२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पौडेलको प्रश्न निधिलाई : हामी चाहिन्छ र ?

राष्ट्रियसभामा प्रदेश २ मा कांग्रेस र समाजवादीको तालमेल तयारी
मधुसुधन भट्टराई

काठमाडौँ — उपसभापति विमलेन्द्र निधिले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवार तय गर्न १७ पुसमा केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी सभापति शेरबहादुर देउवाले गरेकाले सहभागि हुन नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । सोमबार विहान पौडेल निवास बोहोराटारमा पुगेर उपसभापति निधिले पौडेललाई बैठकमा सहभागि हुन आग्रह गरेका हुन् ।

पौडेलको प्रश्न निधिलाई : हामी चाहिन्छ र ?

‘९ माघमा हुने तय भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश नं २ मा समाजवादी पार्टीसँग तालमेल गर्ने अनौपचारिक सहमति बनेको छ,’ पौडेललाई उपसभापति निधिले भनेका थिए ‘त्यसका लागि १७ पुसमा केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी सभापतिको छ । बैठकमा सहभागि हुन मेरो आग्रह छ ।’

निधिले पौडेललाई भेटेर त्यस्तो आग्रह गरेको भेटमा सँगै रहेका कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले बताए ।

पौडेलले भने विगतका गल्ती नसच्च्याइ देउवा पक्ष अघि बढिरहेको भन्दै यसमा पनि हामी किन चाहियो र ? भन्ने प्रश्न निधिलाई गरेका थिए । ‘गरिरहनु भएको छ, गर्दै जानुस्,’ पौडेलको भनाई उधृत गर्दै थानीले भने, ‘हामी किन चाहियो र !’

पौडेलले सभापतिले एकलौटी केन्द्रीय समिति बैठकबाट बहुमतले गरेका निर्णय नसच्याउँदासम्म आगामी बैठकमा सहभागि नहुने बताएका थिए ।

पौडेल पक्षले गत मंसिर २६ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ । अझ सभापति देउवाले केन्द्रीय कार्यसमितिको बहुमतबाट १४ महाधिवेशनको कार्यतालिका तय र पार्टीका विभाग २८ बाट बढाएर ४७ पुर्‍याउने निर्णय गरेपछि पौडेल पक्ष झन चिढिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा समाजवादीसँग तालमेलको तयारी

प्रतिपक्षी कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा प्रदेश नं २ मा समाजवादी पार्टीसँग तालमेल गर्ने भएको छ । गत पुस ८ गते मात्रै केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको समाजवादी पार्टीसँग तालमेल गर्ने तयारी कांग्रेसले गरेको हो ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस सभापति शेरबहादुर देउवाबीच तालमेल गर्ने अनौपचारिक सहमति बनेको छ । नौ मंसिरमा देउवा निवास बुढानिलकण्ठमा भएको दुई नेताबीचको बार्तामा अनौपचारिक सहमति बनेको हो ।

कांग्रेसले राष्ट्रियसभामा पार्टीका उम्मेदवार तय गर्न पुस १७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ ।

स्रोतका अनुसार देउवा र यादवबीच प्रदेश २ मा राष्ट्रियसभामा आधाआधा भाग बाँडेर तालमेल गर्ने अनौपचारिक सहमति छ । त्यहाँ ४ सिटका लागि निर्वाचन हुँदैछ ।

राष्ट्रियसभाका १८ सिटको लागि ९ माघमा निर्वाचन हुँदैछ । निर्वाचनमा प्रदेश २ मा यसअघि सत्तारुढ नेकपा र राजपाले तालमेल गर्ने सहमति गरिसकेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार दर्ता गर्नु अगाडि एक पटक केन्द्रीय कार्यसमिति बैठक बस्ने बताए । ‘उम्मेदवार दर्ता अगाडि एक पटक केन्द्रीय समिति बैठक बस्छ । कहिले बस्छ निश्चित भएको छैन्, १७ गते बस्ने सम्भावना छ,’ प्रवक्ता शर्माले भने ।

नेकपा र राजपाको गठबन्धनको प्रदेश दुईमा राष्ट्रियसभामा बुहमत पुग्छ । प्रदेशसभाका १ सय ७ सदस्यमध्ये राजपाका २५ र नेकपाका ३२ जोड्दा ५७ मत हुन्छ । स्थानीय तहका कुल २ सय ७२ मतदातामध्ये नेकपाका ८३ र राजपाका ५४ जाड्दा १ सय ३७ पुग्छ । त्यहाँ प्रदेशसभामा कांग्रेसका १९, समाजवादीका २९, संघीय समाजवादी १ र स्वतन्त्र १ सदस्य छन् । स्थानीय तहमा कांग्रेसका ७५, समाजवादीका ५२, तत्कालीन फोरम लोकतान्त्रिकका ६, जनता दलका २ जना मतदाता छन् । गोप्य मतदान भएकाले ‘क्रस भोट’ हुने सम्भावना रहने एक कांग्रेस नेता बताउँछन् । तर, सोझै हेर्दा कांग्रेस र समाजवादीले गठबन्धन गरेपछि सिट आउँदैन ।

प्रकाशित : पुस १४, २०७६ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?