झिसमिसेमै अस्ताइन् सृष्टि

बुनु थारु

काठमाडौँ — सोमबार दिउँसो ३ बजे । ॐ अस्पतालको प्रांगणमा मानिसको भिडभाड थियो । प्रहरीको पनि उपस्थिति बाक्लो थियो । त्यहीँ भीडमा एक महिला डाँको छोडेर रुन थालिन् ।

झिसमिसेमै अस्ताइन् सृष्टि

‘देउताजस्ती छोरी थिई, कसले मार्‍यो ? मेरो छोरी पढ्न आएकी थिई, कसले के गरिदियो ?, कत्ति दुःख गरेर हुर्काएकी छोरी, अघिल्लो साँझ के खाएकी थिई होला ?, केही खुवाएको थियो कि थिएनौ बाबु ?,’ भन्दै उनी प्रश्नमाथि प्रश्न गरिरहेकी थिइन् ।

डाँको छोडेर बिलौना गर्दै रोइरहेकी ती महिलालाई ढाडस दिँदै थिए एक किशोर । उनका आफ्नै आँखा रसाइरहेका थिए । आफैं सम्हालिन गाह्रो हुँदाहुँदै पनि उनी ती महिलालाई सम्हाल्ने कोसिस गर्दै थिए ।

‘बाबु दिदीलाई के खुवाएको थियो कि नाइँ,’ भन्ने प्रश्नमा ती किशोर केही बोल्न सकिरहेका थिएनन् । उनका आँखाबाट बगेका बलिन्द्र धारा आँसु गालासम्म बगेर बिलाइरहेका थिए ।

छोरीको वियोगमा छट्पटिएकी ती महिलाको कारुणिक रुवाइले छेउछाउका मानिसलाई भावुक बनाइरहेको थियो । ती महिला आफन्त तथा शुभचिन्तकले घेरिएकी थिइन् । रुँदारुँदा आँखा राता भएर सुन्निएका थिए ।

‘नरुनुस्, के गर्नु जीवनको लेखान्त यस्तै रहेछ,’ ढाडस दिनेको बोली आफैं डग्मगाइरहेको थियो ।

...

चाबहिलको पशुपति बहुमुखी क्याम्पसमा बिबिएस चौथो वर्षमा अध्ययनरत गोरखाकी २२ वर्षीया सृष्टि पन्त हरेक दिनझैं धुम्बाराहीबाट बिहानै कलेज जान निस्किइन् । कलेज जानुभन्दा अघि चाबहिलमा एक घण्टा ट्युसन पढेर क्लास जाने उनको दैनिकी थियो ।

ट्युसनमा उनलाई बिहान ५:४० बजे पुगिसक्नुपर्थ्याे ।

ढिलो हुँदा गाडीमा नत्र पैदल नै कलेज जाने गर्थिन सृष्टि । सोमबार उनलाई ढिला भएको थियो । उनले गाडीमा कलेज जाने सोच बनाएकी थिइन् । सुकेधारा चोकमा उनी बस कुरिरहेकी थिइन् । पुषको चिसो झिसमिसे बिहानी, सडकमा खासै चहलपहल पनि थिएन ।

सडक छेउमा बस कुरिरहेको बेला सृष्टिलाई एक्कासि ओभरटेक गर्दै बत्तिँदै आएको काठमाडौं–भक्तपुर रुटमा चल्ने सार्वजनिक बसले ठक्कर दियो । उछिट्टिएर पर पुगेर उनको टाउको पिचमा नमज्जासँग बजारियो । टाउको र हातमा चोट लाग्यो ।

सृष्टिसँगै गाडी कुरिरहेका र अन्यले उनलाई अस्पताल पुर्‍याए ।

अस्पतालमा पहिलो पटक सृष्टिलाई देख्ने सहपाठी सुजन भण्डारी भन्छन्, ‘म बसन्धुरामा बस्छु । हामी ३ जना साथीहरू एउटै बसमा कलेजका जाँदै थियौँ । मैले देखेको हो एउटा गाडी ओभरटेक गर्दै गइरहेको थियो । सुकेधारामा ‘गाडीले मान्छे हान्यो रे’ भन्ने थाहा भयो तर ओर्लेर हेर्न गइएन । त्यति याद पनि गरिएन । पछि पो थाहा भयो आफ्नै साथी सृष्टिलाई ठक्कर दिएको रहेछ ।’

सुजनका अनुसार अस्मिता गिरी सृष्टिकी मिल्ने साथी हुन् । उनीहरू दुवैजनासँगै चाबहिलमा ट्युसन पढ्न जान्छन् । अन्य दिनझैं चाबहिल पुगेपछि सृष्टि र अस्मिताको भेट हुन्थ्यो । तर बिहान सृष्टिको फोन आएन । अनि अस्मिताले नै सृष्टिको नम्बर डायल गरिन् । फोन रिसिभ गर्नेको स्वर अर्कैको थियो ।

फोन रिसिभ गर्नेले भन्यो– ‘तिम्रो साथी इमरजेन्सीमा छ ।’

