२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

चिसो छल्न कर्णालीका न्यायाधीश हिउँदे काजमा

मुगु, जुम्ला — चिसो कटाउन साविक कर्णाली अञ्चलका सबै न्यायाधीशलाई सर्वोच्च अदालतले दुई महिना काज सुविधा दिँदै आएको छ । जुम्लामा हिमपातको समयमा उच्च अदालत सुर्खेत, जुम्ला इजलास र जिल्ला अदालतका न्यायाधीश काजमा बस्ने गरेका हुन् ।

न्यायाधीशहरू अदालतमा नहुँदा कर्णालीका हिमाली जिल्लामा न्याय सम्पादनमा समस्या भइरहेको छ ।

दुवै अदालतका न्यायाधीश पुस र माघ महिनाको काज लिएर बाहिर हिँडिसकेका छन् । उच्च अदालत सुर्खेत, जुम्ला इजलाशमा चार जना न्यायाधीशको दरबन्दी छ । इजलाशका मुख्य न्यायाधीश रत्नबहादुर बाकचन, न्यायाधीशहरू साधुराम सापकोटा, मुरारीबाबु श्रेष्ठ, राकेशकुमार निधी र जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरे सर्वोच्च अदालतमा काजमा छन् । निधीले नमागे पनि सर्वोच्च अदालतले उनलाई काजमा बोलाएको हो ।


जिल्लामा न्यायाधीश नहुँदा न्याय सम्पादनमा असर पर्ने नेपाल कानुन व्यवसायी संघका केन्द्रीय सदस्य पदमबहादुर शाहीले बताए । ‘हिउँदको समयमा न्याय परिषद्ले न्यायाधीशलाई काजमा पठाउने परम्पराको अन्त्य गर्नुपर्छ भनी हामीले पटकपटक पहल गरेका हौं,’ उनले भने, ‘न्यायाधीश विनाको अदालतको कल्पना गर्न सकिँदैन । बरु सेवासुविधा थप गरेर भए पनि न्यायाधीशलाई अदालतमा राख्नुपर्छ ।’ रिट निवेदन, थुनछेक, आदेशलगायत मुद्दामा न्यायाधीश नहुँदा समस्या परिरहेको उनी बताउँछन् ।


न्यायाधीशलाई काजमा पठाउनका लागि न्यायाधीशकै भूमिका नहुने बताउँछन् उच्च अदालत सुर्खेत, जुम्ला इजलाशका रजिष्ट्रार अर्जुन कोइराला । उनका अनुसार सर्वोच्चले आफै डाकेपछि न्यायाधीश जाने गरेका हुन् । ‘यस विषयमा हामीले केही बोल्न मिल्दैन,’ उनले भने, ‘चिसोको समयमा न्यायाधीशलाई काजमा बोलाउने परम्पराजस्तै बनेको छ ।’ उनले सेवाग्राहीले दुई महिनामा पहिलेदेखि नै पेशी र तारेख लिने गरेको जानकारी दिए ।


लगातार दुई दिनभन्दा बढी बिदा परेमा अदालत न्यायाधीशविहीन हुन्छ भनेर सर्वोच्चले काजमा खटाउने गरेको अदालत कर्मचारीको भनाइ छ । ‘सेवाग्राहीले पनि दुई महिना कटाएर तारेख लिने गरेका छन्,’ रजिष्ट्रार कोइरालाले भने, ‘तत्कालै सुनुवाइ गर्ने रिट निवदेन दर्ता हुन आएमा समस्या हुने हो । अदालतका अरु काम भने नियमित रुपमा चलिरहन्छन् ।’


अदालतमा न्यायाधीश नभए पनि मद्दा दर्तालगायत काम भइरहेको जिल्ला अदालतले जनाएको छ । थुनछेक आदेश स्रेस्तेदारले पनि दिन मिल्ने भएकाले न्यायाधीश नहुँदा अदालतको नियमित काम प्रभावित नहुने कर्मचारीको भनाइ छ । उनीहरूका अनुसार काजले फैसलामा भने ढिलाइ हुने गरेको छ । माघ मसान्तसम्मका लागि सबै न्यायाधीशलाई काजमा बोलाइएको हो ।


अदालत खाली गराएर जिल्लाबाहिर

मुगुका न्यायाधीश सोमनाथ अधिकारी सिरहा जिल्ला अदालत गएका छन् । स्रेस्तेदार अधिकृत अष्ट अधिकारीले अदालतको कामकाज धानिरहेका छन् । सिरहाबाट न्यायाधीश अधिकारी नफर्किदासम्म मुद्दाका वादी/प्रतिवादी तारेखमै अल्झिनुपर्ने बाध्यता छ । चिसोमा कामकाज गर्न असहज हुने भन्दै न्यायाधीश अधिकारीले दुई महिनाका लागि सिराहा रोजेका हुन् ।


अदालतमा यस वर्ष परेका ६४ मुद्दामध्ये ३३ थान फैसला भइसकेका छन् । ३१ थान मुद्दा न्यायाधीश फर्केर आएपछि किनारा लाग्ने स्रेस्तेदार अधिकारीले बताए । ‘मुद्दा फैसला बाहेक अदालतको कुनै काम रोकिँदैन,’ उनले भने ‘चिसो मौसममा यहाँ खासै कामको चाप पनि हुँदैन ।’ हुम्लाका न्यायाधीश चन्द्रकान्त पौडेल सर्वोच्च अदालतमा दुई महिनाको लागि काज गएका छन् । स्रेस्तेदार दानबहादुर रावतको भरमा जिल्ला अदालत चलिरहेको छ । हुम्ला अदालतमा यो वर्ष दर्ता भएका ३४ मध्ये ९ थान मात्र फैसला भएका छन् । २५ थान मुद्दा फैसला हुन बाँकी छ । डोल्पाका न्यायाधीश नरिश्वर भण्डारी उच्च अदालतमा बढुवा भएपछि उनको ठाउँमा कसैलाई पठाइएको छैन ।


स्रेस्तेदार विदुर कोइरालाले न्यायाधीश नहुँदा मुद्दा फैसलाको काममा ढिलाइ भइरहको बताए । उनका अनुसार डोल्पा अदालतमा परेका ४१ मुद्दामध्ये १४ थान फैसला भइसकेका छन् । उनले गर्मी महिना सुरु भएपछि न्यायाधीश जिल्लामा आउने जानकारी दिए । कालीकोटका जिल्ला न्यायाधीश माधव सुवेदीले भने जिल्ला छोडेका छैनन् ।

प्रकाशित : पुस १०, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?