१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेकपाका स्थायी समिति सदस्यहरूलाई शितल निवासले बोलाउँदा धुम्बाराहीमा बहस ! 

जयसिंह महरा

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले मुख्यमन्त्री, मन्त्रीहरू र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटीमा रहेका नेताहरूसँग भेटघाट गरेकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक जारी रहेका बेला राष्ट्रपति भण्डारीले मन्त्री र नेताहरूलाई निवासमा बोलाएर राजनीतिक र आर्थिक विषयमा छलफल गरेकी हुन् ।

नेकपाका स्थायी समिति सदस्यहरूलाई शितल निवासले बोलाउँदा धुम्बाराहीमा बहस ! 

राष्ट्रपति भण्डारीले शनिबार बिहान ९ बजे मन्त्रीहरू प्रदीप ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुन, शक्ति बस्नेत र युवराज खतिवडालाई बोलाएकी थिइन् । त्यस्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पनि निवासमा बोलाएकी थिइन् ।

नेकपा स्थायी समिति सदस्यहरू देव गुरुङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकारसमेत रहेका नेकपा स्थायी समिति सदस्य विष्णु रिमाललगायतका नेताहरूलाई बोलाएर उनले मुलुकको आर्थिक र समसायिक विषयमा छलफल गरेकी हुन् ।


राष्ट्रपतिले नेकपाको स्थायी समितिमा भइरहेको छलफलबारे र विकास निर्माण लगायतका विषयमा जिज्ञासा राखेको सहभागी नेताले जानकारी दिएका छन् ।


पूर्व अर्थमन्त्रीसमेत नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले राष्ट्रपतिले समसामयिक विषयमा नेताहरूसँग जिज्ञासा राखेको बताए । ‘देशको आर्थिक विकास जुन रफ्तारमा अगाडि जानुपर्ने हो त्यसमा गएको मलाई लाग्दैन भनेर उहाँले जिज्ञासा राख्नुभयो’, राष्ट्रपतिसँग भएको छलफलबारे उनले भने, ‘संविधानले भनेको समाजवाद र जनताको सेवा सुविधाको कुराहरू कसरी पूरा हुन्छन् भन्ने उहाँको प्रश्न थियो ।’


राष्ट्रपतिलाई भेट्न गएका नेता देवेन्द्र पौडेलले पनि राष्ट्रपतिले बजेट कार्यान्वयनका विषयमा चासो व्यक्त गरेको जानकारी दिए । ‘मौलिक हकका कानुन, नीति कार्यक्रम र बजेट मिलेको छ कि छैन ? कार्यान्वयन भएको छ कि छैन ? भनेर चासो प्रकट गर्नुभयो । हामीले सुन्यौ र फर्कियौँ’, उनले भने ।


राष्ट्रपतिसँग स्थायी समितिका सदस्यहरू भेट्न गएको विषय धुम्बाराहीमा चलिहरेको बैठकमा पनि उठेको थियो । उनीहरू ढिलोगरी स्थायी समिति बैठकमा पुगेपछि कुरा उठ्दा राष्ट्रपतिसँग भेट भएको भन्ने खुलेको थियो ।


स्थायी समितिमा ढिला आउने सदस्यहरूलाई अध्यक्ष पुष्पकमल दाहालले किन ढिलो आएको भनेर प्रश्न सोधेका थिए । राष्ट्रपतिले बोलाएकाले ढिलो भएको उनीहरूले जवाफ दिएका थिए । त्यसपछि किन यसरी बोलाएको भनेर समिति बैठकमा कुरा उठेको थियो ।


राष्ट्रपतिले नेताहरू, कलाकार, खेलाडी, राजदूत र विशिष्ट व्यक्तिहरूलाई हरेक दिन भेट गरिरहने भएकाले नेकपाका नेताहरूसँग भएको भेटलाई अन्यथा मान्न नहुने कुरा बैठकमा राखेको पौडेलले बताए । राष्ट्रपति कार्यालय पुगेका एक मन्त्रीले भने पहिले नै तय भएको कार्यक्रम अनुसार भेट भएको जानकारी दिए । उनले नेकपा स्थायी समिति बैठक शनिबार पहिल्यै सम्पन्न हुने आँकलन गरेर राष्ट्रपतिसँग नेताहरूको छलफल तय गरिएको बताए ।


राजनीतिक विषयमा छलफल गर्न राष्ट्रपतिले बोलाएको हो कि भन्ने मन्त्री र नेताहरूलाई परेको तर भेटमा भने राजनीतिक कुरा नभएको ती मन्त्रीले बताए । छलफलका क्रममा राष्ट्रपतिले बौद्धिक नेता भनेर बोलाएको एक सहभागीले बताए । उनले आफ्नो कार्यकाल ३ वर्षमात्रै बाँकी रहेको पनि स्मरण गराएकी थिइन् । मुलुकको समसामयिक गतिविधिबारे राष्ट्रपतिको चासोपछि सहभागीमध्ये ४ जनाले धारणा राखेका थिए । नेताहरूले राष्ट्रपति कार्यालयमा २ घण्टा बिताएका थिए ।

यसअघि राष्ट्रपतिले कुनै एउटै दलका नेतालाई सामूहिक रुपमा भेट्ने प्रचलन थिएन ।

प्रकाशित : पुस ५, २०७६ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?