शीतलहरमा पनि बाढी पीडित पालमै- समाचार - कान्तिपुर समाचार

शीतलहरमा पनि बाढी पीडित पालमै

शाहीमान राई

धनुषा — गएको बर्षायाममा बाढीले घर भत्काइदियो । नेपाल–भारत सीमावर्ती दसगजा क्षेत्रमा बसोबास गर्दै आएका दुई सयभन्दा बढी घरपरिवारको छाप्रो बाढीले भत्काइदिएपछि पुनः निर्माण गर्न सकेका छैनन् । बाढीले घर बगाएका भूमिहीन नयाँ टहरा निर्माण गर्न नसकेपछि बाक्लो शीतलहरमा कठ्याङ्ग्रिदो चिसोमा पालमुनि बस्न बाध्य छन् ।

धनुषा सदरमुकाम जनकपुरधामदेखि पूर्व जनकनन्दनी गाउँपालिका–१ इनर्वाकी ७६ बर्षिया देवी सदाले वर्षा र बाढीले भत्काइदिएको छाप्रो पुनःनिर्माण गर्न सकेकी छैनन् । बर्षायाममा रेडक्रसलगायत विभिन्न संघसंस्थाले उपलब्ध गराएको पालमा ५ जनाको परिवार एकै ठाउँ बसिरहेका छन् ।


भूईंमा चट्टाई ओछयाएर बसेकी २३ बर्षिया सुत्केरी आरती सदालाई चिसो र अन्न अभावले झन् बढी पिरोलेको छ । ‘चिसोले केटाकेटीको बिजोग छ । खाना रुच्दैन, आफूले नखाए बच्चाको लागि दुध आउदैन, बच्चालाई के खुवाउने ? कसरी बाँच्ने होला ?’ आरतीले भनिन्, ‘कमाई केही छैन, श्रीमानले काम गर्नसमेत पाएका छैनन् ।’


इनर्वाकी अर्की वृद्धा ७९ बर्षिया कुमारी सदाको ५ जनाको परिवार पनि पालमै छन् । सोही गाउँकी ७५ बर्षिया आरतीदेवी गिरी, ५५ बर्षिया जुलवीदेवी सहनी, ५० बर्षिया सीता सदा, ४० बर्षिया निरुदेवी दास, ४९ बर्षिया काउलीदेवी कामतको परिवार पनि पालमै छन् । यी पाल पनि विभिन्न संघसंस्थाले दिएका हुन् ।



‘छाप्रो बाढीले भत्किाइदियो, खाने अन्न छैन,’ इनर्वाकी ७५ बर्षिया भागवदेवी सदाले दुखेसो पोखिन्, ‘ओड्ने लुगा छैन, चिसोले ज्यान बचाउन मुस्किल परिसक्यो, कतैबाट राहत पनि आएको छैन, हामी गरिबको घर बनाइदिनुपर्‍यो हजुर !’ ज्याला मजदुरी गरेर जीवीकोपार्जन गर्दै आएका बाढीपीडित हिंजोआज चिसोले गर्दा काममा जान समेत सकेका छैनन् ।


जनकनन्दनी गाउँपालिका–१ इनर्वाका वडाध्यक्ष धमेन्द्र गोइत शीतलहरले गर्दा बाढी पीडितको अवस्था खराब भएको बताउँछन् । यो विपन्न दलित समुदाय न्यानो लुगा नभएपछि रातदिन धुनी तापेर बस्न बाध्य छ । गोवरको गुईंठा, पराल, झ्यासको धुनी बालेर उनीहरु बस्दै आएका छन् ।


घर बनाउनका लागि सरकारी तथा गैर सरकारी निकायबाट आर्थिक सहयोग लिनका लागि उनीहरुसँग जग्गा जमिनको लालपूर्जा छैन । लालपूर्जा नभएपछि कानुनी प्रक्रिया मिलाउन समस्या हुने गाउँपालिकाकी उपप्रमुख भारती कार्कीले बताइन् । ‘हामीलाई पनि आवास निर्माण गरिदिन पाए हुन्थ्यो भन्ने लाग्छ । तर, बजेट नै छैन,’ उनले भनिन् । न्यायो लुगा किन्ने तयारी भने गाउँपालिकाले गरेको उनले बताइन् ।


गत असार २७ र २८ गते आएको बाढीले घर, गोठ, अन्न, लत्ताकपडा, भाँडाकुँडा बगाएपछि धनुषाका इनर्वा, बलाहागोठ, प्रखे महुवा, खजुरी चन्हा, पतनुका र बलाहाकठालमा २ सय ४० घरपरिवार विस्थापित भएका थिए ।

