१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सांसद अधिकारीको प्रश्न : नेपाल ट्रष्टको सम्पत्ति हिनामिना र भ्रष्टाचारमा प्रधानमन्त्री र उपप्रधानमन्त्री माैन किन ?

काठमाडौँ — नेपाल ट्रस्टको सार्वजनिक जग्गा हिनामिना र भ्रष्टाचारमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रत्यक्ष संलग्नता रहेको भन्ने सन्देश जनतामा जान लागेको कांग्रेस सांसद राधेश्याम अधिकारीले बताएका छन् ।

सांसद अधिकारीको प्रश्न : नेपाल ट्रष्टको सम्पत्ति हिनामिना र भ्रष्टाचारमा प्रधानमन्त्री र उपप्रधानमन्त्री माैन किन ?

संघीय संसद राष्ट्रियसभाको सोमबारको बैठकमा सांसद अधिकारीले नेपाल ट्रष्टको सार्वजनिक जग्गा निजी कम्पनीलाई भाडामा दिएको बारे आएका समाचारमा प्रधानमन्त्री र सरकारको तहबाट कुनै पनि प्रतिक्रिया नआउँदा उनीहरू पनि संलग्नता हो कि भन्ने सन्देश गएको बताए ।

नेपाल ट्रष्टको जग्गा भाडामा निजी कम्पनीलाई दिनु र सोही कम्पनीका मालिकलाई ट्रष्टी बनाउनुले प्रधानमन्त्री र उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको पनि संलग्नता हो कि भन्ने आशंका उब्जिएको अधिकारीको भनाइ थियो । यसबारेमा सत्यतथ्य संसदमा आएर जानकारी गराउन पनि उनले सरकारसँग माग गरेका थिए ।

नेपाल ट्रष्टसम्बन्धी ऐनको संशोधन विधेयकमाथि छलफलकै क्रममा बदनियत साथ आएको र नीतिगत भ्रष्टाचारको मुहान खोल्ने र विधेयकमा समर्थन गर्नेहरू सबैले नीतिगत भ्रष्टाचार गरेको ठहर हुनेछ भनेर रोष्ट्रमबाटै भनेको स्मरण गराउँदै अधिकारीले सार्वजनिक सम्पत्ति व्यक्तिगत लाभका लागि एउटा व्यापारिक समूहलाई हस्तान्तरण गर्नुको औचित्य पुष्टि गर्न सरकारलाई चुनौती दिए ।

ट्रष्टसम्बन्धी कानुनमा ट्रष्टको सम्पत्तिमा हकाधिकार र भोगाधिकार पनि बन्देज गरिएकोमा त्यसको अपचलन गर्ने मनसायका साथ विगतमा कानुन संशाेधन गरिएको दाबी उनले गरेका थिए ।

अधिकारीले भने, 'साविक कानुनबमोजिम नेपाल ट्रष्टको सम्पत्ति व्यावसायिक प्रयोजनका लागि दिने अवस्था थिएन तर नेपाल ट्रष्टमाथि हक जमाउन खोज्ने गिद्धे दृष्टिलाई यो असैह्य थियो । उनीहरू यति शक्तिशाली थिए । तिनले सत्ताको बागडोर लिएको पार्टीलाई नै कानुन संशोधन गर्न बाध्य पारे । जब व्यवसायी र सरकारबीचको लक्ष्मण रेखा मेटिन्छ तब भ्रष्टाचार मौलाउँछ ।'

भ्रष्टाचारका सम्बन्धमा प्रधानमन्त्रीको भनाइ र गराइमा भिन्नता देखिएको भन्दै ट्रष्टको जग्गा विवादमा प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैको संलग्नताको आशंका उत्पन्न भएको टिप्पणी गरेका थिए ।

'म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्न भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूको भनाइको जगहँसाइ भएको छ । सत्तामा बस्दा जनता के सोच्दछन् ? के भन्दछन् ? सायद प्रधानमन्त्रीज्यूलाई थाहा नहुन सक्दछ', अधिकारीले भने, 'त्यसैले सदनमार्फत म जनप्रतिनिधिका हैसियतमा सरकारलाई खबरदारी गर्न चाहन्छु । नेपाल ट्रष्टको सम्पत्ति हिनामिना र भ्रष्टाचारमा यो सरकारका प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैको प्रत्यक्ष संलग्नता छ भन्ने धारणा विकसित हुँदैछ ।'

व्यावसायिक प्रयोजनका लागि नेपाल ट्रष्टको जग्गा दिन सकिने कानुन बन्नुअघि नै दरबारमार्गको १ रोपनी १४ आना जग्गा नेपाल ट्रष्टका ट्रष्टीहरूले व्यापारिक प्रतिष्ठानलाई दिएको दाबी पनि अधिकारीको थियो । उनले भने, 'नारायणहिटी राजदरबारको विदेशी पाहुनालाई सत्कार कक्षमा रेष्टुराँ खोल्न यसै व्यावसायिक प्रतिष्ठानलाई दिन कसरत चल्दै छ । किन रेष्टुराँ मात्रै खोल्ने ? सिङ्गै नारायणहिटी दरबारलाई आलिसान होटलमा परिणत गर्न लिजमा दिए भइगो नि !'

अधिकारीले नेपाल ट्रष्टमा भएको भ्रष्टाचार र अनियमिततामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान नगरेकोमा पनि आपत्ति जनाए । अख्तियारमा राजनीति हाबी भएको दाबी गर्दै त्यहाँबाट हुने काम कारबाही पनि व्यक्ति हेरेर निर्धारण हुने गरेको उनको भनाइ थियो ।

अधिकारीले अख्तियारको कार्यक्षमतामाथि पनि प्रश्न उठाए, 'संविधानले खडा गरेको, संवैधानिक दर्जा पाएको एउटा संस्था काठमाडौंको टंगाल भन्ने ठाउँमा अवस्थित छ । त्यो संस्था भ्रष्टाचारको यस्तै कार्य भएको अभियोग लगाउन गठन भएको हो । बोलिचालीको भाषामा त्यसलाई अख्तियार भन्छन् । नेपाल ट्रष्टको सम्पत्तिमाथि अनियमितता र भ्रष्टाचारजन्य काम कारबाही हुँदा अख्तियार छानबिन गर्न असमर्थ छ । किनभने यसमा उच्च राजनीतिक संलग्नता छ भन्ने त्यो संस्थालाई पनि थाहा छु ।'

उनले अगाडि भने, 'मलाई यतिबेला जर्ज अर्वेलले लेखेको एनिमल फार्मको एउटा उत्ति सम्झना भएर आयो, कमरेड हामी सबै समान हौ तर केही खास भने असमान हौँ । (अल एनिमल्स आर इक्वेल, बट सम एनिमल्स आर मोर देन अदर्स) । दुई तिहाईको शक्ति भएको भनिएको सरकारका सबै समान हुन्नन् भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि थाहा रहेछ । यत्ति बुझ्न हामीलाई यति समय लाग्यो ।'

प्रकाशित : पुस ७, २०७६ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?