१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नाबालक च्यापेर भोकै भौंतारिँदै

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका ८ दोखुकी कमला पाख्रिन सदरमुकाम फुङलिङबाट दोखु ओहोरदोहोर गर्छिन् । एउटी नाबालक च्यापेकी उनको मानसिक अवस्था असन्तुलित छ । यस्तै अवस्थामा गर्भवती भएकी उनले गत असोज २२ गते बालिकालाई जन्म दिएकी थिइन् ।

नाबालक च्यापेर भोकै भौंतारिँदै

त्यही बालिका च्यापेर हिँड्ने उनको बसाइ खोलिपाखामा रहेको माइती घरमा छ । ७५ वर्षीय बाबु र ६४ वर्षीया आमाको साथमा बसेकी उनी पाउँदा खाना खान्छिन् । नपाउँदा डाँडामा निस्कन्छिन् र गाउँभरि सुनिने गरी रुँदै बस्छिन् । कहिलेकाहीं भोकै गाउँ डुलिरहेकी हुन्छिन् ।


अढाई महिनाको सन्तान उनले पिलाउने दूधको भरमा छ । ३० वर्षको उमेरमा पाँच सन्तान जन्म दिएकी उनको दोस्रो विवाह भएको थियो । दुवै श्रीमान्ले साथ नदिएकाले बिचल्ली भएको गाउँलेले बताए ।


सन्तुलन गुमेकै अवस्थामा गर्भवती भएर जन्म दिएको सन्तान दोस्रो श्रीमान् विशाल धिमालको भएको आमाबाबु बताउँछन् । कमलालाई भने यसको हेक्का छैन । आमा धनमाया तामाङका अनुसार कमला सानोमा पढ्न अब्बल थिइन् । राम्रो पढाइ भएकाले एक जना विदेशीले उनलाई मासिक दुई सय रुपैयाँ छात्रवृत्ति दिन्थे । मेवाराजा आधारभूत विद्यालय वहानन्दे दोखुमा पढ्दापढ्दै तेह्रथुमको इवा घर भएका मदन मगरले भगाएर लगी विवाह गरेका थिए ।


१६ वर्षमै विवाह गरेकी उनले १७ वर्षमा पहिलो सन्तानलाई जन्म दिइन् । उनको जेठो छोरो सुशील मावली घरमै छन् । बर्सेनि हुँदै तीन सन्तानलाई जन्म दिएकी उनले श्रीमान्ले कुटपिट गरेको खबर माइतीमा गरिन् । पिता श्याम गएर तीन नातिनातिनासहित छोरी लिएर आए । त्यो बेला कमलाको टाउको र बायाँ कुमछेउ चोट लागेको थियो ।

भारतमा काम गर्न गएका मदनले केही वर्षपछि फर्किएर फोन गरेर ससुरालाई आफ्नो छोराछोरी लान्छु भने । ‘तिम्रो सन्तान तिम्रै खुसी’ भनेर श्यामले अनुमति दिए । उनले दुई सन्तान लगे । जेठा छोरा भने जान नमानेपछि मावलमै बसे ।


त्यही बेलादेखि कमलाको मानसिक सन्तुलन गुमेको र आफूले भारत लगेर उपचार गरेर ल्याएको मदनले सासूससुरालाई सुनाएका थिए । माइती आएपछि पनि कमलाको त्यही समस्या देखियो । त्यति बेलाको चलन र आफ्नो गच्छेअनुसार धनमायाले सुँगुर र कुखुरा बेचेर धामी लगाइन् । कामाङ कान्छो भन्ने धामी लगाउँदा केही वर्ष बिसेक भएजस्तो भयो । धनमायाका अनुसार अस्पताल नलगी धामी लगाउँदा पनि उनको झन्डै एक लाख रुपैयाँ खर्च भयो । त्यहीबेला ट्र्याक्टर चालक विशाल धिमालसँग विवाह भयो ।


झापाको बर्नेझोडा घर भएका धिमालले कमलालाई सदरमुकाममा डेरा लिएर पनि राखे । कमलाले उनको एक सन्तानलाई जन्म पनि दिइन् । तर १० महिनामै बालकको मृत्यु भयो । विशालले कमलालाई तराईको घरमा लिएर गए । तराईबाट फर्काएका विशालले एक–दुई दिनमा आउँछु भनेका थिए । गत वर्ष पुसमा एक महिना ससुरालीमै आएर बसे । त्यो बेला पनि कमलाको मानसिक अवस्था राम्रो थिएन । बेलाबेला राम्रो जस्तो हुने उनको बेलाबेला सन्तुलन गुम्थ्यो । दिनभरि कराउँदै सदरमुकाम घुम्थिन् र बेलुका घर फर्कन्थिन् । २० हजार रुपैयाँ पठाइदिन्छु भन्दै हिंडेका धिमाल त्यसपछि सम्पर्कमा छैनन् ।


‘हामी बुढाबुढी काम गर्न सक्दैनौं,’ धनमाया भन्छिन्, ‘बुढाले पाउने वृद्धभत्ताको पैसा हिटिको दोकानमा छोड्छौं चामल ल्याएर खान्छौं ।’ दाल भने आफ्नै बारीमा फलेको मस्यामले पुर्‍याउने गरेकी छन् । कहिलेकाहीं कोही बिरामी भए औषधि खाने पैसा पनि हुँदैन । छोरीलाई निको हुन्छ र आफूहरूलाई पनि रोग लाग्दैन भनेर केही व्यक्तिले भनेपछि उनी इसाई धर्ममा लागेकी छन् ।


सन्तुलन गुमाएकी कमलालाई पनि चर्चमा लिएर जान्छिन् । उनको रोग निको होस् भनेर सबैले प्रार्थना गरिदिन्छन् । उपचार गराउन अस्पताल लैजानेचाहिँ आफ्नो अवस्था नभएको धनमायाले सुनाइन् । भनिन्, ‘पाँच जनाको परिवार छौं, सुत्केरीलाई राम्ररी खुवाउने चामल त छैन, केले उपचार गर्न लैजानु र ।’

प्रकाशित : पुस १४, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?