कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सभामुख-उपसभामुखबारे नेकपामा अझै अन्योल

राजीनामाका लागि उपसभामुखको शर्त
जयसिंह महरा

काठमाडौँ — सभामुख र उपसभामुख निर्वाचनका विषयमा सत्तारुढ नेकपाभित्र अन्योल छ । सभामुख उम्मेदवार र उपसभामुख पद खाली गराउनेबारे नेकपा नेताहरूले निर्णय गर्न सकेका छैनन् ।

सभामुख-उपसभामुखबारे नेकपामा अझै अन्योल

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेका कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि सभामुख पद खाली छ । जसमा नेकपाले स्वाभाविक दाबी रहेको बताइरहेको छ । तर, कसलाई सभामुख बनाउने भन्नेबारे निर्वाचन प्रक्रिया सुरु हुन एक दिनमात्रै बाँकी रहँदा पनि यकिन भएको छैन ।

उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पनि राजीनामा नदिएकाले नेकपाको नेतृत्वलाई सभामुखबारे निर्णय गर्न असहज भएको हो ।

सभामुखको निर्वाचन प्रक्रिया शुक्रबारबाट अगाडि बढ्दैछ । बिहीबारको कार्यव्यवस्था परामर्श समिति बैठकले भोलिको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची जारी गरेको छ । जसको पहिलो नम्बरमा सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने लेखिएको छ ।

सभामुख पूर्वएमाले कि पूर्वमाओवादी ?

सभामुख कसलाई बनाउने भन्नेमा नेकपा पूर्वएमाले र पूर्वमाओवादीमा विभाजित छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वएमालेबाट सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेको उनीनिकट नेताहरूले बताउने गरेका छन् । निर्वाचन आउन लागेको र संसदका अबका बैठक झन् पेचिला बन्ने आँकलनका साथ आफूलाई काम गर्न सहज हुने भएकाले ओलीले नेम्वाङलाई पठाउन खोजेका हुन् । जसको 'ग्रिन सिग्नल' ओलीले नेम्वाङलाई दिइसकेका न् । आफू छैटौंपटक सभामुख बन्न तयार रहेको पनि नेम्वाङले यसअघि नै बताइसकेका छन् ।

नेकपा, दलहरू र संसदले उपयुक्त पात्रलाई सभामुख बनाउन् : सुवास नेम्वाङ [भिडियोसहित]

अर्का अध्यक्ष पुष्पकमल दाहालले भने आफूनिकट नेताहरूलाई पूर्वमाओवादीबाट नै सभामुख बन्ने बताउने गरेका छन् । त्यस्तो अवस्थामा अग्नी सापकोटालाई अगाडि सार्ने उनको तयारी छ । पूर्वमाओवादीका नेताहरूमा दाहालले अन्तिममा नेम्वाङका नाममा सहमति जनाउने हुन् कि भन्ने आशंका पनि छ ।

अध्यक्ष दाहालले सबै पद छोड्दै जाने हो भने संगठनको तल्लो तहसम्मका पूर्वमाओवादी कार्यकर्ताहरूमा नकरात्मक सन्देश जाने नेताहरूले चिन्ता व्यक्त गर्ने गरेका छन् । दाहालले यसअघि आफू कार्यकारी अध्यक्ष भएर ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्रीमा स्वीकार गरेका छन् ।

अध्यक्ष दाहालले सभामुख छोड्ने कुनै संकेत गर्नु भएको छैन : नेता सापकोटा

नेकपा संसदीय दलका उपनेता नेम्वाङले भने पार्टी एकीकरण भइसकेपछि पूर्वएमाले र पूर्वमाओवादी भनेर नभइ क्षमताका र आवश्यकताका आधारमा जिम्मेवारी बाँडफाट गरिने बताएका छन् । पूर्वमाओवादीका नेताहरू भने सिद्धान्तमा पार्टी एक भइसकेको भने पनि व्यवहारमा त्यस्तो नभएको तर्क गर्छन् । सभामुख प्रत्यासी अग्नी सापकोटाले पनि यो कुरा बताइसकेका छन् । संगठनको एकतादेखि मन्त्रीको जिम्मेवारी दिँदासम्म पूर्वएमाले र पूर्वमाओवादी भन्ने गरेकाले सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने उनीहरूले तर्क गर्छन् ।

