३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

त्रिविमा धमाधम तीनमहिने नियुक्ति

रजिस्ट्रारमा दाहाल नियुक्त
सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिवि ऐनविपरीत विभिन्न विभाग र क्याम्पसमा तीनमहिने नियुक्ति गर्न थालेका छन् । उपकुलपति नियुक्त भएको दुई महिनाभित्रै उनले ६ भन्दा बढी पदमा नियुक्ति गरिसकेका छन् ।

त्रिविमा धमाधम तीनमहिने नियुक्ति

बाँस्कोटाले पदाधिकारीदेखि विभिन्न नियुक्तिमा भागबन्डालाई निरन्तरता दिएका छन् । भागबन्डाकै आधारमा शुक्रबार प्राध्यापक डा. पेशल दाहाललाई रजिस्ट्रार नियुक्त गरिएको छ । उपकुलपति बाँस्कोटाको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई नियुक्त गरेका हुन् । उनले शुक्रबारै पदबहाली गरेका छन् ।


त्रिवि ऐनमा उपकुलपतिले रजिस्ट्रारका लागि सम्भावितहरूको नाम कुलपतिसमक्ष सिफारिस गर्ने र तीमध्ये एक जनालाई नियुक्ति दिने प्रावधान छ । बाँस्कोटाले रजिस्ट्रारका लागि दाहाल, व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा र उच्चशिक्षा परियोजनाका पूर्वसंयोजक शंकर भण्डारीको नाम सिफारिस गरेका थिए ।


बाँस्कोटाले पोखरास्थित वन विज्ञान क्याम्पसको प्रमुखमा रामप्रसाद शर्मा र मानविकी संकायको सहायक डिनमा ताराप्रसाद भुसाललाई नियुक्त गरेका छन् । यी दुवै जनालाई तीनमहिने नियुक्ति दिइएको हो । उक्त नियुक्तिमा डिन कार्यालय र प्राध्यापकले असन्तुष्टि जनाउँदै आएका छन् ।


दुई विभाग र क्याम्पसमा पनि त्रिवि कार्यकारी परिषद्को निर्णयबिनै यस्तै नियुक्ति दिइसकिएको उपकुलपति कार्यालय निकट स्रोतले जनाएको छ । ललितकला विभागमा संगीता प्रधानलाई नियुक्ति दिइएको छ । वन विज्ञान अध्ययन संस्थानको पोखरा क्याम्पसमा डेढ वर्षदेखि रिक्त पूर्णकालीन क्याम्पस प्रमुखको नियुक्तिलाई अड्काएर पुनः ३ महिने नियुक्ति गरिएकामा प्राध्यापक संघ–संगठनले विरोध जनाएका छन् । ‘प्रमुखविहीन रहेका केही आंगिक क्याम्पसमा पनि आफू निकटलाई ३ महिने नियुक्ति दिने गृहकार्य भइरहेको छ,’ उक्त स्रोतले भन्यो, ‘भागबन्डा अन्त्य हुने कुनै संकेत देखिएको छैन ।’


पूर्वउपकुलपति तीर्थराज खनियाँले पनि अधिकांश नियुक्ति भागबन्डाकै आधारमा गरेका थिए । कार्यकालको अन्तिम समयमा खनियाँले धेरै व्यक्तिलाई तीन महिनाका लागि नियुक्त गरेका थिए ।


कात्तिक १७ मा उपकुलपति बनेलगत्तै बाँस्कोटाले नियुक्तिमा भागबन्डा अन्त्य गर्ने र गैरकानुनी नियुक्ति नगर्ने प्रतिबद्धता जनाएका थिए । उनी आफ्नो प्रतिबद्धतामा केही दिन पनि टिक्न नसकेको एक पदाधिकारीले बताए । बाँस्कोटा आफैं सत्तारूढ नेकपाभित्रको पूर्वएमाले खेमाबाट उपकुलपति बनेका हुन् । रजिस्ट्रार दाहाल पनि पूर्वएमाले निकट हुन् ।


यसअघि दुई पटकसम्म त्रिवि सेवा आयोगमा दाहाल तत्कालीन एमाले कोटामा सदस्य नियुक्त भएका थिए । बाँस्कोटा नियुक्त हुनुअघि उनी उपकुलपति बन्ने चर्चा पनि थियो तर छनोट कमिटीले उनको नाम सिफारिस गरेन ।


प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा त्रिविभित्र पदाधिकारीदेखि तल्लो तहसम्म नियुक्ति बाँड्न थालिएको एक पदाधिकारीले दाबी गरे । बाँस्कोटा राष्ट्रपति भण्डारीका निजी चिकित्सकसमेत हुन् । त्रिविका तत्कालीन रजिस्ट्रार डिल्लीराम उप्रेती र रेक्टर सुधा त्रिपाठीको कार्यकाल गत पुस ८ गते सकिएको थियो । उप्रेतीले रजिस्ट्रारमा दोहोरिने इच्छा राखेका थिए ।

प्रकाशित : पुस १२, २०७६ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?