ताप्लेजुङको सुकुटी, हिलेको तोङ्बा

वर्षैभरि चिसो रहने हिलेमा जसरी तोङ्बाको व्यापार सदावहार छ, ताप्लेजुङमा सुकुटीको ख्याति बेग्लै छ ।

धनकुटा, ताप्लेजुङ — राजेशपायल राईको स्वरमा गुन्जिने-

ताप्लेजुङको सुकुटी, हिलेको तोङ्बा

हिलेको तोङ्बा

धनकुटाको हिले, हिलेको तोङ्बा

तोङ्बाको रसैले झुमझुम बनायो

झुमझुम बनायो मलाई,

तोङ्बाको रसैले झुमझुम बनायो...


यो गीतको शब्द जस्तै हिलेको तोङ्बाले पारखीको मन तताउँछ । हिले भन्नेबित्तिकै तोङ्बाको पहिचान आउँछ भने ताप्लेजुङले सुकुटी । त्यसो त हिलेमा सुकुटी र ताप्लेजुङमा तोङ्बा पनि पाइन्छन् । यी दुई चिजको संयोजन भयो भने पारखीको मन फुरुङ्ग हुन्छ ।


हिलेमा चार पुस्तादेखि तोङ्बा र ताप्लेजुङमा तीन पुस्तादेखि सुकुटी बन्न थालेको हो । हिले पुग्नेबित्तिकै तोङ्बाको सालिकले स्वागत गर्छ । यहाँको पहिचान नै तोङ्बाको सालिकले दिन्छ । धनकुटा सदरमुकामबाट १३ किमि उत्तरस्थित हिले बजार करिब १९ सय मिटर उचाइमा छ । बाह्रैमास चिसो हुने यो ठाउँमा पुग्दा घुमन्ते प्राकृतिक सुन्दरतामा रमाउनुका साथै तोङ्बा र सुकुटीको स्वाद लिन्छन् ।


तोङ्बाको आकर्षण भएकाले सानाठूला होटलमा अनिवार्य रहेको स्थानीय होटल व्यवसायी पेम्बा लामा बताउँछन् । ‘हामीले चार पुस्तादेखि तोङ्बा बनाउँदै आएका छौं,’ उनी भन्छन्, ‘घुम्न आउनेले अगाडि नै फोन गरेर तोङ्बा अर्डर गर्छन् । तोङ्बासँगै सुकुटी नभए मज्जा हुँदैन ।’


उता ताप्लेजुङ कतिपय स्थानीय तरकारीमा सुकुटी नभए भान्सा चल्दैन । फुङलिङ नगरपालिका–४ जौबारीकी कमला राजभण्डारी श्रेष्ठ हरेक तरकारीमा सुकुटी मिसाउँछिन् । ‘तरकारीमा सुकुटी नमिसाए के नपुगे जस्तो हुन्छ,’ उनले भनिन् । बाहिरबाट त्यहाँ जानेहरूको मनमा सुकुटी बस्ने नै भयो ।


हिले पुग्दा बजारको मुख्य चोकमा सजिएको एक अग्लो वृत्ताकार भाँडो पर्यटकको स्वागतमा उभिएको छ । यही सालिकले आगन्तुकलाई तोङ्बाको विशेष क्षेत्र भनेर बुझाउँछ । स्थानीय प्रयासमा तोङ्बाको २२ फिट अग्लो र ४ मिटर गोलाइ आकारको सालिक बनाइएको हो । तोङ्बा हिलेमा मुख्य पेय पदार्थका रूपमा स्थापित भएको होटल व्यवसायी तथा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लालचन गोङ्बा बताउँछन् ।


स्थानीय को प्रयासमा करिब १० लाखको लागतमा निर्माण गरिएको तोङ्बा पार्कलाई हिलेको मौलिकतासँग गाँस्न खोजिएको निर्माण समिति उपाध्यक्ष राम तामाङले बताए । ‘तोङ्बाले यहाँको मौलिकता झल्काउने भएकाले सालिक बनाइएको हो,’ उनले भने ।


