कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

छुट्न मानेनन् चन्द समूहका नेता, रोल्पामा उच्च निगरानी

(दाङ) र (रोल्पा) — नेत्रविक्रम चन्द समूहका २१ नेता–कार्यकर्ता अदालतको आदेशपछि पनि थुनामुक्त हुन मानेनन् । जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले सोमबार जनही १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए । तर, प्रहरीले फेरि पक्राउ गर्ने डरले उनीहरू कारागार जान तयार भए । अदालतले तोकेको धरौटी नबुझाएपछि उनीहरूलाई प्रहरीले जिल्ला कारागार घोराही चलान गरेको छ । 

अदालतबाहिर ठूलो संख्यामा प्रहरी परिचालन भएकाले फेरि पक्राउ पर्न सक्ने अवस्था देखेपछि उनीहरू कारागार जान तयार भएको बुझिएको छ । ‘धरौटी रकम बुझाएको दिन छुट्न सक्छन्,’ जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले भने ।


प्रहरीले उनीहरूलाई गत असोज ३० मा बैठकस्थल घेरा हालेर राजपुर गाउँपालिका–४ मगराइनाबाट पक्राउ गरेको थियो । उनीहरूविरुद्ध प्रहरीले संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेको थियो । उनीहरूको साथबाट ‘मेड इन यूएसए’ लेखिएका दुई पेस्तोल, चार कटुवा पेस्तोल, थ्री नट थ्री राइफलको पाँचवटा गोली, एउटा सुतली बम र ३ लाख ८४ हजार ५ सय ३० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको थियो ।


कारागार चलान गरिएकामा चन्द नेतृत्वको समूहका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज कपिलवस्तुको शिवराज–८ का ५९ वर्षीय चन्द्रबहादुर चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज माडी–५, भाबाङका ५४ वर्षीय केशबहादुर बाँठा र केन्द्रीय सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष तुलसीपुर–५, बसपार्क दाङका ३१ वर्षीय बबिन केसी भनिने दीपराज शेर्पाली छन् । मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द नेकपा महासचिव नेत्रविक्रम चन्दका सहोदर जेठा दाजु हुन् । उनी विगतको माओवादी विद्रोहमा पनि सहभागी उच्च तहका नेता हुन् ।


यसैगरी राप्ती ब्युरो सदस्य तथा बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष तुलसीपुर–१९, बिजौरीका ६५ वर्षीय रामबहादुर थापा, दाङ जिल्ला इन्चार्ज राप्ती–५, सिसहनियाका ४६ वर्षीय यमलाल कटुवाल र दाङ जिल्ला सेक्रेटरी तुलसीपुर–८ का ३९ वर्षीय प्रदीपबहादुर वली छन् । यस्तै सल्यान जिल्ला इन्चार्ज कुमाख–६, बडगाउँका ५२ वर्षीय रमेश आचार्य भनिने डिल्लीराज शर्मा, पश्चिम रुकुम जिल्ला सेक्रेटरी आठबिसकोट–८, पहाडका २८ वर्षीय जित क्षत्री भनिने चन्द्रबहादुर बुढा र रोल्पाको रुन्टीगढी, दाङको बंगलाचुली, प्यूठानको सरुमारानी र सल्यानको कपुरकोट इन्चार्जसमेत रहेका सुनछहारी–१, घुसबाङ रोल्पाका ३३ वर्षीय पुस्तमान घर्ती र रोल्पा–२, लिबाङका ५८ वर्षीय दलबहादुर खत्री छन् ।


राप्ती ब्युरो कार्यालय सचिव घोराही–१६ का सविन पोखरेल भनिने बालकृष्ण शर्मा, रोल्पाको थबाङ क्षेत्र सेक्रेटरी थबाङ–१ का ३५ वर्षीय अमित घर्ती, सोही ठाउँका थबाङ क्षेत्र इन्चार्ज ४३ वर्षीय हितप्रसाद रोका र अखिल नेपाल किसान संघका दाङ अध्यक्ष लमही–३, टिकुलीगढका ४३ वर्षीय एकराज चौधरी पनि धरौटी रकम नबुझाएपछि कारागार गएका हुन् ।


