कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अझै भेटिन्छन् युद्धकालीन बम

घनश्याम खड्का

(म्याग्दी) — सशस्त्र द्वन्द्व सकिए पनि विस्फोटका घटनाले त्रसित बनिरहेका बेनीवासी गत मंगलबार फेरि झस्किए । कालीगण्डकी र म्याग्दी नदी दोभानको बगरबाट विस्फोटको ठूलो आवाज आयो । सेनाको श्रीबक्स गुम्म र २३ नं बाहिनीको बम डिस्पोजल टोलीले बेनीको मंगलाघाट नजिकै फेला परेको मोर्टार सेल निष्क्रिय पार्दा उक्त आवाज आएको थियो । 

अझै भेटिन्छन् युद्धकालीन बम

उक्त ८१ एमएम मोर्टार सेल १६ वर्षअघि ०६० चैत ७ मा माओवादीले बेनी आक्रमण गर्दा प्रहार गरेको तर नपड्किएको सेनाले जनाएको छ । ‘बेनी–बागलुङ सडक खण्डको म्याग्दी नदी पुलमुनि फेला परेको पुरानो र खिया लागेको सेललाई सुरक्षित डिस्पोज गरेका छौं,’ गुल्म प्रमुख मेजर सुरेश देवकोटाले भने । म्याग्दी खोलाको तटबन्धका लागि फाउन्डेसन राख्न डोजरले खाल्डो खन्दा मोर्टार भेटिएको क्षेत्रमा तत्कालीन शाही नेपाली सेनाको कालीप्रसाद गण (ई) को ब्यारेक थियो ।


डोजरको दबाब सोझै मोर्टार सेलमा नपरेकाले ठूलो दुर्घटना टरेको हो । ‘त्रासदीलाग्दो युद्ध सकियो भन्ने थियो तर अझै बम भेटिएपछि डर लागेको छ, त्यही भिडन्त भएको स्थानमै सर्‍यौं,’ मुसलमान बस्तीका रहमान खानले भने, ‘अझै यस्ता कति बम घरमुनि पुरिएका होलान्, बाटोमा कति होलान् ।’ तत्कालीन माओवादीले साबिक भकिम्ली र पुलाचौरको डाँडाखेतबाट बेनीस्थित सेनाको गणलाई लक्षित गरी प्रहार गरेका पाँचवटा यस्ता मोर्टार विस्फोटन नभएको (मिसप्लेस भएको) बताएको थियो । माओवादीले त्यस बेला दाबी गरेअनुसार बेनी आक्रमण क्रममा टार्गेट फेल भएको पाँचमध्येकै यो सेल एउटा हो । बाँकी चार सेल बेनीवासीका लागि जोखिम बनिरहेका छन् ।


बेनी आक्रमणको दुई दिनपछि अर्थुंगेमा ६ वर्षीय सुजन जैसी, चैत १० गते ताकममा १२ वर्षीया गौरी गर्वुजा, ०६१ पुस १ गते निस्कोटमा नगेन्द्र र भूमिराज पुन दाजुभाइको नपड्किएको बेवारिसे बम खेलाउँदा ज्यान गएको थिए । ०६२ असारमा बाबियाचौरका सुरेन्द्र खत्रीले दुवै हात गुमाए । त्यसैगरी ०६७ जेठ ३१ गते साविक पिप्ले–३ घुमाउने तालमा नेपाली सेनाले भूलवश छाडेको नपड्किएको ल्यान्डमाइन विस्फोटन हुँदा सुविन्द्र शाही घाइते भए ।


०६७ कात्तिक १४ गते डेटोनेटर तार फेला पारी अगेनामा हाल्दा ताकमका पाँच वर्षीय बालक सुन्दर केसी घाइते भए । ०६८ मा बेनीको मुसलमान बस्तीमा दर्जनभन्दा बढी ग्रिनेड फेला परेका थिए । सोही वर्ष बेनीमाथिको ठूलो सल्लेरी सामुदायिक वनमा डढेलो लाग्दा दर्जनौं बम विस्फोट भए । ०७० पुसमा काफलडाँडाको जंगलमा स्थानीयले फेलापारेको बेवारिसे सकेट बम भने नेपाली सेनाले निष्क्रिय पारेको थियो ।

प्रकाशित : पुस १७, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?