हिले पुग्ने अधिकांशले बजारको पुछारमा सजिएको तोङ्बाको आकर्षक भाँडोमा सेल्फी खिचेर पुगेको सन्तुष्टि लिन्छन् । काठमाडौंबाट परिवारसाथ त्यहाँ पुगेका सुजल महर्जनले तोङ्बा पिउँदा जस्तै सेल्फी खिच्दा आनन्द महसुस भएको बताए । तोङ्बा यहाँ सदावहार भएकाले ग्राहकहरू यसको स्वाद लिन जाने गरेका छन् । हिलेमा तोङ्बा बेच्ने साना–ठूला करिब ५० होटल छन् । मज्जाले तोङ्बाको स्वाद लिने हो भने कम्तीमा एक घण्टाको समय लिनैपर्ने व्यवसायी बताउँछन् । हरेक दिन हिलेका होटलमा तोङ्बा र सुकुटी खानेको भीड हुने स्थानीय मञ्जु तामाङ बताउँछिन् । तोङ्बालाई तातो पानीमा भिजाएर कम्तीमा चार पटकसम्म स्वाद लिन सकिने पेम्बा लामाले बताए । होटलैपिच्छे फरक दर छ । डेढ सयदेखि तीन सयसम्म यसको मूल्य छ ।


तोङ्बा बनाउन कोदो प्रयोग गरिन्छ । कोदो भने यो क्षेत्रमा खेती हुन छाडेको छ । ‘सबै बाहिरबाटै आउँछ, यहाँ फल्दैन,’ व्यवसायी पेम्बाले भने ।


हिलेको तोङ्बा प्रसिद्धिबारे व्यवसायी ऊबेलाका राजाका कुरा गर्छन् । क्षेत्रीय भ्रमणका क्रममा एक महिनासम्म राजा वीरेन्द्र धनकुटा बस्थे । एक दिन हिलेको एउटा होटलमा तोङ्बा पिउन पुगे । बसेर पिउँदापिउँदै स्थानीयसँग निकैबेर नाचेको स्थानीय वृद्धहरू सुनाउँछन् ।


कसरी बन्छ तोङ्बा ?

सुरुमा कोदोलाई पकाइन्छ । जंगली जडीबुटीबाट तयार पारिएको मर्चा मिसाएर केही दिन गुम्स्याइन्छ । स्थानीयले यो अवस्थालाई ‘ओथारा राखिनु’ भन्छन् । जडीबुटी मिसाइएको मर्चा चामलको पिठोमा मिसाएर सुकाइन्छ । मर्चा मिसाएर तयार भएपछि कोदोलाई कलात्मक भाँडामा राखेर तातोपानीले ढड्याउने गरिन्छ ।


पापुङमा भोजमा तोङ्वा खाने तयारी गर्दै स्थानीय

यसरी तयार भएको सेतो रङको झोललाई सुइरोले तान्दै स्वाद लिइन्छ । यो मादक पदार्थ हो तर रक्सी जति नशा नदिने भएकाले पारखीले हलुका पेय पदार्थका रूपमा लिन्छन् । तोङ्बा खान हिले र आसपासका होटलमा काठको भाँडामा पित्तल र तामाले बेरेर कलात्मक भाँडो प्रयोग गरिन्छ । सालिक पनि तिनै भाँडालाई प्रतीक मानेर बनाइएको छ ।


वृद्धवृद्धाका अनुसार खासगरी धरान, धनकुटा सडक नहुँदा भरियाको भरमा नुन र खाद्यान्न बोकेर भोजपुर, तेह्रथुम, संखुवासभा, ताप्लेजुङलगायत जिल्लामा लैजाने क्रममा हिलेको बाटो प्रयोग हुन्थ्यो । यही क्रममा लेकाली भेक भएकाले जाडो छल्न जाँड र यसपछि तोङ्बाको प्रयोग हुने गरेको स्थानीय दोर्जे लामाको भनाइ छ । हिजोआज दैनिक २० पाथी (एक मुरी) कोदोको तोङ्बा खपत हुने हिलेका होटल व्यवसायी खगेन्द्र विष्ट बताउँछन् । एक पाथीमा एक माना वा एक कुरुवा मापन गरिन्छ । हिलेमा कोदोको मूल्य प्रतिकुरुवा ५० देखि ६० रुपैयाँमा खरिद–बिक्री हुन्छ ।

