२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

शीतलहरले सुत्केरीलाई सकस, शिशुलाई ‘कोल्ड डायरिया’

सातायताको शीतलहरले विपन्न परिवार समस्यामा छन्, उनीहरूसँग शिशुलाई न्यानो बनाउने बाक्लो कपडासमेत छैन
प्रदेश २ ब्युरो

(जनकपुर) — एक साताअघि जन्मेको छोरालाई समस्या देखिएपछि रौतहट चन्द्रपुर–१० मुसहर बस्तीकी २४ वर्षीया अञ्जलीदेवी राम अत्तालिइन् । उनी छोरो च्यापेर हतपत चन्द्रनिगाहपुर अस्पताल आइन् । चिकित्सकले आमा–बच्चा दुवैलाई चिसोको असर देखिएकाले न्यानोमा बस्न सुझाव दिए । चार दिन अस्पताल बसेर उनीहरू घर त फर्किए । तर, चिसोबाट जोगिने न्यानो कपडा राम परिवारमा छैन । 

शीतलहरले सुत्केरीलाई सकस, शिशुलाई ‘कोल्ड डायरिया’

तराईमा एक सातायता शीतलहर चलेकाले विपन्न परिवार समस्यामा छन् । ‘शीतलहर चलेका बेला आफूसँगै बच्चालाई जोगाउन निकै समस्या हुन्छ,’ अञ्जलीले भनिन्, ‘गरिबलाई यस्तै बेला धेरै पीडा हुने रहेछ ।’ यो बस्तीमा १० जना सुत्केरी छन्, उनीहरू सबैको साझा पीडा उही हो । झुपडीमा बस्ने मुसहर समुदायलाई जाडोका बेला ओढ्नेकै समस्या पर्छ । उनीहरूका बालबालिका यही मौसममा धेरै बिरामी पर्छन् । न्यानो कपडा अभावमा अधिकांश सुत्केरी घरमै धुनी बालेर बच्चालाई न्यायो पार्ने गर्छन् ।


१० दिनअघि सिरहाको लहान नगरपालिका–२० की सञ्जु सदाय मुसहरले लहान अस्पतालमा सामान्य अवस्थामा छोरालाई जन्माइन् । घर पुर्‍याएपछि भने चिसोबाट कसरी जोगाउने भन्ने चिन्ता उनमा छ । ऐलानी जग्गामा बसोबास गर्दै आएकाले सुत्ने ठाउँ र पोसिलो खानेकुरा अभावमा बच्चा हुर्काउन समस्या पर्ने उनी बताउँछिन् । पोषण अभाव र न्यानो लुगा नहुँदा यहाँका सुत्केरी–शिशु चिसोको कष्ट भोग्न बाध्य छन् । दलित बस्तीका अधिकांशको जाडो काट्ने मेलो भनेकै पराल र घुर (आगो) को सहारा हो । अधिकांश ज्याला मजदुरीमा काम गर्छन् । जाडो लाग्नासाथ गुइँठा र पराल बालेर रात काट्ने चलन छ ।


शिशुलाई ‘कोल्ड डायरिया’

कठ्यांग्रिँदो जाडोका कारण सर्लाही, हरिपुर नगरपालिका–४ की नीतुदेवी चिसो कोठामै थिइन् । मंगलबार पारिलो घाम लागेपछि भने १० दिने छोरो च्यापेर आँगनमा निस्किइन् । चिसोबाट आफूसहित बच्चालाई नजोगाए ज्वरो, निमोनिया, दमको समस्या आइलाग्ने चिन्ता उनमा छ । त्यसकारण चिसोबाट जोगिन हरसम्भव प्रयास गरिरहेकी छन् । बाँसले बुनेको डालामा पराल र त्यसमाथि राखिएको मोटो कपडामा छोरोलाई राख्ने गर्छिन् । ‘दुई हप्ताको शीतलहर त झेलियो, अझै आधा पुस र माघ महिना बाँकी छ,’ नीतुले भनिन्, ‘के गर्दा यो दुई महिना कट्छ, थाहा छैन ।’


