कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

धुम्बाराहीमा बैठक, बालुवाटारमा ब्रिफिङ

नेकपा अध्यक्ष पुष्पकमल दाहाल स्थायी समिति बैठकमा उठेका विषयबारे अर्का अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी दिन हरेक दिन बालुवाटार पुग्छन्
बिनु सुवेदी

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई यो साता असिनपसिन भयो । पार्टी एकीकरणको डेढ वर्षपछि बसेको स्थायी समिति बैठक एक्लै सञ्चालन गर्ने जिम्मा पाएका दाहालसँग अर्को पनि जिम्मेवारी थियो– बैठकमा उठेका विषयबारे प्रधानमन्त्री एवं अर्का पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ब्रिफिङ गर्ने ।

धुम्बाराहीमा बैठक, बालुवाटारमा ब्रिफिङ

त्यसैले उनी स्थायी समिति बैठकको पाँचौं दिनसम्म आइपुग्दा चार दिन त बैठक सकेर सोझै प्रधानमन्त्री निवास बालुवाटार पुगे । ‘बैठक सकिएपछि दाहाल सोझै बालुवाटार पुग्नुहुन्थ्यो र नेताहरूले उठाएका विषयबारे ससर्ती जानकारी गराउनुहुन्थ्यो,’ स्रोतले भन्यो, ‘दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेस भएकाले त्यसमा कस्ता विषय उठे भन्नेमा प्रधानमन्त्रीज्यूको अलि धेरै नै चासो थियो ।’


प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीलाई सबै जानकारी गराउने काम अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेलले गरेको बताए । यद्यपि अनौपचारिक रूपमा स्वयं रिमाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगातयतले पनि प्रधानमन्त्रीलाई स्थायी समितिमा उठेका विषयबारे जानकारी गराएका थिए । रिमालले त स्थायी समिति बैठकमा सरकारले अहिलेसम्म गरेका काम बुँदागत रूपमा प्रस्तुत गर्दै, कामै भएन भन्नु प्रधानमन्त्रीप्रतिको पूर्वाग्रह मात्रै भएको बताएका थिए । ‘०५१ सालदेखि नै सरकार नढलेसम्म सरकारले राम्रो काम गर्‍यो भनिएको जानकारी मलाई छैन, मरेपछि नेता महान् हुने, ढलेपछि सरकार तगडा गनिने परम्परा हामीले थेगेका छौं,’ रिमालले बैठकमै भनेका थिए ।


मन्त्री पोखरेलले बैठकमा उठेका विषयमा प्रधानमन्त्रीले चासो राख्दा आफूहरूले पनि जानकारी गराउने गरेको बताए । ‘सामान्यतः अध्यक्ष र महासचिवले बैठकबारे जानकारी गराउने, छलफल गर्ने गर्नुभयो, कहिलेकाहीं हामीले पनि जानकारी दियौं,’ पोखरेलले भने, ‘तपाईंहरूले बैठक राम्रोसँग गर्नुभएको छ, यसलाई अझै राम्रो गर्नुस् भन्ने प्रधानमन्त्रीको भनाइ छ ।’


गत १ गतेबाहेक बैठक बसेका हरेक दिन ओलीलाई जानकारी गराउन पुगेका दाहालले प्रतिवेदनमाथि उठेका विषयबारे शुक्रबार पनि छलफल गरेका थिए । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । स्थायी समिति बैठकमा प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि लिखित र मौखिक पनि धेरै विषय उठेका छन् । तिनै विषयलाई समेटेर प्रतिवेदन संशोधन गर्ने तयारीमा दाहाल छन् ।


‘प्रतिवेदनमा आएका सुझाव समेटेर थप समृद्ध बनाउने तयारीमा अध्यक्ष दाहाल हुनुहुन्छ,’ दाहालनिकट एक नेताले भने, ‘उठेका कुन–कुन विषयलाई सम्बोधन गर्ने भन्ने विषयमा दुई अध्यक्षले छलफल गर्नुभयो ।’ बैठकमा सरकारको काम र पार्टी नेतृत्वको विषयमा स्थायी समिति सदस्यहरूले आलोचनात्मक टिप्पणी गरेकाले त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि दुई अध्यक्षले मोटामोटी सहमति गरेका छन् । ‘सदस्यहरूले विषय नचर्काऊन् भनेर प्रतिवेदनमै आत्मालोचना गरिएको थियो तर सचिवालय सदस्यहरूबाटै कडा टिप्पणी आएपछि त्यसलाई कसरी जवाफ दिने भन्ने दबाब अध्यक्ष दाहाललाई छ,’ एक स्थायी समिति सदस्यले भने ।


बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले उठाएको विषयबारे पनि दुई अध्यक्षबीच छलफल भएको छ । नेपालले यसअघिका सचिवालय बैठकमा आफूले पेस गरेको फरक मतको विषयमा छलफल नभएसम्म राजनीतिक प्रतिवेदन पास गर्न नदिने चेतावनी दिइसकेका छन् । मन्त्रीबाहेक नेपालपक्षीय अधिकांश नेताले सरकारको कामबारे कडा आलोचना गरेका छन् भने पार्टी पद्धतिमा नचलेको विषयलाई पनि प्रमुखतासाथ उठाएका छन् ।


स्थायी समिति बैठकमा अध्यक्षद्वयका तर्फबाट दाहालले राजनीतिक प्रतिवेदन र महासचिव पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए । अध्यक्षद्वयका तर्फबाट पेस भएको राजनीतिक प्रतिवेदनका केही अंशमा प्रधानमन्त्री ओलीको असहमति थियो । ‘हुन त उहाँले प्रधानमन्त्रीज्यूसँग सल्लाह गरेरै प्रतिवेदन तयार पार्नुभएको हो,’ ओलीनिकट एक नेताले भने, ‘तर उपचुनावको समीक्षाका विषयमा प्रतिवेदनमा जे कुरा उल्लेख भएको छ, त्यसमा प्रधानमन्त्रीज्यू सन्तुष्ट हुनुहुन्थेन ।’


प्रतिवेदनमा उपनिर्वाचनको परिणामले पार्टीलाई विशेष धक्का दिएको उल्लेख गर्दै पार्टी र सरकारका कामलाई व्यवस्थित, संस्थागत र प्रभावकारी बनाउने गम्भीर शिक्षाका रूपमा त्यसलाई लिन जरुरी रहेको उल्लेख गरिएको थियो । ओलीपक्षीय नेताहरूले उपनिर्वाचन परिणाम उत्साहजनक रहेको बताइरहेका बेला दाहालले आफ्नो मात्रै जोडमा प्रतिवेदनमा उक्त कुरा राखेपछि ओली असन्तुष्ट थिए । यद्यपि बैठकमा अधिकांश सदस्यले उपनिर्वाचनको समीक्षाले झन् हतोत्साही गराउने भन्दै त्यसलाई परिमार्जन गर्न सुझाव दिएका थिए ।


एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिरहेका प्रधानमन्त्री ओलीको अनुपस्थितिमा नेकपाभित्र यति लामो बहस भएको पहिलोपटक हो ।

प्रकाशित : पुस ४, २०७६ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?