पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थीको बसको ठक्करका कारण मृत्यु, चावहिलमा तनाव

कान्तिपुर संवाददाता

काठमाडौँ — पशुपति क्याम्पसमा बिबिएसमा अध्ययनरत २१ वर्षीया सृष्टि पन्तको सार्वजनिक बसले दिएको ठक्करका कारण उपचारको क्रममा मृत्यु भएपछि चाबहिल क्षेत्रमा तनाव भएको छ । सहपाठीको मृत्युमा आक्रोशित विद्यार्थीको समूहले काठमाडौं-भक्तपुर चल्ने बा ४ ख ७१०४ नम्बरमा आगजनी समेत गरेका छन् ।

ZenTravel

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार आइतबार बिहानै भक्तपुर-काठमाडौं चल्ने बा४ख ५९२० नम्बरको बसले पन्तलाई ठक्कर दिएको थियो। त्यस लगत्तै उपचारका लागि ओम अस्पताल पुर्‍याइए पनि उनको उपचारको क्रममा मृत्यु भएको थियो। गोरखा घर भएकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको बोगटीले बताए।


आगजनी गरेको आरोपमा गौशाला प्रहरीले पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई नियन्त्रणमा समेत लिएको बताइएको छ।
विद्यार्थीले प्रदर्शन गरिरहेका कारण उक्त क्षेत्रको सवारी आवागमन केही समय प्रभावित भएको थियो । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएर बाटो खुलाएको पनि बोगटीले जानकारी दिए। उनको अनुसार बिहानभन्दा अहिले तनाव शान्त भइसकेको छ।

प्रकाशित : पुस ७, २०७६ १०:५२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नौमती घन्काउँदै आमाहरू

लोप हुन लागेको पञ्चेबाजा संरक्षणका लागि उनीहरू आफ्नै इच्चाले लागेका हुन् । समूह बनाएर यसलाई व्यावसायिकता दिने उनीहरूको योजना छ । 
हरिराम उप्रेती

गोरखा — कति बस्नु चुलो र चौकामा, घुम्नपर्छ बेला र मौकामा । के गरेको महिलाले नभन, जिउन जान्ने कला हो जीवन ।पञ्चे बाजा बजाउने वाचा, यही हो हाम्रो महिलाको एकता ।। 

झ्याउरे भाकाको टुक्का नसकिँदै ४७ वर्षीया विष्णुमाया विश्वकर्माले ‘ढलकी’ को ताल सुरु गरिन् । सुष्मा बस्नेतले सनई फुक्न थालिन् । पञ्चेबाजाको धुनले वजार संगीतमय बन्यो । गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित दलभन्ज्याङका आमाहरू पञ्चेबाजा घन्काउन थालेका हुन् ।

४० नाघेका, कपाल फुलेका आमाहरू नर्सिंगा र ढलकी बोकेर निक्लिएपछि उनीहरूले प्रंशसामात्र कमाएका छैनन्, महिलाले पनि परम्परागत बाजा बजाउन सक्छन् भन्ने सन्देश दिएको छ । वन्द कोठाभित्र सिकेको सीप प्रदर्शन गर्न पाउँदा उत्साहित छन् उनीहरू । ‘एक महिना कोठाभित्र बसेर सिकेको, बाहिर बजाउँदा मिल्दैन कि भन्ने डर,’ ढलकीको ताल काट्दै विष्णुमायाले थपिन्, ‘केही दिन अघि आँगनमा निक्लिएर बजाएको वाजाले लय लियो, अनि अहिले मेला महोत्सवमा सहभागी भएका छौं, यतिखेर जताततै हाम्रै वाजाको चर्चा छ ।’ उनले ढलकी वजाउन लगाव वढाएकी छिन् । ‘बाजा वजे नाच्न मन लागिहाल्थ्यो,’ उनले भनिन्, ‘मादल पहिलेदेखि नै बजाउँथें, त्यही भएर मैले ढलकी नै रोजेको, आफ्नै दिदीबहिनीले बजाएको बाजाको धुन सुन्दा यसै मन फुरुङ्ग भएको छ ।’ बिहान घरधन्दा र दिउँसो मेलापात सकाएर साँझमा बाजा सिकेको उनले सुनाइन् ।

बाजा बोकेर शुक्रबार आमाहरू गोरखकाली मेलाको र्‍यालीमा सहभागी भए । भोलिपल्टै भीमसेन थापाको शालिक अनावरण कार्यक्रममा पनि आमाहरूकै बाजाको चर्चा थियो । ‘बाटामा भेटिनेले बेइज्जत गर्ने भएसम्म भन्न भ्याए,’ नन्दकुमारी कुँवर भन्छिन्, ‘बजेन भने खिस्याउँछन् कि भन्ने डर थियो, तर अरूको भन्दा कम्ती भएन ।’ फरक काम गर्न उमेरले पनि नछेक्ने उनले बताइन् । बाजाको लय मिल्दै गएपछि झनै उत्साहित छन् उनीहरू । दलभन्ज्याङका मात्र २५ आमाको शुभारम्भ महिला पञ्चेबाजा समूह छ ।
समूहका कल्पना कुँवर, फम्फा कुँवर, विष्णुमाया बसेलले नर्सिंगा बजाउन सिकेका छन् । तुलसी खत्री ट्याम्को बजाउँछिन् भने ज्ञानु सुनार ढलकी । विनिता खत्री र सम्झना खत्रीले सनई बजाउन सिकेका छन् । ‘अहिले सनई र नर्सिंगा चार/चार जनाले सिकेका छौँ, अरु बाजा सबैले जान्ने भइसके,’ उनले थपिन, ‘बजाउँदै जाँदा सिकिँदो रहेछ ।’ नौमती बाजामध्ये सबैभन्दा बढी सनई र नर्सिंगा बजाउन गाह्रो हुने आमाहरूको अनुभव छ । सिर्जना सिर्मलले महिना दिन लगाएर सनई सिकेकी छिन् । ‘जति बजायो त्यति आनन्द,’ उनले भनिन्, ‘सुरुमा फुक्न नजानेर हैरान ।’ एक महिने प्रयासबाट उनीहरू रूजाको लय मिलाउन जान्ने भएका हुन् ।

