न्यातपोल मन्दिर जीर्णोद्धार सुरु

काठमाडौँ — भक्तपुर नगरपालिकाले प्रसिद्ध न्यातपोल (पाँचतले मन्दिर) को जीर्णोद्धार थालेको छ । ०७२ वैशाखको भूकम्पको धक्काले क्षति पुगेको विश्व सम्पदामा सूचीकृत न्यातपोल मन्दिरको जीर्णोद्धार नगरपालिकाले झन्डै साढे ४ वर्षपछि थालेको हो । भूकम्पको धक्काले मन्दिरको माथिल्लो तलामा क्षति पुगेको नगरपालिकाका योजना तथा सम्पदा शाखा प्रमुख इन्जिनियर रामगोविन्द श्रेष्ठले बताए । 

न्यातपोल मन्दिर जीर्णोद्धार सुरु
न्यातपोल मन्दिर जीर्णोद्धार सुरु

विसं १९९० सालको भूकम्पमा पनि मन्दिरको माथिल्लो तला मै क्षति पुगेको थियो । यसअघि न्यातपोल मन्दिर राजा महेन्द्र विरविक्रम शाहले विसं २०१९ मा र नगरपालिकाले विसं २०५६ मा जीर्णोद्वार गरेको थियो । भक्तपुर नगरको पाँचौ नगरसभाबाट निर्णय गरी ६५ लाख १३ हजार ३ सय ५८ रुपैयाँको लागत इस्टिमेट तयार गरी न्यातपोल मन्दिरको जीर्णोद्धार थालेको जनाएको छ । नगरपालिकाका अनुसार अघिल्लो आर्थिक वर्ष नै न्यातपोल मन्दिर जीर्णोद्धार गर्ने निर्णय गरेपनि टौमढी क्षेत्रकै भैरवनाथ मन्दिर संरक्षणका कारण एकवर्ष ढिला भएको हो । गत वर्ष ५७ लाख ४४ हजार दुई सय ४२ रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । 

न्यातपोल मन्दिर जीर्णोद्धार सुरु

नगरपालिकाका अनुसार केशव तमखुको मन्दिर संरक्षण तथा जीर्णोद्वार उपभोक्ता समितिले न्यातपोल मन्दिर जीर्णोद्धार चालु आर्थिक वर्ष ०७६/७७ असार मसान्तभित्र सक्ने लक्ष्य छ । मन्दिरको माथिल्लो तलामात्रै मर्मत गरिने भए पनि खट बाँध्ने क्रममा बाँकी चारैतलाको छानाको झिंगटी झिक्नुपर्ने भएकाले बढी समय लाग्ने इन्जिनियर श्रेष्ठले बताए । जीर्णोद्धारको क्रममा भूकम्पले पूरै मन्दिरलाई हल्लाएकाले बाँकी छानासमेत मर्मत गरिने भएको छ । भूकम्पको धक्काले मन्दिर छाएको झिंगटी छुट्टिएको छ । झिंगटी छुट्टिएर छानाबाट पानी चुहिएको छ ।  

न्यातपोल मन्दिर जीर्णोद्धार सुरु

इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार न्यातपोल मन्दिर नेपाल संवत् ८२२ मा भूपतीन्द्र मल्लले बनाएका हुन् । १०८ फिट अर्थात् ३३ दशमलव २३ मिटर अग्लो मन्दिर वास्तुतन्त्र विधि अनुरुप बनेको छ । मन्दिरको गर्भस्थानमा बेताल, भैरव र रुद्रासन गरेकी सिद्विलक्ष्मी देवीको मूर्ति (माथि एक मुख, त्यसमुनि तीन मुख, त्यसमुनि पाँच मुख गरी नौ मुख र १६ हात भएको) प्रतिस्थापन गरिएको छ । श्रेष्ठका अनुसार न्यातपोल मन्दिरको निर्माणकार्य नेपाल संवत् ८२२ पुस कृष्ण त्रयोदशी बुधबारको दिनबाट आरम्भ भएको प्रमाण सिद्धाग्नि कोट्याहुति देवल प्रतिष्ठा लगत–ग्रन्थको पत्रांक १ ख बाट प्रस्ट हुन्छ । मन्दिरको टुप्पोको गजुर पूर्णताको प्रतीक समेत मानिन्छ । मन्दिर निर्माण सकेर नेपाल संवत् ८२२ आिर सुदि १ मा टुप्पोमा गजुर राखेको प्रमाण फेला परेको इतिहासविद् श्रेष्ठले बताए । 

न्यातपोल मन्दिर जीर्णोद्धार सुरु

भूपतीन्द्र मल्ल र जनताको एकीकृत शक्तिले मिलेर काम गर्दा पाँचतले मन्दिर ६ महिनाको छोटो समयावधिमा सम्पन्न भएको उनले बताए । मन्दिर निर्माण कार्य पूरा गरी गजुर हालेको उत्सव–दिनको स्मरण गर्दै हरेक वर्षको असार सुदि १ मा पाँचतले मन्दिरको वर्षबन्धन पुजा र त्यसको भोलिपल्ट भक्तपुर तलेजुमा ब्राहृमण, जोशी र कर्माचार्यहरूद्वारा पञ्चोपचारसहितले ‘था पूजा’ (कुनै विशेष कार्य सम्पन्न भएको उपलक्ष्मा गरिने तान्त्रिक पूजाविशेष) गर्ने चलन अहिले पनि छ । न्यातपोल मन्दिर निर्माण भएको अवसरमा भूपतीन्द्र मल्लले मन्दिरकै अगाडिको ठूलो डबलीमा (तह्राँ दवु) सिद्धाग्नि कोट्याहुति यज्ञ गर्न लगाएको समेत श्रेष्ठले बताए ।

न्यातपोल मन्दिर जीर्णोद्धार सुरु


प्रकाशित : पुस १४, २०७६ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?