१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

भ्रमण वर्षमा राष्ट्रपतिको सन्देश : प्रकृतिलाई सिंगारेर पर्यटक आकर्षित गरौं

काठमाडौँ — नेपाल भ्रमण वर्ष २०२० को औपचारिक आरम्भ भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा आयोजित विशेष समारोहमा भ्रमण वर्षको सुरुवात गरेकी हुन् । मुलुकका विभिन्न ठाउँमा पनि भ्रमण वर्षका अवसरमा कार्यक्रम सुरु भएका छन् ।

भ्रमण वर्षमा राष्ट्रपतिको सन्देश : प्रकृतिलाई सिंगारेर पर्यटक आकर्षित गरौं

भ्रमण वर्षको सुरुवात गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रूपमा अंगिकार गर्न आग्रह गरेकी छन् । भ्रमण वर्ष राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिएको भन्दै उनले यसमा सबैको साथ र सहयोग हुनुपर्ने बताइन् । उनले भ्रमण वर्षलाई महाअभियानको रुपमा लिनुपर्ने बताइन् ।

भ्रमण वर्ष सफल पार्नका लागि सबै नेपाली एकजुट हुनुपर्ने राष्ट्रपतिको आग्रह थियो । उनले पर्यटन क्षेत्रको विकासका लागि योजनाबद्ध कार्यक्रम ल्याउन नसके सम्भव नहुने धारणा राखेकी थिइन् । सांस्कृतिक तथा प्राकृतिक हिसाबले विविकधीकरण भएकाले सबैखालका पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो । संसारकै उत्कृष्ट गन्तव्यस्थल सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लगायतका क्षेत्रमा भ्रमण गर्न उनको आग्रह थियो ।

राष्ट्रपति भण्डारीले प्रकृतिलाई बिगारेर नभई सिंगारेर पर्यटकलाई आकर्षित गर्नुपर्ने धारणा राखिन् । पर्यटन वर्षको अभियानले विश्वमा मानवता भातृत्व तथा शान्तिप्रतिको प्रतिबद्धता उजागर गर्ने उद्देश्य राखेको समेत उनले बताइन् । राजनीतिक अस्थिरता र द्वन्द्वले सिथिल बनेको नेपालको आर्थिक विकास भ्रमण वर्षले अगाडि बढाउने प्रयास थालिएको उनको भनाइ थियो ।

सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अबको १० वर्षलाई पर्यटन दशकको अभियानको रूपमा अगाडि बढाउने आधार वर्षको रूपमा वर्ष २०२० लाई लिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समृद्ध नेपाल सुखी नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए । उनले नेपाल संसारकै एक अद्वितीय प्राकृतिक सम्पदायुक्त मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरेका थिए । 'हाम्रो सांस्कृतिक सुन्दरता, धार्मिक केन्द्रको लागि नेपाल आउने सबै सिजनमा नेपाल भ्रमण गर्न सकिने ', मन्त्री भट्टराईले भने । विश्वका सबैभन्दा बढी उचाई भएका हिमाल नेपालमा रहेको गौतमबुद्धको जन्मस्थल, विभिन्न धार्मिक मठमन्दिर, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा हेर्न पनि नेपाल आउनुपर्ने बताए ।

सन् १९५१ देखि विदेशी पर्यटकका लागि नेपाल भ्रमण गर्न खुल्ला गरिएको जानकारी दिँदै मन्त्री भट्टराईले पछिल्लो समय पर्यटन क्षेत्र नै नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार बनेको बताए ।

प्रकाशित : पुस १६, २०७६ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?