यस्तै दलित मुक्ति मोर्चाका दाङ अध्यक्ष राप्ती–१, भालुबाङका ३३ वर्षीय सुरज परियार, युवा संगठनका केन्द्रीय सदस्य घोराही–१७, पनौराका ३९ वर्षीय तिलक पुन, दाङको राजपुर गाउँपालिका इन्चार्ज आठबिसकोट–२, पश्चिम रुकुमका ३७ वर्षीय धनबहादुर बोहरा तथा पार्टी सदस्यहरू बाणगंगा–८, कपिलवस्तुका ३१ वर्षीय विष्णुबहादुर रावत, तुलसीपुर–१५, हरिपौरा दाङका ३४ वर्षीय कुलबहादुर वली र शान्तिनगर–२, सिमसुन्दरपुर दाङका ४९ वर्षीय इन्द्रबहादुर वली छन् ।


नेताहरू त्यस क्षेत्रमा गएको सूचना पाएपछि जिल्ला प्रहरी घोराही, इलाका प्रहरी कार्यालय गढवा र वडा प्रहरी कार्यालय लमहीको टोली परिचालन भएको थियो । बैठक बसेर दुइटा घरमा सुतिरहेको अवस्थामा प्रहरीले घर घेरा हालेर पक्राउ गरेको थियो ।


उच्च निगरानी

चन्द समूहका कार्यकर्ताले जिल्लामा हिंसात्मक गतिविधि गरिरहेको आशंकामा उच्च निगरानी बढाइएको प्रहरीले जनाएको छ । समूहका महासचिव नेत्रविक्रम चन्दको खोजी तीव्र पारिएको सुरक्षा संयन्त्रको भनाइ छ ।


उक्त समूहले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबाट आर्थिक सहयोगका नाममा रकम असुल गरेको विषयमा अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् । राज्यबाट प्रतिबन्ध लाग्नुअघि उक्त समूहका कार्यकर्ताले स्थानीय तहका गाडीमाथि आगजनी, टेलिफोन टावर ध्वस्त पार्नुका साथै पूर्वाधार निर्माण गर्ने साधनमा आक्रमण गरेका थिए । प्रतिबन्ध लगाइएयता रोल्पाबाट मात्रै करिब तीन दर्जन पक्राउ परेका छन् । उनीहरूविरुद्ध राज्य विप्लव, शान्ति–सुरक्षामाथि खलल गरेको, हातहतियार तथा खरखजाना र विस्फोटक पदार्थ ओसारपसारलगायत अभियोग लगाइएको छ ।


समूहको गतिविधिमा संलग्न भएको आशंकामा जिल्लाका थुप्रै व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समूहका पूर्वजिल्ला इन्चार्ज दलबहादुर खत्री, जयप्रकाश रोका र सन्तोष सुवेदीलाई भिन्नाभिन्नै स्थानबाट नियन्त्रणमा लिइसकेको छ । थबाङसहितको विशेष जिल्लाका इन्चार्ज हितप्रसाद रोकामगर, रोल्पा र दाङका केही क्षेत्र गाभेर बनाइएको भिन्नै जिल्लाका इन्चार्ज पुष्टमान घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ । ‘विध्वंसमा लाग्ने जोसुकैलाई नियन्त्रणमा लिने कानुनी व्यवस्थाअनुसार पक्राउ गरेका हौं,’ जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले भने ।


प्रहरीले चन्द समूहका थबाङका तीन नेतालाई पक्राउ गरेको छ । उनीहरूलाई दाङ र रोल्पाका कारागारमा राखेको छ । शान्तिसुरक्षा कायम गर्न चन्द समूहका नेतालाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । यसैबीच चूडामणि वली आदर्शलाई प्रहरीले दोस्रो पटक नियन्त्रणमा लिएको छ । उनका भाइ विश्वलाई पक्राउ गरेर छाडेको छ । कारागारमा चन्द समूहका जिल्लादेखि स्थानीय तह कमिटीका सदस्यलाई राखिएको छ ।



प्रकाशित : पुस ९, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?