कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भम्रण वर्षको उद्घाटन रंगशालाबाट

सुरज कुँवर

काठमाडौँ — २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको नेपाल भम्रण वर्ष २०२० अभियानको घोषणा बुधबार दिउँसो ४ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट हुने भएको छ ।

भम्रण वर्षको उद्घाटन रंगशालाबाट

भम्रण वर्ष अभियानको जिम्मेवारीमा रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल भम्रण वर्ष सचिवालय केशरमहल र भृकुटीमण्डपस्थित पर्यटन बोर्डले सोमबार आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा तीनैवटै संस्थाका पदाधिकारीले सम्पूर्ण तयारी सकिएको जनाए ।


कार्यक्रममा बोल्दै भम्रण वर्षका संयोजक व्यवसायी सुरज वैद्यले अभियानको उद्घाटनमा प्रमुख अतिथि राष्ट्रपती विद्यादेवी भण्डारी र मुख्य अतिथि प्रधानमन्त्री केपी शर्मा ओली रहने बताए । उनले भ्रमण वर्ष २०२० को शुभारम्भ राष्ट्रपति भण्डारीबाट र प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन रहने बताए ।


उनका अनुसार कार्यक्रमको शुभारम्भ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका २ हजार २० जना सिपाहीको संयुक्त अर्केष्ट्राले राष्ट्रिय गानबाट गर्नेछन् । कलाकार राजेश हमालले रंगशालामा उपस्थित सबैलाई स्वागत गर्दै नेपालले भम्रण वर्ष आयोजना गरिनुको उद्देश्यबारे भन्ने छन् । उनी लगत्तै सांगितिक समूह कुटुम्बले नेपाली धुन बजाउने छ । जसमा १ सय ८ सारंगीवाद्यक, १ सय ८ जना बासुरीवाद्यक र १ सय ८ जनाले अन्य सहायक बाजा बजाई नेपाली धुन प्रस्तुत गर्नेछन् । कुटुम्बको धुनमा पर्यटनसँग सम्बन्धी संघ संस्थाको मार्चपास हुनेछ । तर, कतिवटा संस्था हुनेछन् भन्नेबारे सचिवालयले एकिन तथ्यांक सार्वजनिक गरिसकेको छैन । मार्चपास र परेड लगत्तै संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत मन्तव्य राख्दै भम्रण वर्षको भाइबरमा बनाइएको स्टीकर स्मार्टफोनबाट सार्वजनिक गर्नेछन् । लगत्तै रंगशालामा राखिएका डिजिटल डिसप्लेबाट सबै दलका प्रमुख नेताहरुले भम्रण वर्ष अभियान प्रर्वद्धनकालागि जनाएको प्रतिवद्धतासहितको छोटो डकुमेन्ट्री देखाइने छ । यसपछि नेपाल सरकारको निम्तोमा आइपुगेका चारवटा मुलुकका पर्यटन मन्त्रीसहित सात जना अतिथिकाले शुभकामना मन्तव्य व्यक्त गर्नेछन् ।

यसैबिच सचिवालयले सातवटै प्रदेशबाट आगोको ज्वाला झिकाएको छ । उक्त ज्वालालाई एकताको प्रतिक भनिएको छ । यसअघि नेपालले आयोजना गरेको पहिलो भम्रण वर्ष भिजिट नेपाल १९९८ का संयोजक कर्ण शाक्य र नेपाल टुरिजम एयर २०११ का संयोजक योगेन्द्र शाक्यले सातै प्रदेशका ज्वालालाई दुईटा बनाउँदै हालका भम्रण वर्ष संयोजक सुरज वैद्यलाई दिनेछन् । संयोजक सुरज वैद्यले ती दुवैलाई एउटै ज्वाला बनाउँदै राष्ट्रपती विद्यादेवी भण्डारीलाई दिनेछन् । राष्ट्रपती भण्डारीले रंगशालामा राखिएको अर्को ज्वाला बाल्ने कार्यक्रम तय भएको छ । यो भइरहँदा नेपाली सेनाका हेलिकप्टर रंगशालामाथिको आकासमा नेपाली झन्डा र भम्रण वर्ष २०२० को झन्डा फहराउदै उड्नेछन् । ८ वटा ठूला बेलुन उडाइएपछि समारोहको विधिवत सुरुवात भएको मानिनेछ ।


