३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पौडेल समूह राष्ट्रियसभामा उम्मेदवार छान्ने बैठकमा नजाने

‘निर्णय गर्ने सभापतिले हो । पार्टीमा थप विग्रह नआओस् भनेर सभापतिले सुझाव लिने प्रयास गर्नु भयो भने सुझाव दिने हो । वार्ताकारका रुपमा वार्ता गर्न जाने होइन’
मधुसुधन भट्टराई

काठमाडौँ — राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न बस्ने कांग्रेसको पदाधिकारी र केन्द्रीय कार्यसमिति बैठक नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले बहिष्कार गर्ने भएका छन् । तर, राष्ट्रियसभा उम्मेदवार सम्बन्धमा हुने निर्णय भने मान्य हुने पौडेल समूहले बताएको छ । 

पौडेल समूह राष्ट्रियसभामा उम्मेदवार छान्ने बैठकमा नजाने

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार अपरान्ह ५ बजे पदाधिकारी र बिहीबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठक पाैडेल समूहले बहिष्कार गर्ने भएकाे हाे ।

उपसभापति विमलेन्द्र निधिले पौडेल समूहले पदाधिकारी र केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन नसक्ने तर, राष्ट्रियसभामा उम्मेदवार चयन सम्बन्धमा गर्ने निर्णय स्वीकार्ने बताएको जानकारी दिए ।

‘रामचन्द्रजीले राष्ट्रियसभा निर्वाचनका सम्बन्धमा छलफल गर्ने जिम्मेवारी केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई दिनु भएको छ, उहाँसँग मैले कुराकानी गरेँ,’ निधिले इकान्तिपुरसित भने, ‘पदाधिकारी र केन्द्रीय कार्यसमिति बैठकमा हामी सहभागी हुन सक्दैनौं । तर, राष्ट्रियसभा निर्वाचनका सम्बन्धमा गर्ने निर्णय हामीलाई स्वीकार्य छ भन्नुभएको छ ।’

१८ सदस्यका लागि माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचन निर्वाचन हुँदैछ । उम्मेदवारी दर्ताको समय पुस २० गतेलाई ताेकिएको छ ।

नेता रिजालले पुस ११ गते केन्द्रीय कार्यसमितिले बुहमतबाट गरेको निर्णय नसच्चिदासम्म आफूहरु बैठकमा नजाने बताए । ‘पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णय नसच्चिदासम्म हामी भोलि (बिहीबार)को केन्द्रीय कार्यसमिति बैठकमा सहभाग‍ी हुँदैनौं । आज बोलाइएको पदाधिकारी बैठकमा पनि हाम्रो तर्फका साथीहरु जानुहुन्न,’ रिजालले इकान्तिपुरसित भने, ‘निर्णय गर्ने सभापतिले हो । पार्टीमा थप विग्रह नआओस् भनेर सभापतिले सुझाव लिने प्रयास गर्नु भयो भने सुझाव दिने हो । वार्ताकारका रुपमा वार्ता गर्न जाने होइन ।’

पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतबाट पार्टीको १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने र पार्टीका विभाग २८ बाट बढाएर ४७ पुर्‍याउने निर्णय गरेको थियो । बैठक पौडेल र सिटौला समूहले बहिष्कार गरेका थिए ।

पदाधिकारी बैठकमा प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्ने विषयमा पनि छलफल हुने उपसभापति निधिले बताए । ‘समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पुस ९ गते सभापति शेरबहादुर देउवासँग भेटेर राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रस्ताव गर्नु भएको छ, त्यस विषयमा पदाधिकारी बैठकमा छलफल हुन्छ,’ निधिले भने ।

स्रोतका अनुसार देउवाले समाजवादी पार्टीका अध्यक्ष यादवसँग राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा दुई/दुई सिट बाँडेर तालमेल गर्ने अनौपचारिक सहमति गरेका छन् ।

प्रकाशित : पुस १६, २०७६ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?