हङकङमा ट्रान्जिट भिसा व्यवस्था गर्न कांग्रेसको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हङकङमा ट्रान्जिट भिसा व्यवस्था गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर हङकङमा नेपालीहरुलाई ट्रान्जिट भिसा व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन् । 

मन्त्री ज्ञवालीलाई लिखित पत्र बुझाउन प्रमुख सचेतक खाणसहित कांग्रेस महासमिति सदस्य जन्मजय तिमिल्सिना, तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङ, नेपाल मकाउ चेम्बर अफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगर पुगेका थिए ।


‘काठमाडौंदेखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन सोझो हवाई उडान नभएकोले मकाउमा रोजगारीका लागि पुग्ने र आउने युवाहरुले कठिनाई भोग्नु परेको छ,’ खाणद्वारा परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाइएको पत्रमा भनिएको छ, ‘सबैभन्दा पायक पर्ने सहज रुट काठमाडौं–हङकङ–मकाउ गर्न नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिसा व्यवथा गरिदिन अनुरोध गर्दछु ।’


‘वर्क पर्मिट’ प्राप्त गरी करिब ४ हजार नेपाली युवा रोजगारीका लागि मकाउमा रहँदै आएका छन् ।


भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिसा नहुँदा नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताएका थिए ।


यस बिषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता मन्त्री ज्ञवालीले जनाएको प्रमुख सचेतक खाणले बताए ।

प्रकाशित : पुस ६, २०७६ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्

१८ करोडको कोकिनसहित ४ विदेशी पक्राउ

मातृका दाहाल

काठमाडौँ — नेपाल प्रहरीको लागुऔषध ब्यूरोले ६ केजी कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलारुसका दुईजना र लाजिम्पाटबाट बोलेभियाका दुईजना गरी चारजना विदेशीलाई पक्राउ गरेको छ ।

बेलारुसका नागिरक पाभेल भासिलएयु र एलिना अल्डाेसिना तथा बाेलेभियाका नागरिक राेबेनाे कार्किस मेरुबिया मारियस र राहुल जाम्ब्राना अर्डाेनेजबाट बरामद भएको कोकिनको बजार मूल्य करिब १८ करोड रुपैयाँ बराबरको रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले सुटकेशभित्र रहेकाे ज्याकेटमा फल्स बटन बनाएर काेकिन ल्याएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले सो परिमाणको कोकिन बोलेभियाबाट इथियोपिया-दिल्ली हुँदै काठमाडौं ल्याइपुर्‍याइएको र यहाँबाट हङकङ लैजाने योजना उनीहरुको रहेको बताएकाे छ । प्रहरी टोलीले हिजो साँझ विमानस्थल क्षेत्र र लाजिम्पाटबाट उनीहरुलाई पक्राउ गरेकाे थियाे ।

केही दिन अघि पनि ३ केजी कोकिनसहित बोलेभियन महिला विमानस्थलबाट नै पक्राउ परेकी थिइन् । यस्तै गत भदौमा पनि २ किलो १०० ग्राम कोकिनसहित बोलेभियन नागरिक नै पक्राउ परेका थिए ।

पछिल्लो समय कोकिन उत्पादन हुने दक्षिण अमेरिकी मुलुकहरु कोलम्बिया, ब्राजिल, मेक्सिकोबाट भरियाको साहयतामा कमजोर विमानस्थल सुरक्षा भएका देशहरुको बाटो हुँदै नेपाल भित्र्याउने र यहाँबाट यूरोप, अस्ट्रेलिया, चीन र भारत जस्ता मुलुकमा तस्करी गर्ने ट्रेण्ड देखिएको प्रहरी स्रोतले दाबी गरेको छ ।


प्रकाशित : पुस ६, २०७६ १४:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×