समारोहमा राष्ट्रपती भण्डारीले संगीतकार महेश खड्काले रचना गरेको तथा दर्जनौं कलाकारले स्वर भरेको भम्रण वर्षबारेको गीत सार्वजनिक गर्नेछन् । यसपछि प्रधानमन्त्री ओलीले भम्रण वर्षको औपचारिक शुभारम्भ गर्दै उद्घाटन मन्तव्य दिने छन् । सचिवालयले बनाएको भम्रण वर्षसँग सम्बन्धित यतिको (मस्कट) आकृति भएको मुर्ती प्रधानमन्त्री ओलीले अनावरण गर्नेछन् । प्रधानमन्त्री ओलीले बोल्दै गर्दा उक्त यतिको आकृति डिस्प्लेबाट पहिले देखाइनेछ ।

त्यसपछी सांस्कृतिक कार्यक्रम राखिएको छ । जसमा नेपाली सेना, प्रहरी र शसस्त्रका कलाकार हुनेछन् । त्यस्तै दर्जनौं कलाकारले ‘नेपाल हेर्न आउ’ बोलको गित पनि गाउने छन् । ७ बजेभित्र सम्पन्न गरिने कार्यक्रमको समापन पर्यटन सचिव केदारबहादुर अधिकारीले गर्नेछन् । संयोजक वैद्यले हालै सम्पन्न साग खेलुकदको उद्घाटनलाई आधार मान्दै उक्त कार्यक्रमको तुलनामा अझ उत्कृष्ट बनाइने प्रतिवद्धता जनाए । यसपटक रंगशालाको फुटबल मैदानको पूर्वी चउरमा स्टेज राखिने छ । दर्शक तथा अतिथि प्याराफिटमा मात्रै रहनेछन् । कार्यक्रमको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ । सचिवालयले मंगलबार रिहर्सलको कार्यक्रम राखेको छ ।


यसैबीच पर्यटनमन्त्री भट्टराईले भम्रण वर्ष २०२० लाई प्रस्थान बिन्दु मानिएको बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘२०२० देखि २०३० लाई पर्यटन दशकको रुपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौं ।’ उनले नेपालको अर्थतन्त्रमा प्रमुख आधार पर्यटनलाई बनाउने सरकारको योजना अनुरुप आयोजना हुन लागेको यो अभियानले नेपाल स्थायी शान्ति, स्थिरता र समृद्धिको बाटोतर्फ लागेको संदेश पनि विश्वसमक्ष दिने बताए । त्यस्तै उनले कुल ग्राहस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान रहेको पर्यटनबाट नेपालले १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखेको पनि भने ।


सरकारले नेपाल भ्रमर्ण वर्षको शुभारम्भको दिन सबैलाई देशभरी दिपावली गरेर स्वागत गर्न अपिल गरेको छ । त्यसदिन विदेशस्थित कुटनीतिक नियोगका कार्यालयहरुमा पनि दिपावली हुने मन्त्री भट्टराईले बताए । ‘त्यो दिपावली, त्यो उज्यालोले हाम्रो नयाँ यात्राको संकेत गर्नेछ,’ मन्त्रीले भने, ‘अबको हाम्रो यात्रा उज्यालै उज्यालोतिर उन्मुख छ । म आम जनसमुदायलाई अपिल गर्न चाहन्छु, त्यो दिन सबैले दिपावली गरौं । र, दुनियाँलाई भनौं, अबको हाम्रो यात्रा उज्यालोतर्फ अघि बढेको छ ।’


यो अभियान घोषणा गर्ने मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनमा मृत्यु भएपछि आफूबीचमा आएको बताउँदै उनले भने, ‘म साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयको जिम्मेवारीमा आए । त्यसयताका अधिकांश मेरो समय यही भ्रमण वर्षको तयारीमा खर्चिएँ ।’ यसबीचमा मन्त्रीले अनेकौं छलफल र बैठकहरु गरेको बताउँदै करिब १ सयभन्दा बढी संघ–संस्था, सरकारी तथा सरोकारवाला निकायहरुसँग छलफल गरेको स्मरण गरे ।

प्रकाशित : पुस १४, २०७६ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?