सवारी ज्यान मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ 

लक्ष्मी साह

बारा — प्रहरीले विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहरलाई आइतबार घरबाटै नियन्त्रणमा लिएको छ । सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका भेडिहरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

ZenTravel

उनका अनुसार अध्यक्ष भेडिहरलाई आइतबारै अदालतमा हाजिरी गराई अदालतको आदेशअनुसार कैद सुजाय भुक्तानको लागि साँझ कारागार पठाइनेछ।

‘कारागार जानुको विकल्प छैन,’ प्रहरी उपरीक्षक खनालले भने, ‘अदालतबाट सजाय तोकिएरफरार भएकाहरुको सूची केलाउँदा उनी फेला परेका हुन्।’ २०६१ सालमा एक वृद्धालाई आफैंले चलाएको बाइकबाट दुर्घटना भएपछि वृद्धाको मृत्यु भएको थियो।

उक्त घटनामा बारा जिल्ला अदालतले २०६३ भदौ २९ गते भेडिहरलाई दोषी ठहर गर्दै उनलाई २९ दिन कैद र २ हजार जरिवाना सजाय सुनाएको थियो। घटना भएको १५ वर्षसम्म उनी बाहिरै थिए। फौजदारी अपराधमा कसुरदार भएर पनि उनी चुनाव लडेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीबाट उनी चुनाव लडेका थिए। दोस्रो मधेस आन्दोलन ताका उनलाई वीरगन्जमा प्रदर्शनको क्रममा प्रहरीको गोली लागेको थियो। उपचारबाट समान्य भएपछि उनी चुनाव लडेका थिए।

प्रकाशित : पुस ६, २०७६ १३:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कीर्तीमानी धाविका भन्छिन्- 'ओलम्पिकमा दौडिने धोको छ' [भिडियोसहित]

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद सागमा १० हजार मिटर दौडमा महिलातर्फ स्वर्ण पदक जितेर सन्तोषी श्रेष्ठले ऐतिहासिक कीर्तिमान बनाइन् । सागमा एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो महिलाको । सन्तोषीसँगको रवीन्द्र ढकालले गरेको कुराकानी :

दौडिन कहिले सुरु गर्नुभयो?
स्कूलमा हुँदादेखि नै दौडिन सुरु गरेको हो। स्कूलकै रनिङ कम्पिटिसनमा भाग लिएँ। हुन त पहिला पनि ‘यो कुद्छे, यो कुद्छ’ भन्ने सुनिरहेको थिएँ। तर, कुद्ने प्रतियोगितामा भाग लिएको थिइनँ। प्रतियोगिता हुन्छ भन्ने पनि थाहा थिएन।

तपाईंको पहिलो खेल कुन थियो?
म छ कक्षामा पढ्दा पहिलोपटक खेलें। पहिलोलाई मात्र पुरस्कार दिने भन्ने थियो। त्यहीँबाट सुरु भएको थियो।

पढाइ, जागिर र एथलेटिक्स कसरीसँगै लौजानु भयो?
स्कुलले रनिङ प्रतियोगिताको लागि चिठी आयो भने मात्र पठाउने नत्र नपठाउने गर्थ्यो। मेरो दाइ र अर्को एकजना दाइको साथले मैले स्कूलबाहिरको अरु गेमहरुको बारेमा पनि थाहा पाएँ। त्यसरी मैले आफैँ खोजीखोजी भाग लिन थालेको थिएँ।

एसएलसीपछि खोज्ने क्रम मेरो अलि कम भयो। तैपनि मैले एउटा दुईटा गेम त खेलें। मैले पहिलाको जस्तो इन्ट्रेस्ट दिएर खोजीखोजी कुदिरहेको थिइनँ। जब ब्याचलर पढ्न सुरु गरें पहिलो सेमेस्टर सकिने बेला जगिङ र ट्रेनिङसँगै गरें। रिजल्ट नआउँदै मैले आफूलाई ट्रेनिङमा ढाल्दै थिएँ। मलाई पनि दौडिने रहर थियो।

व्यावसायिक रुपमा नै कठीन प्रशिक्षण गरें भने मैले कस्तो प्रदर्शन गर्न सक्छु भन्ने प्रश्नले मलाई सताइरहन्थ्यो। प्रशिक्षण नगरे पनि सिनियरहरुलाई जितिरहेको थिएँ। झन् प्रशिक्षण गर्‍यो भने त कस्तो होला भन्ने लागिरह्यो। मलाई यसको उत्तर चाहिएको थियो। त्यही उत्तर खोज्न जागिर गर्दै कठिन प्रशिक्षण पनि गर्न थालें। राष्ट्रिय खेल आएपछि पूरै ध्यान त्यसैमा केन्द्रित गरेर कुद्नुपर्छ भन्ने सोचिरहेको थिएँ। ठ्याक्क प्रोजेक्ट सकियो र जागिर पनि। त्यसपछिका जागिरका अरु सबै अफरहरु रिजेक्ट गरें।

मैले कतिसम्म गर्न सक्छु भन्ने थाहा पाउन मन थियो। ट्रेनिङ गरेर साँच्चै सुधार हुन्छ वा हुँदैन थाहा थिएन। सुधार भयो भने राम्रो, भएन भने पनि त बुढेसकालमा लाइफको रिभ्यू गर्दा पश्चताप भएन नि त !