प्रकाशित : पुस १०, २०७६ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्

भारतको बाटो हुँदै राहत

शाहीमान राई

इनर्वा, धनुषा — बाढीले बढी क्षति पुर्‍याएको धनुषाको सुदूरपूर्वी गाउँमा राहत पुर्‍याउन कठिन भएको छ । बाढीले कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकातर्फ जाने सडक, पुल, कल्भर्ट भत्किएपछि राहत वितरण गर्न भारतको बाटो हुँदै जानुपर्ने भएको छ । 

डुबानमा परेको जनकनन्दनी गाउँपालिका–१ इनर्वामा सबैभन्दा बढी क्षति पुगेको छ । यहाँ ९५ घर विस्थापितमध्ये ७५ घर दलित मुसहर जाति छन् । त्यस ठाउँमा राहत पुर्‍याउन भारतीय भूमि जटही–जयनगर हुँदै जानुपर्छ ।

जनकनन्दनीको वडा नं २ बलाहागोठ ९३ घर, वडा नं ३ प्रखे महुवामा ८, वडा नं ४ खजुरी चन्हामा २६ घर, वडा नं ५ पतनुकामा १२ घर र वडा नं ६ को बलाहाकठालमा ६ घर गरी दुई सय ४० घरपरिवार पूर्ण रूपमा विस्थापित छन् । ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन) का जिल्ला संयोजक खरभूषण साहले भारतीय बाटो हुँदै इनर्वाका गरिब, दलित, विपन्न समुदायका विस्थापितलाई राहत सामग्री बाँडेको बताए ।

विस्थापितलाई रेडक्रसलगायत विभिन्न गैरसरकारी संघसंस्थाले राहत वितरण गरे पनि पर्याप्त नभएको बाढीपीडितले गुनासो गरेका छन् । राहत वितरण गर्दा राहत लिन आउने पीडित घरपरिवारको संख्या अत्यधिक हुने भएकाले व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ ।

जनकनन्दनी गाउँपालिकामा बाढीपीडितलाई भेट्न पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा केही दिनअघि हेलिकप्टरमा पुगेका थिए । यसबाहेक प्रदेश सरकार, स्थानीय प्रशासनलगायत सरकारी निकाय, गैरसरकारी संस्थाका कोही प्रतिनिधिसमेत स्थलगत निरीक्षणमा नपुगेको गाउँपालिका उपाध्यक्ष भारती कार्कीले बताइन् ।

उपाध्यक्ष कार्कीका अनुसार जनकनन्दनी वडा नं १ इनर्वामा एक सय ४७ घर, २ बलाहागोठमा ६६ घर, ३ प्रखे महुवामा १२ घर, ४ खजुरी चन्हामा ८ घर, ५ पतनुकामा एक घर र ६ को बलाहाकठालमा ६ घर गरी दुई सय ४० घर पूर्ण रूपमा क्षति भएको छ ।

प्रारम्भिक तथ्यांकअनुसार इनर्वामा एक सय ३४ घर, बलाहागोठ २ सय ८३ घर, प्रखे महुवामा २ सय ४३ घर, खजुरी चन्हामा ५६ घर, पतनुकामा ३१ घर र वडा नं ६ को बलाहाकठालमा ३४ घर गरी ७ सय ८१ घर आंशिक क्षतिको सूचीमा राखिएको छ । त्यस्तै दुई करोड ७१ लाख ४७ हजार ६ सय रुपैयाँ खाद्यान्न र पशुपन्छी क्षति भएको गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत कुलानन्द झाले बताए ।

गाउँपालिकाले तत्काल विस्थापित घरपरिवारका निम्ति मात्र राहत उपलब्ध गराउने निर्णय गरी सरकारी तथा गैरसरकारी संघसंस्थालाई त्यहीअनुसार बाँड्न लगाइएको उपप्रमुख कार्कीले बताइन् । ‘राहतमा गरिब, विपन्न, असहाय परिवारलाई प्राथमिकतामा राखिएको छ,’ उनले भनिन्, ‘पूर्ण क्षति भए पनि किनेर खाने अवस्था भएकालाई दोस्रो प्राथमिकतामा राखेका छौं ।’

धनुषामा जनकनन्दनी गाउँपालिकापछि वर्षा बाढीले सबैभन्दा बढी मुखियापट्टी मुसहरनिया गाउँपालिकामा क्षति पुर्‍याएको छ । मुखियापट्टी मुसहरनियामा एक सय ३६ घरपरिवार पूर्ण र ८ सय ८८ घर आंशिक गरी एक हजार २४ घरपरिवारमा क्षति भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रले बताए ।

धनुषाको एक उपमहानगरपालिका, १२ वटा नगरपालिका र ५ वटा गाउँपालिका गरी १८ वटा स्थानीय तहमा एक हजार ७ सय ५३ घरमा पूर्ण रूपमा क्षति पुगेको छ । बाढीले जिल्लामा ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित : श्रावण ९, २०७६ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×