हिले आफैंमा व्यापारिक केन्द्र भएकाले अन्यसँगै तोङ्बाको कारोबार पनि फस्टाएको उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेको भनाइ छ । बिदाका दिन धनकुटा बाहिरका जिल्ला र भारतबाट समेत हिलेको तोङ्बा पिउन धाउनेको लर्को उल्लेख्य हुने गरेको छ ।

घरघरमा सुकुटी

प्रदेश १ का सांसद प्रतापप्रकाश हाङ्गाम सुकुटीका पारखी हुन् । घरमा एकदुई टुक्रा नभई उनलाई चित्तै बुझ्दैन । उनी सुकुटीको पारखी बनेको उहिल्यै हो, राजनीति सुरु गर्दाताका । सुरु–सुरुमा सुकुटी खुवाउन उनलाई नेता विष्णु मादेनले सिदिङ्वा गाउँपालिकाको मेहेलेसम्म लिएर जान्थे । तत्कालीन जिल्ला पञ्चायत सभापति श्रीप्रसाद भण्डारीको घरमा सुकुटी खान्थे । सिकार खेल्न पाइने त्यो समयमा आफ्ना साथीलाई खुवाउन भण्डारीले केही न केही जोहो गरेका हुन्थे । अचेल उनको रोजाइ राँगाको सुकुटी हो ।


माइतीमै स्वाद लिए पनि घरमा आएपछि मात्रै पकाउन जानेकी फुङलिङ–४ जौबारीकी कमला राजभण्डारी श्रेष्ठ हरेक तरकारीमा सुकुटी मिसाउँछिन् । पहिला/पहिला सुकुटी मात्रै खाने चलन भए पनि पछिल्ला वर्ष उनले सबै प्रकारका तरकारी पकाउँदा सुकुटी मिसाउन थालेकी हुन् । टमाटर जस्तो दुई/चार टुक्रा मिसाउँदा त्यसले तरकारीमा फरक स्वाद दिने गरेको छ । दक्षिण कोरियामा रहेका ज्वाइँ र काठमाडौंमा भएकी छोरीलाई कोसेली उनी राँगाको सुकुटी नै पठाउँछिन् । लामो समय रहने र स्वादिलो हुने भएकाले अरूको तुलनामा सुकुटी नै पठाउने कमला बताउँछिन् ।


भान्सामा होस् या कोसेली सुकुटीको सबैभन्दा बढी प्रयोग भने तोङ्बासँग हुने गरेको छ । तातोपानी हाल्दै लामो समयसम्म बसेर पिइने तोङ्बा भन्नासाथ सितनमा सुकुटी नै अघि आउँछ । पिरोपिरो पारेर बनाएको सुकुटी ग्राहकले जिब्रो फड्कारेर खाने गरेको रेडपाण्डा होटलका सञ्चालक किपा शेर्पा बताउँछिन् । ‘तोङ्बा खान आउने हरेकले पहिला सुकुटी छ कि छैन भनेर सोध्छन्,’ उनले थपिन्, ‘छ भनेपछि बल्ल तोङ्वा भिजाउनका लागि अर्डर दिन्छन् ।’

‘तोङ्बा र सुकुटी खानेहरूका लागि पिपाबाट तोङ्बा तानेपछि सुकुटीको स्वाद लिने तिर्सना हुन्छ,’ मैवाखोला गाउँपालिका–५ फाकुम्बाका मात्रिका शेर्पाले भने, ‘त्यो तानिसकेपछि आनन्द हुन्छ ।’