सभामुख कसलाई बनाउने भन्नेबारे नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच आज साँझ बालुवाटारमा छलफल गर्ने तय भएको थियो । तर, अध्यक्ष दाहाल चितवनबाट नफर्किएकाले भोलिमात्रै छलफल हुने भएको छ ।

राजीनामाका लागि ओली-दाहालसामू उपसभामुखको शर्त

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूलाई सभामुख बनाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेकी छन् । सभामुख महराले गल्ती गरेको र त्यसको सजाय आफूलाई पनि हुन नहुने उनको तर्क छ ।

नेकपाले सभामुखमा उम्मेदवारी दिनका लागि उपसभामुख पद खाली हुनुपर्छ । तुम्बाहाङ्फे नेकपाबाट उपसभामुख भएकी हुन् । सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

उपसभामुखले राजीनामा नदिने भए नेकपाले सभामुखमा उम्मेदवारी दिन नहुने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन् । नेता लेखकले यो विषयमा नेकपाका अध्यक्ष दाहाल र उपनेता नेम्वाङसँग कुरा भएको जानकारी दिए ।

'ज्येष्ठ सदस्यले सभामुख र उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभयो र प्रक्रिया अगाडि बढाउनुभयो भने जाती हुन्छ,' लेखकले भने, 'उपसभामुखले राजीनामा नदिइ नेकपाले उम्मेदवारी दिन खोज्यो भने जटिलता उत्पन्न हुन सक्छ । सभामुखको मात्रै निर्वाचनको घोषणाले उपसभामुख छँदैछ भन्ने बुझिन्छ । त्यस्तो अवस्थामा जटिलता आउँछ ।'

अधिवेशनको पहिलो बैठक संचालनका लागि सभामुखको अनुपस्थितिमा उपसभामुखले गर्नेमा कांग्रेसले सहयोग गरेको लेखकले बताए । सभामुख निर्वाचन कार्यतालिका प्रकाशन गर्नुपहिला नै उपसभामुखले राजीनामा नगर्ने हो भने सभामखुमा दाबी गर्न नपाइले भन्ने नेकपालाई जानकारी गराइएको उनले बताए ।

महराको गल्तीमा म किन सती जाने ? : उपसभामुख तुम्बाहाङ्फे

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पनि पहिला उपसभामुख पद खाली गराएर मात्रै सभामुख को बन्ने भन्नेबारेमा छलफल हुने बताए । उनले सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको र त्यसको कार्यान्वयनका लागि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको बताए । उनले संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नेकपा बाध्यता रहेको धारणा राखे । 'उपसभामुखलाई कुन दलको मानेर उम्मेदवारी दिने भन्ने प्रश्न उठ्छ । एउटै दलको पर्‍यो भनेर सर्वोच्च अदालतामा मुद्दा परेको छ । कि त सर्वोच्चले फैसला गर्नुपर्‍यो नत्र नेकपाले सभामुखको मात्रै निर्वाचन अगाडि बढाउँदा नेकपाले उम्मेदवारी दिन नपाउने भन्ने अवस्थामा के गर्ने भन्ने प्रश्न आउँछ ।' सभामुख र एउटै पार्टीको भएको भन्दै विपक्षी कांग्रेसले सदन अवरुद्ध समेत गरेको थियो ।

नेकपाले तुम्बाहाङ्फेलाई सभामुख निर्वाचन कार्यतालिका सुरु हुनुपहिला नै उपसभामुखबाट राजीनामा दिन आग्रह गर्ने गुरुङले बताए । तुम्बाहाङ्फेले भने 'सभामुखको निर्वाचन कार्यतालिका तय गर्ने र निर्वाचन समिति गठन गरेर निकास दिन कुनै बाधा नपर्ने' बताएकी छन् । शुक्रबारको बैठकको कार्यतालिका अगाडि बढाउने उनले बताइन् ।

उपसभामुखबाट राजीनामा दिनका लागि तुम्बाहाङ्फेले आफूलाई सभामुखको उम्मेद्‍वार बनाउनुपर्ने माग राखेकी छन् । उनले आफूनिकट सांसदहरूसँग 'अध्यक्षद्वयले आफूलाई सभामुख उम्मेदवार बनाउने निर्णय गर्नुपर्ने, त्यसो नगरे आफू के कारणले सभामुख हुन अयोग्य हो भनेर तथ्य र कारणसहित प्रस्तुत हुनुपर्ने' बताउने गरेकी छन् ।

प्रकाशित : पुस १०, २०७६ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?