पढ्ने, पैसा कमाउने र सिक्ने उमेर त आउँछ, तर शरीरिक रुपमा कुद्ने, खेल्ने सयम त ४० कटेपछि आउँदैन। त्यसैले मैले जागिर छोडेर पढें र पढ्दै कुदें।

म व्यावसायिक एथलिट हो भन्ने कहिले महसुस भयो?
मलाई त यो कुद्ने खेलाडी हो भनेर नभनिदिए हुन्थ्यो जस्तो लाग्थ्यो। म इमान्दार त थिएँ तर अघिल्लो वर्षसम्म पनि व्यवसायिक रुपमा लागेको थिइनँ। जब मेरो ब्याचलर सकियो, मैले प्रशिक्षण सुरु गरें। त्यसपछि अरुले ‘यो पनि खेलाडी हो’ भन्दा ठीकै लाग्न थाल्यो।

जागिर छोडेर बिहान–बेलुका नै रनिङको बारेमा सोच्न थालें। राष्ट्रिय खेलभन्दा दुई–तीन महिना अगाडि मात्र आफू खेलाडी हुँ भन्ने लाग्यो। त्यसरी सोचेको एक वर्षमात्र भयो।

१३ औं सागमा रंगशालामा २५ चक्कर लगाउँदा के सोचिरहनु भएको थियो?
म आफैं छक्क परिरहेको छु। हुन त एक सेकेण्डमा मान्छेलाई १५ हजार विचार आउँछ रे। लामोलामो जगिङ जाँदा धेरै कुरा आउँथ्यो। २५ चक्कर लगाउँदा गाह्रो भन्दा पनि अहिलेसम्मको सबै कुराहरु सम्झिरहेकी थिएँ।
मैले अहिलेसम्म त्यागेको कुरा मलाई गुरु, दाई, परिवार सबैजनाले गरेको सहयोग। मैले क्याम्पमा बस्दा झेलेको समस्या। मेरो लाइफको समस्या, अवसर र चुनौती सबै। फिल्म हेर्दा कसरी हेरिरहेको हुन्छौैं, मैले लाइफलाई त्यसरी हेरिराथें। अनि अर्को अच्चमको कुरा यस्तो हुँदापनि मेरो पेस बिग्रेको थिएन।
सडकमा हावा भरमा आफ्नै तालमा कुद्ने केटीलाई ट्रेनिङमा पेस मिलाएर कुद्न ठूलो चुनौती थियो। सिकिरहेकी थिएँ। मेरो ट्रेनिङ पार्टनरहरुले सहयोग गरिराथे।

१० हजार मिटरमा स्वर्ण जिते पनि ५ हजार मिटर दौडमा हार्नुभयो। जितसँगैको हार कस्तो हुँदोरहेछ?
गेम खेल्ने भनेपछि जित्न पाए हुन्थ्यो, गोल्ड मेडल नै ल्याउन पाए हुन्थ्यो भन्ने हुन्थ्यो। खेलाडीले गोल्ड मेडल पाएको दृश्य ‘भिजुअलाइज’ गरेर ट्रेनिङ गरेको हुन्छ। म आफूले सक्नेसम्मको उत्कृष्ट प्रदर्शन गर्छु भन्ने हुन्छ।
जितेर पनि नराम्रो टाइममा कुदेको भए मलाई नरमाइलो लाग्थ्यो होला। टाइम पनि राम्रो गरेको थिएँ। ५ हजार दौडमा पनि म गोल्ड नै ल्याउँछु भन्दा पनि आफूले सकेको गर्छु भनेर कुदेको हो। त्यहीखेर पाँच हजार कुद्दा पनि दस हजारकै पेसमा कुदिरहेकी थिएँ। सुरुमा अरुभन्दा अगाडि गएको जस्तो देखिन्थ्यो। तर, मेरो पेसचाहिँ दस किलोकै थियो, पाँच किलोको थिएन। सायद पाँच किलोको पेस सुरुमा र दस किलोपछि भएको भए धेरै राम्रो हुन्थ्यो जस्तो लागेको थियो।
जित्दा खुशी र हार्दा दुखी हुने मान्छेको स्वभाव नै हो। इमानदार भएर बोल्दा मलाई पनि अलिअलि निराशा भयो। तर, मैले दौडेको टाइम ठीक छ। मैले सकेको ट्राई गरेको हो। ट्राई नगरी हारेको भए रिग्रेट फिल हुन्थ्यो। त्यसबेला पनि लिड गरेर अगाडि गएको हो।
पछि चार चोटी झड्का दिँदा पनि उनीहरु छुटेनन्। ममा केही कमी भयो। यो दुई तीन दिनमा, रेस्ट पुगेन। दश किलोमा मैले फूल पावर दिइसकेकी थिएँ, उनीहरु त फ्रेस थिए। दश किलो कुदेका थिएनन्। मैले यसरी चित्त बुझाएँ।
मैले जित र हार दुवैलाई बराबरी रुपमा हेरें। गोल्ड हात लाग्दा, ओहो के के न गरें भन्ने पनि फिल भएन। हारेपछि मैले हारें भनेर त्यस्तो नरमाइलो पनि लागेन।

