरो दिदी फोटो खिच्न मनपराउनु हुन्छ । उहाँ नेपाल भ्रमणमा आउनुभएको थियो । यसै अवसर पारेर गत शनिबार पाटन दरबार स्क्वारमा गएर दिनभरी फोटो खिचेको हो ।’

राजदूत होउको उक्त फोटोहरू नेपाली मिडियामात्र होइन, चीनियाँ मिडियाले पनि प्राथमिकताका साथ प्रेसित छन् । नेपाल भ्रमण वर्षको प्रचार गर्ने चिनियाँ राजदूत होउ मात्र एक्ली होइनन् । नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले पनि नयाँ वर्षको पहिलो दिन (जनवरी १) मा आफूले नेपालमा भ्रमण गरेका विभिन्न स्थानका चार फोटोहरू पोस्ट गर्दै नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरेका थिए ।

‘अमेरिकी राजदूत बेरीसँग प्रतिस्पर्धा गरेको हो ?’ भन्ने पत्रकारको ठट्यौली प्रश्नमा राजदूत होउले भनिन्, ‘राजदूत बेरी त मेरो सबैभन्दा मिल्ने साथी हुन् । हामी कुरा पनि गर्छौं । तर हाम्रो आ–आफ्नो मुलुकलाई लिएर जिम्मेवारी भएका कारण हाम्रो केही चासो फरक हुन्छन् ।’ लामो समयदेखि ट्वीटरमा रहेका बेरी र भर्खरै ट्वीटरमा आएकी होउले एकअर्कालाई ट्वीटरमा भने फलो गरेका छैनन् ।

अमेरिकी राजदूत बेरी र होउको ट्वीट एकपछि अर्को आइरहेको विषयमा फेरि पत्रकारले राखेको जिज्ञाशामा होउको छेउमै उभिएका राजनीतिक तथा प्रेस शाखाका प्रमुख वाङ सिअवोलङले ठट्यौली पाराले भने, ‘लेडिज फर्स्ट । उहाँ (होउ) ले नयाँ वर्षको पूर्व सन्ध्यामा पोस्ट गर्नुभएको थियो । राजदूत बेरीको अर्को दिन ट्वीट आयो ।’

होउले दिनभर पाटन दरबार स्क्वारमा फोटो सुट गर्दा मज्जा आएको र त्यहाँ उपस्थिती नेपालीहरूले आफूलाई चीनकी राजदूत भनेर नचिनेको पनि बताइन् ।

प्रकाशित : पुस १८, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?