लुम्बिनीमा यतिलाई होटल र प्लट

लुम्बिनी — यति समूहले नियमविपरीत लुम्बिनी क्षेत्रमा होटल सञ्चालन गरिरहेको छ । यहाँको सबैभन्दा पुरानो होटल होक्केको व्यवस्थापन चार वर्षयता यतिले गरिरहेको हो ।

लुम्बिनीमा यतिलाई होटल र प्लट

लुम्बिनीकै विहार क्षेत्रमा समूहका दिवंगत अध्यक्ष आङछिरिङ शेर्पाको स्मृतिमा विहार बनाउन लागिएको छ । त्यसका लागि कोषले करिब चार बिघा जग्गा दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ४ मा विहारको शिलान्याससमेत गरिसकेका छन् ।


कोषको विनियमावलीअनुसार जसले सञ्चालनका लागि सुरुमा सम्झौता गरेको छ, उसैले मात्र होटल चलाउन पाउँछ । कागजी रूपमा होटल सञ्चालनको जिम्मा होक्के क्लब अफ जापानसँग छ । व्यवस्थापन परिवर्तनबारे लुम्बिनी विकास कोषले अनभिज्ञता प्रकट गरेको छ । मध्य अवधिमा आएर सम्झौता हेरफेर नहुने कोषले जनाएको छ । व्यवस्थापन फेरिएको बारे कतै जानकारी नभए पनि होटलको वेबसाइटमा सम्पर्कका लागि यति कम्प्लेक्स काठमाडौं उल्लेख गरिएको छ ।

कर्मचारीका अनुसार प्रभावका आधारमा यति समूहले पुरानो र अत्याधुनिक जापानी परम्परागत शैलीका तीन र पश्चिमा शैलीका २४ कोठासहितको होक्के होटल सञ्चालन गरिरहेको हो । यतिले होटल सञ्चालन गर्दै आएको जानकारी लुम्बिनी विकास कोषलाई नरहेको निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए ।


‘होटल सञ्चालन सम्झौता होक्के क्लब अफ जापानसँग मात्र छ,’ कोषका योजना प्रबन्धकसमेत रहेका भट्टराईले भने, ‘अरूलाई हामी चिन्दैनौं ।’ होटल सञ्चालनका लागि नवीकरण र पत्राचार जापानी संस्थासँग मात्र हुने उनले बताए । व्यवस्थापन फेरिएको बारे सोधपुछ थालिएको उनको भनाइ छ ।

सुरुमा २५ वर्षको सम्झौता भएकोमा पछि १० वर्षका लागि नवीकरण भएको छ । उक्त होटलमा पर्यटकको चाप हुन्छ । होटल रहेको जग्गाको भाडा सस्तो छ । न्यून लगानीमा धेरै नाफा हुने भए पनि आँखा लागेको स्थानीयले बताए । उक्त होटल १९९१ जनवरी १० बाट सञ्चालनमा छ । करिब १२ वर्ष होक्के क्लब अफ जापान आफैंले होटल चलाएको थियो । त्यसपछि १२ वर्ष भारतको इम्प्याक्ट टुर्सले सञ्चालन गर्‍यो । अहिले यतिले व्यवस्थापन लिएको हो । कोषका अनुसार सन् १९९० तिर १६०/१६० मिटर (करिब ४ बिघा) जग्गाको वार्षिक भाडा सुरुमा ८५ हजार थियो । ०७४/७५ मा त्यसलाई बढाएर तीन लाख पुर्‍याइएको छ ।

करिब चार बिघा जग्गाको भाडा अहिले मासिक २५ हजार रुपैयाँ तिर्नुपर्छ । होटलले भने महँगो शुल्क लिँदै आएको छ । त्यहाँ सिंगल बेड भएको कोठाको १ सय २० अमेरिकी डलर र डबल बेड कोठाको शुल्क १ सय ४० डलर पर्छ । होटलमा चारतारेको सुविधा छ, तर त्यसको अनुमति लिइएको छैन ।

तारेको अनुमति लिँदा धेरै कर तिर्नुपर्ने भएकाले नलिएको कोषका कर्मचारीले बताए । कोष स्रोतका अनुसार लुम्बिनीमा प्रभाव जमाउनकै लागि यति समूहले आफूनिकट हेमन्तराज कोलाक्षपतिलाई कोषको कार्यकारी सदस्य बनाउन लबिइङ गरेको थियो । कोलाक्षपति यति समूहमा लामो समयदेखि आबद्ध छन् । होटलको व्यवस्थापन उनैले हेरिरहेका छन् । कोलाक्षपतिलाई तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले सदस्यमा नियुक्त गरेका थिए । उनले यति समूहको प्रतिनिधिका रूपमा काम गरिरहेका छन् ।

जापानी वास्तुकलाविद् केन्जो टाँगेको गुरुयोजनाअनुसार न्यु लुम्बिनी भिलेजमा पहिलो, दोस्रो र तेस्रो श्रेणीका होटल राख्नुपर्ने थियो । त्यसैअनुसार यो पहिलो श्रेणीको होटल हो । लुम्बिनीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आउँदा प्रधानमन्त्री, मन्त्री र विशिष्ट व्यक्ति त्यही होटलमा बस्ने गर्छन् । गत जेठमा लुम्बिनी भ्रमण वर्ष ०७६ प्रारम्भ गर्न आएका बेला प्रधानमन्त्री केपी शर्मा ओली यहीँ बसेका थिए । उनले यहाँ वृक्षरोपण पनि गरेका थिए । विभिन्न अवसरमा कोषले होटलमा रात्रिभोज आयोजना गर्दै आएको छ ।

प्रकाशित : पुस ८, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?