रंगशालाको ट्रयाक र सडकमा दौड्दा के फरक हुँदोरहेछ?
धेरै नै फरक छ नि ! रंगशालाको ट्रयाकभन्दा सडकमा दौडन अलि सजिलो हुन्छ। किनभने, त्यहाँ मोनोटोनस हुँदैन। मलाई पहिला ट्रयाक भनेपछि एकदमै गाह्रो लाग्ने। ट्रयाकसँग फेमिलिएर नै थिइनँ। कुदनै गाह्रो लाग्ने। एक राउण्ड लगाउँदा नै कति धेरै कुदेजस्तो लाग्थ्यो। तर, सबै कुरा अभ्यास रहेछ। आफूलाई जुन ठाउँमा ढाल्यो त्यही सजिलो लाग्दोरहेछ। मलाई रोडमात्र सजिलो लाग्थ्यो। अहिले ट्रयाक र रोड दुवै सजिलो लाग्छ।

रोड र ट्रयाकको फरक भनेको ट्रयाकमा 'अन द टाइम' र 'इन द टाइम' दुवै हुन्छ। टाइममा टक्क कुद्न सकिन्छ। कुनै डिस्टर्बहरु हुँदैन। अनि खुट्टाहरु दुख्ने जोखिम अलि कम हुन्छ। तर, रोडमा ट्राफिकको कुराहरु आउँछ। धुलो–धुवाँ, खाल्डाखुल्डीको कुरा आउँछ। ठ्याक्क कति मिटर कति मिनेटमा कुद्‍यो ट्रयाकमा जसरी थाहा हुँदैन। तर, दिमागलाई कुदेको जस्तो फिल रोडमा हुन्छ। राम्रोसँग कुद्न ट्रयाकमा सकिन्छ। मलाई अहिले दुवै सजिलो लाग्न थाल्यो। पहिला ट्रयाक गाह्रो लाग्थ्यो।

आउने दिनमा करियर कता लैजाँदै हुनुहुन्छ?
मेरो त दुइटा प्रश्न जहिले आइहाल्छ। गेमको नै हिसाबले करियरको कुरा गर्दा मैले अहिले जसरी कुदिरहेको छु नि त्यसमा अझै आफ्नो के–के पोजिसन मिलेको छैन त्यसमा सुधार ल्याउने। साथै टाइममा सुधार ल्याउने। टाइम घटाउँदै जाने। सबै खेलाडीको इच्छा भनेको अरु–अरु गेम खेल्ने हुन्छ। योभन्दा माथि ऐसियन गेम खेल्न पाए हुन्थ्यो अनि ओलम्पिक गेमसम्म पुग्न पाए हुन्थ्यो भन्ने छ। पुग्छु, पुग्दिन आफ्नो ठाउँमा छ। त्यहाँसम्म पुग्न पाए हुन्थ्यो भनेर एकदम मिहिनेत गर्ने सोच छ।
अर्को कुरा स्पोर्ट्सलाईमात्र अघि लगाएर त भएन। करियरलाई नै अघि लैजाने भनेपछि स्पोर्टस र पढाइसँगै अगाडि लानुपर्‍यो। हुन त मैले मास्टर्स गरिरहेकी छु पब्लिक एडमिनिस्ट्रेसनमा। मेरो दुइटा धोको छन्– एउटा ओलम्पिक खेल्ने अर्को पब्लिक हेल्थमा मास्टर्स गर्ने।

सँगै मैले जे पढें, जे सिकें त्यो सबै उपयोग गर्न मन छ। त्यसको लागि कतै काम पनि गर्नै पर्‍यो। यी तीनवटा कुरालाई बुस्ट गरेर लाने योजना छ।

प्रकाशित : पुस ६, २०७६ १२:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×