दलित तथा विपन्न परिवारका सुत्केरीले पोसिलो खानेकुरासमेत पाएका छैनन् । वीरगन्ज हेल्थ केयरका सञ्चालक डा. अबुलेश अन्सारीका अनुसार सुत्केरी र बच्चालाई जाडोबाट जोगाउन तातोपानी र झोल पदार्थ पर्याप्त दिनुपर्छ । प्रदेश अस्पताल जनकपुरका स्त्रीरोग विशेषज्ञ डा. रामनरेश पण्डित जाडोका कारण गर्भवतीमा श्वासप्रश्वास, छाती र पिसाबको संक्रमण र उच्च रक्तचापलगायतका रोगको सम्भावना बढी हुन्छ । ‘जाडोमा पानी थोरै खाने बानीले पिसाबको संक्रमण बढ्छ । रक्तचाप बढेर मूर्छा पर्ने सम्भावना पनि हुन्छ,’ डा. पण्डितले भने । प्रदेश अस्पताल जनकपुरमा प्रसूति गराउन आउने महिलामा यो समस्या बढी देखिएको उनले बताए ।


जाडोले नवजात शिशुलाई झनै असर परेको बालरोग विशेषज्ञ जामुनप्रसाद सिंह बताउँछन् । अहिले जाँच गराउन आउने एक सय शिशुमध्ये ६० जनामा जाडोजन्य रोग देखिएको उनको भनाइ छ । जाडोका कारण नवजात शिशुमा हाइपोथर्मिया, अलि ठूला बच्चामा कोल्ड डायरियाको समस्या देखिएको छ । जाडोजन्य रोगबाट जोगिन शरीरलाई न्यानो बनाइराख्न तथा तातो खानेकुरा मात्र खान उनी सल्लाह दिन्छन् । फलामको तगारीमा आगो बालेर सुत्केरी र नवजात शिशु बस्ने कोठालाई न्यानो बनाउने पुरानै शैली तराईमा अझै कायम छ । कोठाभित्र आगो बाल्दा धूवाँले बच्चाको श्वासप्रश्वासमा समस्या आउने जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए । हिटर वा वार्मर राखेर सुत्केरी राख्ने कोठा न्यानो पार्नुपर्ने उनको सुझाव छ । तर, निम्न वर्गीय परिवारमा यो सम्भव छैन । सप्तरीमा कुल २७ वटा बर्थिङ सेन्टर भए पनि १८ वटा मात्र सञ्चालनमा छन् । तालिम प्राप्त दक्ष प्रसूतिकर्मीको अभावमा ९ वटा बर्थिङ सेन्टर बन्द छन् ।


बर्थिङ सेन्टरमा प्रसूति गराउन आउँदा यातायात खर्चबापत एक हजार र न्यानो झोला भने अनिवार्य दिनुपर्ने स्वास्थ्य प्रमुख यादवले बताए । ‘न्यानो झोलाभित्र आमा र बच्चालाई न्यानो पार्ने केही लुगा रहन्छन्,’ उनले भने, ‘त्यसले केही हदसम्म न्यानोपनको महसुस गराउन सक्छ ।’ बच्चा जन्मिँदा २४ घण्टासम्म बाहिरी वातावरण पचाउन लाग्ने भएकाले बर्थिङ सेन्टरमै उपयुक्त तापक्रम मिलाउने उपकरण आवश्यक पर्ने उनको भनाइ छ ।


अवधेश झा (सप्तरी), भरत जर्घामगर (सिरहा), श्यामसुन्दर शशि (जनकपुर), ओमप्रकाश ठाकुर (सर्लाही), शिव पुरी (रौतहट), लक्ष्मी साह (बारा) र भूषण यादव (पर्सा)

प्रकाशित : पुस १६, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?