मात्रिकाको बुझाइमा समाज किनिमाको स्वादपछि सुकुटीतिर गएको हो । पहिला गाउँमा किनिमा खाने चलन थियो । किनिमा भटमास, सिमीको बनाइन्छ । भटमास र सिमीलाई उसिनेर भाँडामा हालिन्छ र केही दिन गुम्स्याएर राखिन्छ । त्यहाँबाट निकालेपछि त्यसलाई नुन र खोर्सानी लगाएर सितनका रूपमा प्रयोग गरिन्छ । सुकुटीले यसलाई विस्थापित जस्तै बनाएको उनले सुनाए । आदिवासी जनजाति समुदायमा मासुको प्रयोगबाट सुकुटीको विकास भएको प्रतापको बुझाइ छ । ‘दसैंतिहारमा हाम्रो जातिमा धेरै मासु खाने चलन छ,’ प्रतापले थपे, ‘उब्रिएको मासु लामो समयसम्म राख्न र उपयोगमा ल्याउन यसको सुरुवाती भएको हुनुपर्छ ।’ ज्वाइँ–चेला पाहुना आउँदा मासु अनिवार्य खुवाउनुपर्ने चलन पनि छ । अरू मासु नभए पाहुनालाई कुखुरा काटेर ख्वाइन्छ । कतिपयले कुखुरा पनि नखाने र खसी, बोका काट्ता खर्चिलो हुने, मासु पूरै खपत नहुने भएपछि सुकुटी बनाएर राख्न थालेका हुन् ।


सुकाएको फल मासु

आफैंले सुकुटी बनाउने कमला राजभण्डारीका अनुसार फल मासु उत्तम हुन्छ । यसमा छाला र हड्डी हुँदैन । मासुको झुत्ताबाट काटेर स–सानो त्यान्द्रो बनाइन्छ । त्यसलाई नाङ्लो वा चाल्नोमा राखिन्छ र अँगेनाको भारमा सुकाइन्छ । अँगेनामा भने राम्रो कोइला हुने दाउरा बाल्नुपर्छ । धूवाँ आउनु हुँदैन र आगोको रापमात्रै निस्कनुपर्छ । त्यही रापले आलो मासो सुक्दै गएर सुकुटी बन्छ ।


‘मैले हतारमा एकै दिनमा सुक्ने गरी पनि सुकाएँ, दुई/तीन दिन लगाएर पनि सुकाएँ,’ उनले भनिन्, ‘तीन दिन लगाएर सुकाएको राम्रो हुन्छ ।’ सुकाएको तीन महिनासम्ममा खाए राम्रो हुने उनको भनाइ छ । ६ महिनासम्म राखेर पनि खान सकिने सुकुटीको तीन महिनापछि भने स्वाद कम हुँदै जाने उनले बताइन् ।


सुकुटी पकाउँदा पहिला तेल वा घिउ हालिन्छ । त्यसमा मसला पड्काइन्छ र सुकुटी हालेर भुटिन्छ । त्यसमा प्याज, टिमुर, टमटरलगायतका वस्तु लगाइन्छ । स्वाद ग्राहकको रोजाइमा भर पर्छ । किपाका अनुसार कतिपयले खरिएको खाने भन्छन् । यसका लागि निकैबेर भुट्नुपर्छ । अलि गिलो खानेका लागि पानी हालेर पकाइन्छ । हरेकको रोजाइ सुकुटीमा अकबरे खोर्सानी हुन्छ । पिरोको स्वाद आए धेरैले जिब्रो पड्काउने गरेको विक्रेता बताउँछन् । यसमा टिमुर पनि मिसाएपछि स्वाद बेग्लै बन्छ ।


१० किलो आलो मासुबाट ३ किलोसम्म सुकुटी बन्ने गरेको छ । ताप्लेजुङ कोसेली घरका सञ्चालक ललित गुरुङका अनुसार राँगाको सुकुटी प्रतिकिलो २ हजार रुपैयाँ पर्छ । गाउँघरमा अलि सस्तो पनि पाइन्छ । तर सुकुटी बनाएर बेच्नेहरूको संख्या भने कम छ । ताप्लेजुङ सदरमुकाममा मात्रै वार्षिक सात सय केजी सुकुटी खपत हुने स्थानीय मासु व्यवसायी प्रकाश लामाले बताए । स्थानीयले घरघरमा आफैं बनाउने सुकुटीको परिमाण पनि उल्लेख्य हुने गरेको छ । घरमा बनाउनेहरूले व्यावसायिक रूपमा किनबेच गर्दैनन् । परिवार भेला हुँदा खाने र कोसेलीमा आफन्तलाई पठाउँछन् ।

प्रकाशित : पुस १६, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?