सुजनकाे अनुसार उनी त्यतिबेला क्लासमा छिरेर किताब निकाल्ने तयारीमा थिए । त्यतिकैमा उनलाई अस्मिताले फाेन गरेर सृष्टिबारे जानकारी दिएकी थिइन् । ‘त्यसपछि हामी हतारिँदै अस्पताल पुग्यौं,’ उनले भने ।

अस्पताल पुग्दा सृष्टि ‘ऐया, ऐया’ भनेर कराएको र एकचोटी अस्मिताले बोलाउँदा आँखा खोलेर हेरेको सुजन बताउँछन् । उनले आँसु लुकाउने निरर्थक प्रयास गर्दै भने, ‘हामीले उसको मोबाइलबाट अभिभावकलाई फोन गर्न खोज्यौँ तर मोबाइलको लक थाहा भएन । सिम अर्कै मोबाइलमा हालेपछि मोबाइलमा माइजुको नम्बर देखियो । त्यसपछि खबर गर्‍याैं।’


‘कहिल्यै नरिसाउने, मिल्ने, मिहिनेती थिई सृष्टी, सोच्दै नसोचेको खबर सुन्नुपर्‍यो,’ सुजनले सृष्टिबारे भने । उनका साथीहरू अस्पताल प्रांगणमा जम्मा भएका थिए । काठमाडौंमा रहेका आफन्तहरु प्राय: त्यहाँ थिए । सबै मौन । स्तब्ध ।

गोरखा नगरपालिका–१४ देउरालीकी सृष्टि ५ वर्षदेखि काठमाडौं धुम्बाराहीमा डेरा लिएर भाइसँगै बसेर पढिरहेकी थिइन् । भाइ प्लस टू सिकेर जापानी भाषा पढ्दै थियो ।

माइतीतर्फ उनका बाबुआमा, एउटा दिदी र भाइ छन् ।

करिब डेढ वर्ष अघि मात्र उनको पालुङटार नगरपालिका, मिरकोटका राम बानियासँग बिहे भएको थियो । सृष्टिका श्रीमान् ६ महिना पहिले वैदेशिक रोजगारका लागि कोरिया गएका छन् । श्रीमतीको मृत्युको खबर पाएपछि उनी आजै नेपाल आउँदै छन् । बानियाँ भोलि १२ बजे काठमाडौं आइपुग्ने सृष्टिकी सानीआमा मीरा भण्डारीले जानकारी दिइन् ।

दिदीको अकालमै मृत्यु भएको खबरले भाइ र दिदीका आँखा ओभाएका छैनन् । छेउमा रहेका सृष्टिका बाबु टोलाइरहेका थिए । उनी भावशून्य देखिन्थे । ’पछिल्लो पटक दसै‌ं र तिहार मानेर काठमाडौं फर्केको थिई,’ उनी कसैलाई भन्दै थिए ।

बिहान दुर्घटनालगत्तै जानकारी पाएकी माइजूको स्वर बसेको थियो । गला अवरुद्ध थियो उनको ।


‘पढ्नमा राम्रो थिई । मिहिनेती थिई, धेरै नबोल्ने । त्यस्तो मान्छेलाई छिटो जाँदा रहेछन् के गर्नु ?’ उनकी सानीआमाले भनिन् ।

‘पढाइ सकेर केही सीप सिक्नु थियो सृष्टिलाई । लोकसेवा पढ्ने इच्छा गरेकी थिई । ज्वाइको पनि त्यहीँ इच्छा थियो,’, छोरीका विलीन आकांक्षा सुनाउँदै थिइन् मीरा ।

अस्पतालले सृष्टिको मृत्यु बसको ठक्करका कारण टाउको र पेटमा लागेको गम्भिर चोटले गर्दा भएको हो भनेर रिपोर्ट सार्वजनिक गरेका छ । अस्पतालले बिहान करिब ९ बजेर १५ मिनेट जाँदा उनलाई मृत घोषणा गरेको थियो ।

...

पशुपति क्याम्पसकी विद्यार्थी सृष्टीको उपचारको क्रममा मृत्यु भएको खबर फैलिएसँगै उनका सहपाठीहरुले काठमाडौं–भक्तपुर चल्ने बा४ख ७१०४ नम्बरमा आगजनी समेत गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार आइतबार बिहानै भक्तपुर–काठमाडौं चल्ने बा४ख ५९२० नम्बरको बसले पन्तलाई ठक्कर दिएको थियो । त्यस लगत्तै उपचारका लागि ओम अस्पताल पुर्‌याइए पनि उनको उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई ठक्कर दिने बस र त्यसको चालकलाई प्रहरीले हिरासतमा राखेको छ ।


विद्यार्थीको प्रदर्शनका कारण उक्त क्षेत्रको सवारी आवागमन केही समय प्रभावित भएको थियो । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएर बाटो खुलाएको थियो ।

प्रकाशित : पुस ७, २०७६ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?