बम्जनका अनुयायीद्वारा अरूका धार्मिक गतिविधिमा रोक

लक्ष्मी साह

(बारा) — विवादित ‘तपस्वी’ रामबहादुर बम्जनका अनुयायीले उनको जन्मथलो वरपर अरू धार्मिक गतिविधिमा रोक लगाउँदै अटेर गरे भौतिक आक्रमण गर्ने धम्की दिएका छन् । बम्जनको जन्मस्थलमा निर्माणाधीन बौद्ध गुम्बाको काम पनि उनीहरूले रोकेका छन् । बम्जनको जन्मथलो निजगढ नगरपालिका–१२ रतनपुरीको बुङ्जोर गाउँमा पर्छ । निर्माणाधीन गुम्बा त्यहाँबाट दुई किमिको दूरीमा छ ।

बम्जनका अनुयायीद्वारा अरूका धार्मिक गतिविधिमा रोक

‘उहाँ (रामबहादुर बम्जन) को मैत्रीय धर्मबाहेक अन्य धर्मको कुनै पनि गतिविधि नगर्न अनुयायीले उर्दी जारी गरेका छन्,’ गुम्बा निर्माण समितिका अध्यक्ष वीरबहादुर थिङले भने, ‘गुम्बा बनाउनेलाई हातखुट्टा भाँचिदिने धम्की आएको छ ।’ उक्त धम्कीपछि समितिले शान्ति सुरक्षाको माग गर्दै गुम्बा निर्माण जारी राख्ने वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय र निजगढ इलाका प्रहरी कार्यालयमा निवेदन दिएको छ ।


गुम्बा निर्माण रोक्न बम्जनका भाइसमेत सक्रिय छन् । बम्जनले सिन्धुली बोलाए पनि डरले जान नसकेको एक सदस्यले बताए । उनका अनुयायीमध्येका स्थानीय वेदबहादुर थिङले भने गुम्बा निर्माणमा रोक नलगाएको दाबी गरेका छन् । ‘जग्गाको विवादले निर्माणमा समस्या भएको हो, हामीसित त्यसको सरोकार छैन । रोक लगाएका छैनौं,’ उनले भने ।


निर्माण समितिले जिल्ला प्रशासन कार्यालयमा गत पुस ६ गते उजुरी दिएको थियो । उजुरीपछि प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जिल्ला प्रहरी कार्यालयमार्फत सम्बन्धित वडाका प्रहरी चौकीलाई पत्र काटेका छन् । निजगढ इलाका प्रहरी कार्यालयमा बम्जनका अनुयायीविरुद्ध ठाडो उजुरीसमेत आएको प्रहरी निरीक्षक विकास थपलियाले बताए ।


विवाद चर्केपछि गाउँमै विवाद समाधानको प्रयास भइरहेको बारे वडाध्यक्ष ज्ञानबहादुर गोलेले आफूलाई जानकारी दिएको प्रहरी निरीक्षक थापा बताउँछन् ।


गुम्बा निर्माणको काम तीन महिनादेखि रोकिएको छ । चुरेसँगै जोडिएको ६ कट्ठा ऐलानी जग्गामा गुम्बा निर्माण भइरहेको हो । वडा कार्यालयले गुम्बा निर्माणका लागि पाँच लाख रकम उपलब्ध गराएको छ । पूजाका लागि टहरा बनाउन खोज्दा बम्जन र उनका अनुयायीले निर्माणमा रोक लगाएको समितिका अध्यक्ष थिङको भनाइ छ ।

प्रकाशित : पुस १६, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?