१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अदालतले रिहा गर्दा पनि चन्द समूहका २१ नेताले राेजे कारागार

दुर्गालाल केसी

दाङ — नेत्रविक्रम चन्द समूहका २१ नेताहरु अदालतको आदेशपछि पनि थुनामुक्त हुन मानेनन् । जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले सोमबार जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिए पनि उनीहरु फेरि गिरफ्तार हुने डरले कारागार जान तयार भएका छन् ।

अदालतले रिहा गर्दा पनि चन्द समूहका २१ नेताले राेजे कारागार

उनीहरुलाई जिल्ला कारागार घोराहीमा राखिएको छ ।

अदालतबाहिर ठूलो संख्यामा प्रहरी परिचालन भएकाले फेरि पक्राउ पर्नसक्ने अवस्था देखेपछि उनीहरु कारागार जान तयार भएको बुझिएको छ । प्रहरीले भने धरौटी रकम नबुझाएका कारण कारागार गएको बताएको छ । अदालतको आदेश अनुसारको धरौटी रकम बुझाउन नसकेपछि कारागार गएको र धरौटी रकम बुझाएको दिन छुट्न सक्ने जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताए ।


उनीहरुलाई असोज ३० मा बैठकस्थल घेरा हालेर राजपुर गाउँपालिका ४ मगराइनाबाट पक्राउ गरिएको थियो । स्थानीय ज्ञानेन्द्रविक्रम रानाको घरमा मध्य कमाण्डको बैठक बसेर सुतिरहेका बेला राति १ बजे प्रहरीले घेरा हालेर पक्राउ गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेको थियो । उनीहरुको साथबाट मेड इन यूएसए लेखिएका दुई पेस्तोल, चार कटुवा पेस्तोल, थ्री नट थ्री राइफलको ५ राउण्ड गोली, एक सुतली बम र ३ लाख ८४ हजार ५ सय ३० रुपयाँ नगद बरामद् भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताए ।

कारागार जानेहरुमा नेकपा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इञ्चार्ज शिवराज नगरपालिका ८ कपिलवस्तुका ५९ वर्षीय चन्द्रबहादुर चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज माडी गाउँपालिका ५ भाबाङका ५४ वर्षीय केशबहादुर बाँठा र केन्द्रीय सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क दाङका ३१ वर्षीय वविन केसी भनिने दिपराज शेर्पाली छन् । मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द नेकपा महासचिव नेत्रविक्रम चन्दका सहोदर जेठा दाजु हुन् । उनी विगतको माओवादी विद्रोहमा पनि सहभागी उच्च तहका नेता हुन् ।

यसैगरी कारागार जानेमा राप्ती ब्यूरो सदस्य तथा बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष तुलसीपुर–१९ बिजौरीका ६५ वर्षीय रामबहादुर थापा, दाङ जिल्ला इञ्चार्ज राप्ती गाउँपालिका ५ सिसहनियाका ४६ वर्षीय यमलाल कटुवाल र दाङ जिल्ला सेक्रेटरी तुलसीपुर ८ का ३९ बर्षीय प्रदिपबहादुर वली छन् ।

यस्तै सल्यान जिल्ला इञ्चार्ज कुमाख गाउँपालिका ६ बडगाउँका ५२ वर्षीय रमेश आचार्य भनिने डिल्लीराज शर्मा, पश्चिम रुकुम जिल्ला सेक्रेटरी आठबीसकोट नगरपालिका ८ पहाडका २८ वर्षीय जित क्षेत्री भनिने चन्द्रबहादुर बुढा र रोल्पाको रुन्टीगढी, दाङको बंगलाचुली, प्यूठानको सरुमारानी र सल्यानको कपुरकोट इञ्चार्जसमेत रहेका सुनछहारी गाउँपालिका १ घुसबाङ रोल्पाका ३३ वर्षीय पुस्तमान घर्ती र रोल्पा नगरपालिका २ लिबाङका ५८ वर्षीय दलबहादुर खत्री पनि कारागार गएका छन्।

यसैगरी राप्ती ब्यूरो कार्यालय सचिव घोराही उमहानगरपालिका १६ का ३९ वर्षीय सविन पोख्रेल भनिने बालकृष्ण शर्मा, रोल्पाको थबाङ स्वायत्त क्षेत्र सेक्रेटरी थबाङ १ का ३५ वर्षीय अमित घर्ती, थबाङ स्वायत्त क्षेत्र इञ्चार्ज थबाङ १ का ४३ वर्षीय हितप्रसाद रोका र अखिल नेपाल किसान संघका दाङ जिल्ला अध्यक्ष लमही नगरपालिका ३ टिकुलीगढका ४३ वर्षीय एकराज चौधरी पनि धरौटी रकम नबुझाइ कारागार गएका छन् ।

यस्तै दलित मुक्ति मोर्चा दाङका अध्यक्ष राप्ती गाउँपालिका–१ भालुबाङका ३३ वर्षीय सुरज परियार, युवा संगठनका केन्द्रीय सदस्य घोराही १७ पनौराका ३९ वर्षीय तिलक पुन, दाङको राजपुर गाउँपालिका इञ्चार्ज आठबीसकोट २ पहाड पश्चिम रुकुमका ३७ वर्षीय धनबहादुर बोहरा तथा पार्टी सदस्यहरु वाणगंगा नगरपालिका–८ कपिलवस्तुका ३१ वर्षीय बिष्णुबहादुर रावत, तुलसीपुर १५ हरिपौरा दाङका ३४ वर्षीय कुलबहादुर वली र शान्तिनगर गाउँपालिका–२ सिमसुन्दरपुर दाङका ४९ वर्षीय इन्द्रबहादुर वली पनि कारागार गएका छन् ।

चन्द समूहका नेताहरु त्यस क्षेत्रमा गएको सूचना पाएपछि जिल्ला प्रहरी घोराही, इलाका प्रहरी कार्यालय गढवा र वडा प्रहरी कार्यालय लमहीको टोली परिचालन भएको थियो । बैठक बसेर दुई वटा घरमा सुतिरहेको अवस्थामा प्रहरीले घर घेरा हालेर पक्राउ गरेको थियो ।

प्रकाशित : पुस ७, २०७६ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?