सेताम्मे कपाल भएकी रमा बस्नेतले नर्सिंगा फुकेपछि समूहका अन्य आमालाई हौसला थपिएको छ । ‘नाकबाट सास तानेर मुखबाट फालेपछि नर्सिंगा बज्ने रहेछ,’ रमा भन्छिन्, ‘सुरुमा सिकाइदिने भएनन्, आफै फुक्दाफुक्दै अहिले ताल ल्याउने भएको छु ।’ नर्सिंगा सिक्न सुरुमा साह्रै असजिलो रहेको उनले सुनाइन् । ‘आँट गरे असम्भव भन्ने रहेनछ,’ उनले भनिन् । बस्नेत समूहकी कोषाध्यक्ष हुन् । सुरुमा उनलाई नर्सिंगा समाएर चाल सिक्नै ३ दिन लाग्यो । आफूहरूले हिम्मत गरेरै पञ्चेबाजा बजाउन सिकेको उनले सुनाइन् ।
आमालाई पञ्चेबाजा सिक्न कुनै संघसंस्थाले प्रोत्साहन गरेका पनि होइनन् । आफ्नै इच्छा अनुसार सिकेका हुन् । ‘हामी समूहकै सदस्यले गच्छेअनुसार रकम संकलन गर्‍यौं, एक लाख जम्मा भयो,’ उनले भनिन्, ‘पैसा एक लाख पुगेकै दिन साँझ ५ बजे बाजा लिन गाडी रिजर्भ गरेर वसन्तुपर पुग्यौँ ।’ रातारात बाजा खरिद गरी फर्किएको उनले बताइन् । अपुग पैसा सापट मागेर भरथेग गरेको उनले सुनाइन् । चैतमा योजना बनाएका महिला दशैंअघि बाजा खरिद गर्ने आँट गरे । ‘कुन बाजा कस्तो बज्छ छान्न पनि जानेका थिएनौ, अन्धाधुन्धमा ल्याएर बजाउन थालेका हौँ,’ उनले भनिन् ।

तिहारमा पञ्चेबाजा बजाएर देउसी भैलो खेली उनीहरूले झन्डै डेढ लाख संकलन गरे । ‘बाजा किन्दा केही ऋण लागेको थियो, देउसी भैलोबाट पैसा उठाएर तिरिसक्यौँ,’ उनले भनिन् । पञ्चेबाजा सिकाउन मिठु परियारलाई मास्टरको दर्जा दिएर राखिएको उनले बताइन् । तिहारलगतै घरधन्दा र मेलापात सकेर आमाहरू ४ बजे बजे दैनिक पञ्चेबाजा सिक्ने गर्थे । ‘घर परिवारबाट पनि सपोर्ट भएको छ, अझै २/४ महिना सिक्न पाए खप्पिस हुन्छौँ,’ रमाले भनिन्, ‘वडा र नगरपालिकामा प्रपोजल पनि दिएका छौँ ।’ लोप हुन लागेको बाजा संरक्षणमा महिलाको लगाव वढेपछि चर्चा पाएको छ । २५ जनाले पञ्चेबाजा सिकेको र दुई समूह बनाएर यसलाई व्यावसायिकता दिने उनीहरूको योजना छ ।

पञ्चेबाजालाई पेसा बनाउने पावती बस्नेतको अठोट छ । ‘महिलाले बाजा बजाउन हुँदैन भन्छन्,’ उनले भनिन्, ‘हामी पुरुषसरह गर्न सक्छौँ भन्ने देखाउन पनि फरक क्षेत्रमा होमिएका हौँ ।’ यसलाई आयस्रोत बनाउने उनले सुनाइन् । ‘महिलाले बाजा बजाए राम्रो हुँदैन भन्नेहरू पनि हाम्रो लगाव देखेर सपोर्ट गर्न थालेका छन्,’ उनले भनिन् । अब मेला महोत्सव, विवाह व्रतबन्धमा निश्चित ज्याला तोकेर बाजा बजाउन जाने समूहको योजना रहेको उनले सुनाइन् । ‘महिलाले बजाएको बाजा भनेपछि महत्त्व पनि छुट्टै हुन्छ,’ उनले भनिन् ।

प्रकाशित : पुस ७, २०७६ १०:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×