कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अतिक्रमणमा परेको भूमि समेटेर तत्काल नक्सा प्रकाशन गर्न सरकारलाई निर्देशन

नक्सा प्रकाशन गरी शिक्षण संस्था, कूटनीतिक नियोग र सरकारी कार्यालयमा राख्न सरकारलाई निर्देशन दिएको छ । 
जयसिंह महरा

काठमाडौँ — संघीय संसदको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले अतिक्रमणमा परेका नेपालका भूमि समेटेर तत्काल नक्सा प्रकाशन गरी शिक्षण संस्था, कूटनीतिक नियोग र सरकारी कार्यालयमा राख्न सरकारलाई निर्देशन दिएको छ । 

अतिक्रमणमा परेको भूमि समेटेर तत्काल नक्सा प्रकाशन गर्न सरकारलाई निर्देशन

मंगलबार बसेको समितिको बैठकले अतिक्रमित भूमि समेटेर सरकारलाई नयाँ नक्सा प्रकाशन गर्न निर्देशन दिएको हो ।


सभापति निरुदेवी जैरुको अनुमतिमा समिति सदस्य भिम रावलले निर्देशन पढेर सुनाएका थिए । यस्तै, दार्चुलाको खलंगाबाट कालापानीसम्म पुग्ने गोरेटो बाटो तत्काल निर्माण सम्पन्न गरी थप निर्माणलाई प्राथमिकता दिन पनि सरकारलाई निर्देशन दिएको छ । अतिक्रमणमा परेका भूमिमा रहेका जनताको एकीकृत सेवा सुविधा दिन पनि निर्देशन दिएको छ ।


समितिले भारतसँगको सीमाना कालापानीमा सुविधायुक्त प्रहरी चौकी निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ । यसका लागि सम्बन्धित मन्त्रालयलाई भूमि र बजेट उपलब्ध गराउन निर्देशन दिएको छ । सीमा स्तम्भको वर्तमान अवस्थाबारे तथ्यांक एकीकृत गर्न र भत्किएका स्तम्भ पुर्ननिर्माण र बाँकीको संरक्षण गर्न निर्देशन दिएको छ ।


समितिले अतिक्रमणमा परेका नेपाली भूमिलाई आफ्नो नियन्त्रणमा ल्याउन राष्ट्रिय हितलाई केन्द्रमा राखी सम्बन्धित देशसँग छलफल गर्न सरकारलाई निर्देशन दिएको छ ।


समितिमा गृहमन्त्री रामबहादुर थापा,वन तथा वातवरणमन्त्री शक्ति बस्नेत,परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि,व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्याललाई बोलाइएको थियो । बैठकमा उनीहरुले मन्त्रालयसँग सम्बन्धित धारणा राखेका थिए ।

प्रकाशित : पुस १५, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?