२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

संसदमा कांग्रेसले सोध्यो : भारतले सीमा मिच्दा प्रधानमन्त्री ओली किन मौन ?

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको अतिक्रमणमा परेको नेपाली भूभाग फिर्ता गराउने सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले मौनता साँधेको भन्दै आलोचना गरेको छ ।

संसदमा कांग्रेसले सोध्यो : भारतले सीमा मिच्दा प्रधानमन्त्री ओली किन मौन ?

संघीय संसद राष्ट्रियसभाको सोमबारको बैठकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले भारतले सीमा मिचेको कुरालाई लिएर प्रधानमन्त्री ओलीले आवश्यक पहल नगरेको आरोप लगाएका हुन् । उनले विगतमा भारतले नाकाबन्दी गर्दा चर्को आलोचना गर्ने प्रधानमन्त्री सीमा मिच्दासमेत माैन रहेको भन्दै आलोचना गरे ।

सुगौली सन्धिले निर्धारण गरेको सीमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका रूपमा राख्न नसकेको सांसद पाण्डेको भनाइ छ । उनले सीमा सुरक्षा र अतिक्रमणमा परेको भूमि फिर्ता गर्ने सम्बन्धमा भएका प्रयासबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गरेका छन् ।

'प्रधानमन्त्रीले के गरिरहनु भएको छ ? परराष्ट मन्त्रालयले के गरिरहेको छ ? सरकारका अन्य निकायहरूले के गर्दैछन् । यो समस्या कसरी समाधान हुन्छ ?', सांसद पाण्डेले भने, 'हामी नेपालीहरू स्पष्ट छौँ । कसैको हामीले के इन्च जग्गा मिच्नु पनि छैन । र, नेपालको एक इन्च जग्गा दिनु पनि छैन ।'

कालापानीलगायत क्षेत्र नेपालको भएको कुरा सरकारले भारतसँग राख्न नसकेको पनि पाण्डेको भनाइ थियो । 'सुगौली सन्धिले निर्धारण गरेको सीमा कायम हुनुपर्छ भन्ने कुरा दृढताका साथ हामी किन राख्न सकिरहेका छैनौँ ? यसको जवाफ प्रधानमन्त्रीले सदनमा आएर दिनुपर्छ । भारतसँग पनि यो समस्या समाधानका लागि तत्काल अग्रसरता लिनुपर्छ ।'

भारतले राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको ४ सय वर्ग किलोमिटर भूमि मिच्ने काम भएको दाबी गर्दे सांसद पाण्डेले सीमामाथि धावा बोल्ने काम हुँदा पनि सरकार मौन बसेकोमा आक्रोश पोखेका थिए ।

उनले वर्तमान सरकारले भ्रष्टाचारमा कीर्तिमान कायम गरेको पनि आरोप लगाए ।

प्रकाशित : पुस ७, २०७६ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?