चन्द समूहद्वारा दैलेखमा गाउँपालिका अध्यक्षको अपहरण, श्रीमतीलाई छोडियो

भाइ भन्छन् : राजनीतिक मुद्दा भएकाले छोड्न मिल्दैन भने
ज्योति कटुवाल

दैलेख — दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमा परेका छन् । शनिबार राति १२ बजेको समयमा घरमा आएको १५/१६ जनाको टोलीले शाहीलाई श्रीमतीसहित अपहरण गरेको शाहीका भाइ हस्तबहादुर शाहीले बताए ।

ZenTravel

ठाटिकाँध गाउँपालिका–२ शेरीपाटामा रहेको आफ्नै घरबाट उनीहरुलाई अपहरण गरिएको हो। अपहरण नेत्रविक्रम चन्द समूहले गरेको अनुमान गरिएको छ।

भाइ हस्तबहादुर शाहीसमेत केही दिनअघि अपहरणबाट मुक्त भएका थिए। दाइ भाउजु खोज्नु आफू बिहानै गुईच्याखर्क जंगलमा पुगेको र भाउजु इलालाई भेट्टाएको उनले बताएका छन्। ‘दाइलाई गुईच्याखर्क जंगलमा राखिएको छ। राजनीतिक मुद्दा भएकाले अपहरण गरिएको र २/३ दिनभित्र दाइलाई छाड्ने आश्वासन दिएर भाउजुलाई मुक्त गरे,’ उनले बताए।

अध्यक्ष शाहीलाई चन्दका हतियारधारी कार्यकर्ताले जंगलमा राखेको उनले बताए। ‘उनीहरुले हामी चन्दका कार्यकर्ता हौं, उहाँसँग सोधपुछ गर्नुछ भनेर छोड्न मानेनन्,’ शाहीले भने।

दैलेख जिल्ला प्रहरीका प्रमुख डिएसपी हरिबहादुर ओलीले अध्यक्ष शाही र उनको श्रीमतीको अपहरणको सूचना पाउनेबित्तिकै प्रहरी परिचालन गरिएको बताए। प्रदेश प्रहरी कार्यालय र जिल्लाबाट समेत खोजी तीव्र बनाइएको उनको भनाइ छ।

प्रकाशित : पुस ६, २०७६ ११:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सडकबाट मिनी ट्रक खस्दा २ को मृत्यु, ६ घाइते 

कृष्ण थापा

नुवाकाेट — विदुर नगरपालिका ६ मुल्थलाबाट चैनपुरतर्फ कामदार बोकेर जाँदै गरेको ट्रक सडकबाट खस्दा २ जनाको घटनास्थलमा मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

आइतबार बिहान ८ बजे सडकको काम गर्ने कामदार बोकेर चैनपुर जाँदै गरेको बा २ ख ७९१० नम्बरकोमिनि ट्रक सडकबाट ५० मिटर तल खसेकाे थियो।

मृत्यु हुनेमा खोटाङका १९ वर्षीय अबिरल तामाङ र रसुवाको चाइनिज भनिने १८ वर्षीय सह–चालक सुदिप तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेश थापाले बताए।

घाइते हुनेमा जाजरकोट भेरी नगरपालिका–३ का २२ वर्षीय शंकर सुना, २७ वर्षीय हेमराज(गहतरज) ठकुरी, १८ वर्षीय विमल सुनार, वडा नम्बर ५ का तिलक खत्री, विदुर नगरपालिका–६ का ४५ वर्षीय सचितकुमार रिमाल र ककनी गाउँपालिका–१ का २८ वर्षीय गणेश बलामी छन्। उनीहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ। बलामी उक्त गाडीका चालक हुन्।

एक घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

प्रकाशित : पुस ६, २०७६ ११:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×