कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

टोपेनीको गुफा जिन्दगी

छोरीलाई आनी बनाउने परम्पराले उनीहरुको विद्यालय शिक्षा पूरा हुन पाउँदैन । समाजभन्दा पृथक् संस्कार थामेर बस्नुपर्ने बाध्यता छ ।

हुम्ला, मुगु — गाउँभन्दा एक घण्टा टाढाको एकतले गुफा । यहाँ वृद्धा आनीलाई भेटिन्छ । उनी सिमकोट गाउँपालिका–३ की ७० वर्षीया छिरिङडोमा लामा हुन् । १३ वर्षको उमेरमै आनी बनेकी । लामाकहाँ पुगेर कपाल काटेर चढाएपछि उनले जीवनभर विवाह नगर्ने निर्णय गरिन् । गुफामा उनको जीवन बितेको छ ।

टोपेनीको गुफा जिन्दगी

‘कपाल काटेदेखि ज्ञान जपेर गुफाभित्रै बस्ने निर्णय गरेकी हुँ,’ उनले भनिन्, ‘१५ वर्षसम्म लामासँग शिक्षा लिएपछि अहिले गुफामै बसेर आफ्नो ज्ञान अरूलाई बाँड्दै आइरहेकी छु ।’ आनी परम्परा थामेकाहरूमा उनी एक्ली होइनन् । सिमकोट र नाम्खा गाउँपालिकाका लामा समुदायका छोरीले सानै उमेरमा आनी (टोपेनी) बन्नुपर्छ । नाम्खामा लामा समुदायको मात्रै बसोबास छ । जीवन गुम्बा वा गुफामै बित्छ ।


नाम्खा गाउँपालिका–४ यांगारस्थित नाम्ख्वाङ पेमा होत्साल छ्योलिङ गुम्बामा एक सय ४० जना आनी बस्छन् । सिमकोट र नाम्खाका विभिन्न गाउँका गुम्बा र बाहिरका गुफामा बस्दै आएका आनीको संख्या ७० जनाभन्दा बढी छ । जिल्लाभर दुई सय १० जना आनीले लामा पुस्तक (छ्यो) अध्ययन गरिरहेको सरकारी तथ्यांक छ ।


बौद्ध धर्मअनुसार ‘पाप गर्नु हुँदैन, पाप गरे अर्को जुनीमा नराम्रो हुन्छ’ भन्ने विश्वाससहित आनी बनेर जीवन बिताउनुपर्ने परम्परा रहेको सिमकोट–३ लाङ्दुकी ५५ वर्षीया आनी पुडिन लामा बताउँछिन् । आफूजस्तै धर्मकर्ममा विश्वास गर्ने युवतीको संख्या बढ्दै गएको उनले सुनाइन् ।


लामा समुदायमा छोरा मान्छे लामा (टोप्या) बने इच्छाअनुसार विवाह गर्न पाउने भए पनि आनी बनेकाहरू जीवनभर पवित्र भएर बस्नुपर्ने संस्कार छ । ‘आनीको जीवनशैली लामा समुदायका अरू छोरीहरूको धेरै फरक हुन्छ,’ उनले भनिन्, ‘आनी बनेपछि अरूजस्तो खुलेर हिँड्डुल गर्न र जीउन पाइँदैन ।’ आनी बनेर तपस्यामा बसिसकेपछि पुस्तकमार्फत ज्ञान आर्जन गर्ने र तोकिएको सीमाभन्दा बाहिर जान नपाउने उनले सुनाइन् ।


आनी छिरिङ डोमाका अनुसार शरीरको तल्लो भागमा रातो रंगको ‘स्यादाब’, माथिल्लो भागमा पहेँलो रङको ‘तेतोङ’ र दोपटाबाहेक अन्य पहिरन आनीले लगाउन पाउँदैनन् । उनले आनी बन्दा सुरुमा ऊनबाट बनाएको कपडा र जुत्ता मात्र लगाएको सुनाइन् । ‘दैनिक बौद्ध धर्मका मन्त्र जप्ने र पुस्तक पढ्ने काम मात्र गर्नुपर्छ,’ उनी भन्छिन्, ‘आनी बनेर तपस्यामा बस्दा मूलको पानी मात्र खानुपर्ने नियम छ ।’ माटोको ढलान गरिएको गुफामा पानी र हिउँ पर्दा चुहिने समस्या छ ।


तीन वर्षसम्म गुम्बामा तपस्या गरेपछि आनी बनेर थप १२ वर्ष विभिन्न धर्मग्रन्थ पढ्नुपर्ने नियम छ । ज्ञानमा परिपक्व आनीले मात्र गुफा बस्न पाउँछन् । ६ महिनादेखि तीन वर्षसम्म तपस्या गरेर गुफाभित्र बस्दा उनीहरू कोहीसँग बोल्न पाउँदैनन् । भिक्षु पदम लामाका अनुसार तपस्याका नियममा बस्नु सहज हुँदैन ।


‘गुफामा बस्दा पूजा गर्ने, पुस्तक पढ्ने र मन्त्र जप्नेबाहेक अरू सामान्य जीवनयापन गर्नेले जस्तो सांसारिक कुनै क्रियाकलाप नपाइने नियम छ,’ उनले भने । विहान पूजापछि भोटे चिया, उवाको सातु र थुप्पालगायत परिकार खाजा खान्छन् । आनीका लागि परिवार, आफन्त र छिमेकीले खानाको जोहो गरिदिन्छन् ।


आनीले समुदायमा पूजापाठ गरिदिएबापत खाद्यवस्तु, लत्ताकपडा र दक्षिणा पाउँछन् । जीवनमा कुनै पाप नहोस् भनेर आनी बने पनि कडा नियमभित्र बाँच्न सहज नभएको सिमकोट–३ तोर्पाकी ७० वर्षीया आनी उर्ग्यान लामाले बताइन् ।


आनी बनेर बस्दा बिहेको झन्झटबाट मुक्ति पाए पनि बुढेसकालमा भने सहाराविहीन हुनुपर्ने बाध्यता रहेको उनको गुनासो छ । ‘युवा अवस्थामा एक्लो भए पनि आफन्त र घरपरिवारले सहयोग गर्छन् । सहयोग नपाइए पनि आफैं बाँच्न सकिने स्थिति हुन्छ,’ उनले भनिन्, ‘बुढेसकालमा सहारा नभई नहुने रहेछ ।’ आनीलाई धार्मिक सोच र संस्कारबाहेक अन्य कुनै कुराको मतलब नहुने उनी बताउँछिन् ।

प्रकाशित : पुस ५, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?