कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दमकतिर मोडिँदै मदन भण्डारी राजमार्ग, सत्तारुढ सांसदकै विरोध

गोविन्द पोखरेल

काठमाडौँ — निर्माणाधीन मदन भण्डारी राजमार्ग प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकसँग जोड्न चलखेल भएको भन्दै सत्तारूढ दलकै सांसदले आपत्ति जनाएका छन् । उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई भेटेरै राजमार्ग चुरेको फेदी हुँदै लैजान आग्रह गरेका छन् ।

दमकतिर मोडिँदै मदन भण्डारी राजमार्ग, सत्तारुढ सांसदकै विरोध

पूर्वपश्चिम राजमार्गदेखि १७ किलोमिटर उत्तरमा मदन भण्डारी राजमार्गको रेखांकन हुनुपर्ने उनीहरूको माग छ । मोरङ क्षेत्र नम्बर १ का संघीय सांसद घनश्याम खतिवडा र प्रदेश सांसदद्वय उपेन्द्र घिमिरे र कुशल साम्बाले तोकिएभन्दा अन्यत्रबाटै सडक लैजान खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।


दमकमा निर्माणाधिन भ्यू टावरलाई लक्षित गरेर राजमार्ग त्यसतर्फ लैजाने तयारी थालिएको छ । यसका लागि लेटाङबाटै दक्षिणी क्षेत्रतर्फ सडकको रेखांकन गरिएको छ । नयाँ योजनामा लेटाङको विपी चोक, जाँतेको मदन चोक हुँदै मधुमल्ला चोक निकालेर दमकको बेलडाँगी जोड्ने तयारी छ ।

नयाँ रेखांकनमा उत्तरी क्षेत्रमा बसोबास गर्ने नागरिक र गाउँबस्तीलाई आयोजनाले समेट्न नसकेको सांसदहरूले आरोप लगाएका छन् । पुरानो योजनाअनुसार जाँतेको मलिन चोक, खोलिटार हुँदै, टाँडीको धोबेनी र मिक्लाजुङको तोरिबारी हुँदै इलामको शिखरकटेरी जोड्ने सहमति भएको सांसद लिम्बूले बताए ।


सडक दमकतिर जोड्दा करिब १० किलोमिटर क्षेत्रफलमा रुख काट्नुपर्ने प्रदेश सांसद घिमिरेले बताए । बस्ती बाइपास गरेर रुख काट्दै निर्माण गरिने सडक आफूहरुलाई मान्य नहुने उनको भनाइ छ । यस्तै, अर्का सांसद कुलप्रसाद लिम्बूले पनि दमकमा निर्माणाधीन भ्यू टावरलाई पायक पर्ने किसिमले सडक लैजान खोजिएको आरोप लगाए । चुरेको फेदीबाट नै राजमार्ग लैजानुपर्ने उनले बताए ।


दमकमा निर्माणाधीन भ्यू टावर । तस्बिरः अर्जुन राजवंशी/कान्तिपुर

संघीय सांसद खतिवडाले सकेसम्म चुरे विनाश नहुने गरी सडक लैजानुपर्नेमा जोड दिए । उनले भने, ‘चुरेको फेद र मधेसको भित्तोबाट सडक लैजानुपर्छ । यो सडक भ्यू टावरतिर जाँदैन ।’

पूर्व झापाको बाहुनडाँगीदेखि पश्चिम डडेलधुराको रुपालसम्मको १२ सय ५० किलोमिटर जोड्ने मदन भण्डारी राजमार्गको काम चरणबद्ध रुपमा भइरहेको छ ।


आयोजना प्रमुख उमेश श्रेष्ठले मोरङतर्फ कुनै विवाद नभएको दाबी गरे पनि स्थानीयले बस्ती वाइपास गरेर सडक लैजान खोजिएको भन्दै विरोध जनाइरहेका छन् । उनले चुरे विनाश हुने गरी सडकको नक्सांकन नगर्ने र केही तलबाट लैजाने सहमति भएको दाबी गरे ।


झापामा झन् विवाद

विवादकै कारण झापामा सडकको रेखांकन नै हुन सकेको छैन । प्रधानमन्त्रीको गृहनगरलाई जोड्ने गरी रेखांकन गर्न खोजिएको भन्दै अन्यत्रका उपभोक्ताले विरोध जनाएका छन् । दमक जोड्न माई नगरपालिकाबाट सडक आउने भएपछि विवाद झन् बढेको हो । नगरपालिकाको कार्यालयनजिकै पूर्वपश्चिम राजमार्गसमेत पर्छ ।


आयोजना प्रमुख श्रेष्ठका अनुसार राजमार्गको सर्भे पहिल्यै भएपनि सरकारले राष्ट्रिय आयोजनामा परेपछि विभिन्न स्थानमा विरोध भएको छ । उनले भने, ‘सकेसम्म विवादरहित ढंगले काम गर्ने पक्षमा छौं । स्थानीय सबैको सहमति भए त्यही अनुसार सडकको रेखांकन गर्नेछौं ।’


आयोजना प्रमुख श्रेष्ठले मोरङ क्षेत्रमा धेरै रुख नकाटिने दाबी पनि गरे । उनका अनुसार जंगलबाट जाने पुरानै सडकलाई राजमार्ग कायम गरिनेछ । दमकबाट लगिए पनि उक्त सडकले भ्यू टावर नछुने श्रेष्ठले प्रतिक्रिया दिए । त्यहाँभन्दा माथिबाट सडक लगिए चुरे क्षेत्र मासिने आयोजनाको दाबी छ ।


मदन भण्डारी राजमार्गको मेची महाकाली सरोकार समितिका संयोजक बृहस्पति खतिवडा उक्त राजमार्गलाई दमकमा जोड्नुपर्ने कुनै औचित्य नरहेको बताउँछन् । चुरेको भित्तामा बसोबास गर्नेहरूलाई लक्षित गरेर आयोजना ल्याइए पनि घडेरी व्यवसायीको कुरा सुनेर पूर्वपश्चिम राजमार्गको आसपासमै सडक ल्याउन खोजिएको उनको दाबी छ ।

‘पहिले चुरेको भित्तामा बस्ने मानिसहरुलाई लक्षित गरेर सडक बनाउने भन्ने अनि अहिले उनीहरुलाई वेवास्ता गरेर अन्यत्रै लैजान खोजिन्छ भने सडकको औचित्य छैन,’ उनले भने ।


सरकारले २०७५ जेठमा मदन भण्डारी राजमार्गलाई राष्ट्रिय आयोजना घोषणा गरेको थियो । पहिलो चरणमा आर्थिक वर्ष ०७५/०७६ करिब ४ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।


यो पनि पढ्नुहोस्ः

प्रधानमन्त्रीको नगरमा २५ तले भ्यु–टावर

प्रकाशित : पुस १३, २०७६ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?